नेपालका वैज्ञानिक तथा वनस्पतिशास्त्री प्रा.डा. दयानन्द बज्राचार्यले विज्ञान प्रविधिमा अविस्मरणीय छाप छाड्दै महाप्रस्थान गरेका छन् । फोक्सोसम्बन्धी रोगबाट पीडित वैज्ञानिक बज्राचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा चार दशकभन्दा बढी समय प्राध्यापन गरेका वैज्ञानिक दयानन्दले १२ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेका थिए । २१ वर्षमा एमएससी उत्तीर्ण हुनासाथ उपप्राध्यापकको जिम्मेवारी लिएका उनी ३१ वर्षको उमेरमै प्राध्यापक भएर त्रिभुवन विश्वविद्यालयको रेकर्ड कायम गरेका थिए । विभिन्न समयमा १३ वर्ष वनस्पतिशास्त्र विभागमा विभागीय प्रमुखको समेत जिम्मेवारी पूरा गरेका थिए । यस्तै, उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) मा उपकुलपति रहेर दुई कार्यकाल पूरा गरेका थिए । त्रिविमा सुधार नआएसम्म देश बन्न नसक्ने उनको धारणा थियो । विश्वविद्यालयका दक्ष जनशक्तिले देश बनाउने भएकाले दक्ष जनशक्ति विश्वविद्यालयले उत्पादन गर्नुपर्ने सुझाव दिँदै आएका थिए ।
जर्मनीमा पोस्ट डक्टर्स रिसर्चका लागि बायोलोजी विषयमा अध्ययन गर्ने अवसर पाउने पहिलो व्यक्ति हुन्, उनी । जर्मनीको फ्राइबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका बज्राचार्यले प्लान्ट फिजियोलोजी तथा साइटो जेनेटिक्समा समेत विशेष दक्षता हासिल गरेका वैज्ञानिक मानिन्छन् । उनको निधनले नेपालको सिंगो विज्ञान प्रविधिको क्षेत्र टुहुरो भएको छ । बज्राचार्यले विभिन्न नेपाली पत्रपत्रिका तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा वनस्पतिसम्बन्धी खोज तथा अनुसन्धानका विषयवस्तुबारे लेख, रचना लेखेर नेपालका विद्यार्थी, अनुसन्धाता तथा आमनेपालीलाई ठूलो गुन लगाएका छन् । उनका अँध्यारोमा एक काँटी सलाई, वैज्ञानिक गोरेटोमा, चेतनाको यात्रा ः जीवनमा विज्ञानलगायतका नौवटा पुस्तक प्रकाशित छन् । वनस्पतिविज्ञानबाहेक विज्ञानका अरु विधाहरुमा पनि विज्ञ बज्राचार्यलाई उनका सहकर्मी तथा विद्यार्थीहरुले ‘मल्टी डाइमेन्सन’ भएका व्यक्तित्वका रुपमा श्रद्धाभाव प्रकट गरेका छन् । वनस्पतिशास्त्री बज्राचार्य अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कहलिएका थिए ।
राष्ट्रिय विज्ञान दिवसका प्रस्तावकसमेत रहेका विज्ञान प्रविधिका यी अभियन्ताको निधनले नेपालको विज्ञान तथा प्रविधिको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । सधैँ सहयोगी र सबैका प्रिय बज्राचार्यले जर्मनीमा विद्यावारिधिका क्रममा ‘वनस्पतिको विकासमा प्रकाशको प्रभाव’ विषयमा शोध गरी कयौँ वर्षदेखि स्थापित सिद्धान्तलाई गलत सावित गर्दै ‘प्रकाशले क्लोरोप्लाष्ट मात्र होइन, कोषभित्रका अन्य अंगहरुको विकासमा पनि भूमिका खेल्छ’ भनी नयाँ सिद्धान्त प्रतिपादन गरेका थिए । सरल भाषामा लेख्ने र सिकाउने क्षमता भएका वैज्ञानिक बज्राचार्यको गुन देशले युगौँसम्म सम्झिरहने छ । उनले आफ्नो ज्ञान सबैलाई बाँडेर महाप्रस्थान गरेका छन् । उनले आफ्ना आँखासमेत तिलगंगा आँखा अस्पताललाई दान गरेका थिए । उनले ज्ञानमात्र होइन, सकेसम्म दान पनि गर्नुपर्छ भन्ने सन्देश छाडेर गएका छन् । नेपाल र नेपालीहरुलाई युगौँसम्म गुन लगाएर अनन्त यात्रामा निस्किएका वैज्ञानिक बज्राचार्यलाई भावपूर्ण श्रद्धाञ्जली !
Discussion about this post