विधुर ढकाल
नारायणगढ । एनेकपा माओवादीले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी हालेको नेकपा एमालेले पनि आचारसंहिता उल्लंघन गरेको पाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नेकपा (एमाले)ले एनेकपा
(माओवादी)लगायतका दलहरुले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी हालेपछि अनुगमनका लागि निस्किएको निर्वाचन अधिकृतको कार्यालयको टोलीले एमालेले पनि आचारसंहिता उल्लंघन गरेको अवस्था फेला पारेको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा एमाले क्षेत्रीय समितिको लेटरप्याडमा एमाले प्रचार विभागले एनेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले आचारसंहिताविपरीत प्रचार गरिरहेको भन्दै उजुरी हालेको थियो । उजुरीमा ती पार्टीले आचारसंहिताविपरीत पुलचोकदेखि लायन्सचोकसम्म सडक डिभाइडर, सडक किनारका विद्युत पोल र चौपारीहरुमा पोष्टर टाँसेको उल्लेख गरिएको छ ।
सोही आधारमा मंगलबार निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरुको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सोही स्थानमा नेकपा एमालेका चितवन क्षेत्र ४ का उम्मेदवार कृष्णभक्त पोखरेलका तीन थरी पर्चा, पम्प्लेट टाँसेको भेटिएको हो ।
एमाले जिल्ला उपाध्यक्षसमेत रहेका उम्मेदवार पोखरेलले निकालेको सानो अकारको प्रतिबद्धतासहितको पर्चा, र दुई फरक प्रकृतिका पम्प्लेट टाँसिएको पाइएको छ । ‘एमाले प्रचार विभागको नामदेखि उजुरी परेर अनुगमन गर्न आएको हो यहाँ उल्टो पो देखियो’, निर्वाचन अनुगमन अधिकृत श्रीकृष्ण नेपालले भने, ‘को भन्दा को कम भनेर पोष्टर टाँसिएको रहेछ, उनीहरुकै पोष्टर छ्यापछाप्ती छन् ।’
अनुगमनका क्रममा उजुरीकर्ताले अनुगमन अधिकृत नेपाललाई फोन गरे । उताबाट के भने त्यो थाहा नभए पनि नेपालले फोनमा यस्तो भने, ‘हामी यहाँ अनुगमनमै छौँ सहिदचोकमा, के हो तपाईहरुले नै उजुरी हाल्ने अनि तपाइँहरु नै उल्लंघन गर्ने अब यस्तो नहोस् है ।’
नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्मका सडक किनारमा नेकपा
(एमाले) का यस क्षेत्रका उम्मेदवार पोखरेलसँगै एकीकृत नेकपा माओवादीका उम्मेदवार नारायण दाहाल, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) की उम्मेदवार निरु कार्कीले आचारसंहिताविपरीत पर्चा पम्प्लेट टाँसेको पाइएको छ । मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन आयोगले गत साउन ७ गतेदेखि लागू गरेको आचारसंहितामा सार्वजनिक स्थानमा पर्चा पम्प्लेट टाँस्न, भित्तेलेखन गर्न नपाइने उल्लेख छ ।
कार्यालयको अनुगमन टोलीले आचारसंहिताविपरीत टाँसिएका पम्प्लेट उक्काएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजीत महरासहितको जनपथ तथा म्यादी प्रहरीले उक्त स्थानमा रहेका प्रचार सामग्री च्यातेको हो ।
त्यस्तै, अनुगमन टोलीले आचारसंहिताविपरीत सार्वजनिक स्थानमा टाँगिएका निर्वाचन व्यानरसमेत नियन्त्रणमा लिएको छ । टोलीले कार्यालयमा परेको उजुरीका आधारमा एमाओवादीका क्षेत्र ३ का उम्मेदवार नारायण दाहालको पक्षमा भोट माग्दै टाँगिएका दुई व्यानर नारायणगढको बेलचोक तथा बाह्रघरेबाट निकालेको हो । त्यस्तै आचारसंहिताविपरीत सडक किनारमा टाँगिएका पार्टीका झण्डाहरुसमेत निकालिएको छ ।
Discussion about this post