दिपेन्द्र अधिकारी
चितवन, २६ कात्तिक । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कविलास–१, जुगेडीमा सोमबार राति वसमा आगजनी गरिएको छ । सर्लाहिबाट काठमाडौंका लागि छुटेको ना. ४ ख ४७ ३४ वसमा आगजनी भएको चितवन प्रहरीले जनाएको छ । आगजनी हुँदा वसभित्र यात्रु रहेको र तत्काल उद्दार गरिएको चितवनका प्रहरी प्रवत्ता डीएसपी सञ्जय राउतले बताउनुभयो ।
बाटोमाथिको ढिस्कोबाट पेट्रोल भएको आगोको मुस्लो वसमा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगजनीका कारण वस ध्वस्त भएको छ । यात्रु सकुसल उत्रिएपनि उनीहरुको सामान बससँगै जलेको छ ।
चुनावविरोधी नेकपा–माओवादीलगायत मोर्चाले बन्द आह्वान गरेका कारण उनीहरुले नै आगजनी गरिएको हुनसक्ने वताएपनि नेकपा–माओवादी चितवनका नारायण शर्मा विपिनले भने यस घटनामा आफूहरुको कुनै संलग्नता नरहेको दावी गरे ।
राति १ बजे चितवन प्रहरीले स्कर्टिङ गरी मुग्लिनतर्फ १५–२० वटा गाडी लगेको थियो । ‘उक्त वस पनि स्कटिङमा थियो, खाना खान होटलमा रोकेको वेला स्कटिङबाट छुटेछ, डीएसपी राउतले भने,‘पछि एक्लै भएको बखत आगजनी भएछ ।’ नारायणगढबाट १२ किलोमिटरको दूरीमा जलेको बसलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा ल्याइएको छ ।
Discussion about this post