चाँदनी हमाल
दृश्य नम्बर १…
‘नमस्कार…! (दुई हात जोडेरै) म कृष्णभक्त पोखरेल । मंसिर ४ को संविधानसभा चुनावमा नेकपा एमाले क्षेत्र नम्बर ३ को उम्मेदवार । एउटा भोट मलाई है ।’ भेट्नेजतिलाई भनिहाल्छन् उनले ‘पहिले रहेका विवाद कानुनी ढंगले टुंग्याउने क्षमता मसँग छ ।’ भरतपुर १० को घरदैलोका थुप्रै वृद्धवृद्धाहरुसँग भेट भो, उनले सबैलाई ढोग गरे, र मागे चुनाव जित्ने आशीर्वाद ।
दृश्य नम्बर २…
‘म तपाईंको क्षेत्र नम्बर ४ को उम्मेदवार, सुशील कोइराला । नेपाली कांग्रेसले जे भन्छ, त्यो गर्छ’ गिरिजाप्रसादको थेगो पहिल्याउँदै हात जोड्दै उनी भन्छन् । ‘अरुले बनाएनन् संविधान, हामी बनाउँछौँ । ‘शान्ति, लोकतन्त्र र संविधान, यही हो कांग्रेसको एजेन्डा ।’
दृश्य नम्बर ३…
‘म चाहिँ एमाओवादीका तर्फबाट क्षेत्र नम्बर २ को उम्मेदवार, विश्वभक्त दुलाल आहुति । जातीय पार्टी हैन, पहिचानसहितको संघीयता भनेको हो ।’ क्षेत्र नम्बर २ का मतदातालाई उनी सम्झाउँदै छन् । ‘पहाडमा बाटो, सिंचाइ र विकास पनि हाम्रै पार्टीले ल्याउँछ, भोट दिनुस् । (दस औँला जोडिएकै छन्, उनका पनि)
चितवनका चुनावी क्षेत्रमा ठूला दल भन्ने पार्टीका उम्मेदवारहरु शिर ठाडो रहेका मतदातासामु झुकेका यी केही प्रतिनिधि घटना मात्र हुन् । अहिले देशका टोलटोल, बस्तीबस्ती यस्तै दृश्यहरु निरन्तर दोहोरिरहेका छन् । संविधानसभा २०७० मंसिर ४ को रन्को चढिसक्यो जताततै । मतदाता र उम्मेदवारको आमनेसामनेका दृश्यलाई दृश्य मात्रै हैन, सार्थक बनाउने अभियानको खाँचो पनि उत्तिकै बढेको छ ।
एमालेका कृष्णभक्त पोखरेल कानुनी व्यक्ति हुन् । क्षमता पनि होला उनीसँग, तर उनीजस्तै अधिवक्ताहरु यसअघि २०६४ को चुनावबाट पनि सभासद् नबनेका होइनन् ।
२०६४ को संविधानसभा चुनावमा बाँके नछाडेका कांग्रेस सभापति सुशील कोइराला यसपालि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको जिल्ला जित्न तम्सिएका छन् । क्षेत्र पनि दाहालकै घर भएको ४ नम्बर । पहिले कमै देखेको गाउँका बाटो, घर र मतदाताको अघिल्तिर हात जोड्दै एक हप्ता निरन्तर हिँडे उनी । प्रचण्डको क्षेत्रमा चुनाव जिते भोलि उनको नाम उच्च त हुन्छ नै, सत्तामा पुग्न पनि राम्रो अवसर ठानेका छन् उनले । नत्र न दाहालले न त कोइरालाको बलले नै यसअघिको संविधान बनाउन सक्यो ।
एमाओवादीका विश्वभक्त दुलाल आहुति । शब्दका अक्षरमा पनि क्रान्ति ल्याउनु पर्ने धारका हुन् । एकाध गोप्य बैठकमा चितवन छिरेका उनी यसपालि चुनावमा डाँडाकाँडा चहार्दैछन् । शान्तिप्रिय नेता भनेर चिनाउँदै विकटका चेपाङसँग मत मागिरहेका छन् । गरिबीले आफ्नै भाषा, संस्कृति भुल्दै गएका चेपाङले उनलाई भोट दिन सम्झेलान् वा नसम्झेलान्, तर एमाओवादीले स्वायत्त क्षेत्र चेपाङलाई दिने भनेर गरेको कबोल भोट माग्ने बेला भने भन्न छुटाएका छैनन् । देशको स्वार्थ संविधान हो ।
उनीहरुजस्ता नेताहरु सँघारमै आएको संविधानसभा चुनावबाट सत्तामा पुग्ने र संसद्मा दहाड मार्ने वा साँच्चैको जनसेवा गर्ने भन्ने आफ्नै स्वार्थ होलान् । तर, चुनावको यो माहोल भनेको हामी मतदाता अग्लिएको बेला हो । नेताहरुले झुक्ने सिजन जस्तै चुनाव भए पनि मतदाताले अग्लिएर सही नेता छान्ने चुनौतीको बेला पनि हो ।
गाउँका खेत, खलिहानमा हत्त न पत्त पुगेका नेता देख्दा कति मतदाता तर्सेका उदाहरण पनि छन् । ओहो…! उ बेलाको चुनाव पछि एक पटक देखेका थिएनन् । अहिले त खेतमा एकैचोटि देख्दा नतर्सून् पनि किन ! कोही शान्ति र संविधान, कोही पहिचान र संघीयतासहितको संविधान अनि कोही जनमुखी संविधानको नारा लिएर मतदाताछेउ पुगिरहेका छन् ।
रेडियो, टेलिभिजन र पत्रपत्रिकामा नेताले बोल्दा, देख्दा, सुन्दा र पढ्दा भेटेका शब्दहरु उनीहरुकै मुखमण्डलबाट मतदाताले सुन्न पाउनु कम भाग्यको कुरा हैन । नत्र, कहाँ भेटिन्छन् र नेता मतदाताले खोजेका बेला ! आफैँले दस भोट जुटाइदिएर जित्यो तर पछि भेट्न जाँदा नचिनेको ढोँग गर्ने नेताहरु कति छन् कति !
मतदाताको उचाइ बढेका बेला भने उही नेता नाता जोड्न पनि उस्तै परे तम्सन्छन् । तर, यस्ता क्षणिक नातावाद, कृपावाद र म वादभन्दा पनि देशको भविष्य सोच्ने काम मतदाताले गर्नैपर्छ । संविधान बने त्यसले देशलाई सकारात्मक बाटोमा लैजान सक्छ । त्यसमा तोकिएका ऐनकानुनका एक–एक अक्षरले भोलिको नेपालको विकास र समृद्धिलाई बढवा दिन्छ । हो, त्यही संविधान बनाउन सक्ने नेता खोज्नुछ मतदाताले । चुलिएको अग्लाइमा आफ्नो विचारलाई नेताका भाषण र चुनावी मोलतोल सुन्न बिर्सनुभएन । नत्र, आज जोडिएका नेताका हातहरु भोलि नेपाल र नेपालीकै गालामा हान्ने चड्कनका रुपमा प्रस्तुत हुन सक्छ । गलत नेता छानिए उसले संविधान हैन, गाउँका खेतबारीमा भएका धानका बीउ पनि बाँकी नराख्न सक्छ ।
नेता झुकेका क्षण मतदाता चुक्ने संवेदनशील क्षण पनि हो । झुकेका नेताका आँखामा हेरौँ । विचारमा सोचौँ । सिद्धान्तमा खोतलौँ र व्यवहारमा निहारौँ । साँच्चै त्यहाँ देशभक्ति छ कि छैन ? राष्ट्रका लागि अब गर्छु भन्ने आँट र हिम्मत छ कि छैन ? यसअघि गरेका गल्तीमा आत्मालोचना छ कि छैन ? उसको बिगारले कतिले दुःख पाए, त्यसको हेक्का उसलाई छ कि छैन ?
चार वर्षसम्मको देशको ठूलो ढुकुटीको मानो सित्तैमा रित्याएकामा पश्चात्ताप छ कि छैन ? अथवा अबको काम म निःशुल्क गर्न सक्छु भन्ने प्रतिबद्धता छ कि छैन ? यदि आँखामा यी झल्केको छैन भने उसले देशका लागि नसोच्न पनि सक्छ ।
यी कुरा मात्र हैन, उम्मेदवारका हाउभाउ पनि नियाल्नुछ मतदाताको उच्च विचारले । के गर्छ उमेदवार, कसरी बस्छ, कसरी हिँड्छ अनि खान्छ ? जितेपछि पख्लास् भन्ने आलसीपन पो छ कि ! मतदाता किसानको अमिलो गन्ध अनि घरदैलोमा दिएको मोहीबाट उसलाई कतै गन्ध पो आइरहेको छ कि ! विदेशी परफ्युम सुघ्ने बानी परेकालाई यहीँको धर्ती पनि टेढो लाग्न सक्छ । यहीँको त्यहीँ हिँड्दा पनि सुकिलो गाडी चढ्ने रहर अझै गर्दैछ कि ! खल्तीभरि पैसाको बिटो बोकेर मतदाता किन्नै हिँडेको पो हो कि ! यो वा त्यो बहानामा मत खरिद गर्ने बार्गेनिङको सुटकेस भिरेर आएको पो छ कि ! मतदाता ठग्ने उद्देश्यले आएका छन् भने तिनलाई दण्ड पनि मत नदिएर नै दिनुपर्छ भन्ने दरिलो भावना जगाऊँ मतदाताहरुमा ।
मंसिर ४ को संविधानसभाको चुनाव सबै मतदाताले निर्धारण गर्ने नेपालको भविष्य हो । एकपल्ट भासिइसकेको जमिन उकास्न त समय लाग्छ, भत्किसकेको घर बनाउन पनि समय लाग्छ, अझ फेरि संंविधान बनाउन पनि केही समय अवश्य लाग्ला । तर, उचाइबाट मतदाताले नियाल्ने हो भने अबको समय पहिलेजति अवश्य नलाग्ला ।
राजनीति, विवाद र स्वार्थले खर्लप्पै खाएको पोहोरका संविधानका खेस्राखेस्रीहरु बाँकी नै छन् । तिनका बारेमा उम्मेदवारले कत्तिको जानकारी राखेका छन्, त्यो पनि घरदैलो आउँदा नेताहरुलाई सोधौँ । ‘कति काम बाँकी छ नेताज्यू, निर्धक्कसँग भनौँ । अब कति समय भए पुग्ला, यदि त्यो समयमा संविधान नबने तपाईंलाई सजाय के दिने ?’ यो पनि धक नमानी सोधौँ । अहिले नसोधे कहिले भन्ने कुरा मतदाताले भुल्नै भएन । नत्र, जितपछि त उही हो बालुवाटार र बानेश्वरको रूट मात्र देख्छन् नेताहरुले । राज्य पुनर्संरचनामा के अल्झ्यो, अब कसरी बन्छ ? शासकीय स्वरुपमा राष्ट्रपतिलाई अधिकार कि प्रधानमन्त्रीलाई, अनि किन ? देशले संघीयताको भार कति थेग्छ, हिसाबकिताब गरेरै प्रस्ट पार्न लगाऊँ मतदाताले ।
पहिचान, एकल पहिचान, बहुपहिचानका नारा कहाँबाट आयो ? यो देशका लागि कत्तिको हितकर छ र कतै भोलि देश सुडान र सिरिया बन्ने त हैन ? यो पनि सोध्न र मनन् गर्न पनि नभुलौँ । नेता भनेका देशका भाग्यविधाता त हुन्, तर उनलाई भाग्य लेख्न सघाउने पहिलो हात मतदाताकै हो ।
नेताहरु आफ्नै राजनीतिको घेराबन्दीमा परेर होचिइसकेका छन् । उनीहरुले जति शिर उठाए पनि गरेको गल्ती छोपिने ठाउँ छैन । उदाङ्गो भैसकेको खण्डहरजस्तै हुन् नेताहरु । फेरि मलहम–पट्टी गरेर सुन्दर बनाउने जिम्मा त मतदाताकै हो । कुमालेको चक्रले काँचो माटोलाई राम्रो भाँडा बनाउँछ । त्यस्तै गरी राम्रालाई अझ राम्रा अनि नराम्रालाई सुधारेर राम्रो बनाउने बेला पनि यही हो । तर पाकेर, फुटेर गैसकेको माटाका भाँडालाई मिल्काउनुको विकल्प नरहे झैँ पत्तुर नेताहरुलाई पाखा लगाउने बेला पनि मतदाता अग्लिएकै यस्तै पलमा त हो नि ! मतदाता अग्लिएको यो क्षण छोटो छ, तर निकै बहमूल्य छ । मताधिकारको तोड राजनीतिमा गतिलै पर्छ । पार्टी र व्यक्ति दुवै हेर्नु त प¥यो नै । तर, पार्टी फरक नभए पनि राम्रा नेता छन् भने तिनलाई न्याय गर्नु मतदाताको धर्म हो ।
गीतामा अर्जुनले आफ्ना एक सय भाइ कौरवसँग युद्ध लड्न निकै गाह्रो पर्दा कृष्णले सम्झाएका थिए– ‘हे अर्जुन ! सम्झ, तिमी पापको नाश गर्दैछौ, पापीको हैन ।’ अर्जुनले चलाएको सत्यको त्यही वाण आउँदो संविधानसभाको चुनावमा मतदाताले चलाउनुछ । मतदाताको सही निर्णय भएन भने हिटलर आउन सक्छ कि त विदेशीको हातमा देश पुग्छ । दुवै हुन नदिन पनि मतदाताले सक्रिय रुपमा दिमाग लगाउन जरूरी छ ।
मतदाता शिक्षा निर्वाचन आयोगले बाँडिरहेको छ । स्वस्तिक चिन्ह दायाँ, बायाँ, तल–माथि कुनै रेखामा नछुने गरी चुनावचिन्हमा स्वस्तिक छाप लाउन त सिकौँ नै । अझ व्यक्ति, राजनीति, पार्टी र स्वार्थभन्दा माथि उठेर देशका लागि छाप लाउने अभ्यास पनि मतदाताले आजैदेखि गर्ने हो कि !
(लेखिका नागरिक दैनिकसँग आबद्ध छिन् ।)
Discussion about this post