— अ के ला
आजभन्दा करिब साढे चार दशकअघि गाउँमै छँदाको घटना हो यो । घरबारीभन्दा पल्लो कान्लास्थित छिमेकी, जसलाई हामी पल्लाघरे भन्ने गर्दथ्यौँ– उसकहाँ मही माग्न म गुनगुनाउँदै, महीको ढुङ्ग्रो हल्लाउँदै खेतको कान्लैकान्ला बेफिक्री तालमा जाँदैथिएँ । जाडो यामको झिसमिसेमा टाढाटाढासम्म केही पनि देखिँदैनथ्यो । पर पुगेपछि बाटोमा मैले एउटा कालो आकृतिलाई बाटो छेकेर बसेको देखेँ । वल्लोघर पल्लोघर गर्ने एउटामात्र बाटोमा त्यो आकृति देखेर म बच्चा डराएँ, तर महीबिना च्याँख्लाको भात घाँटीबाट नझर्ने भएकाले डराइडराई भए पनि त्यो आकृतिनजिक जाने हिम्मत गरेँ र गएँ ।
त्यहाँ पुगेपछि हेर्छु त त्यो आकृति मान्छेको रहेछ । त्यो पनि मुखिया बूढाको, जो पाँतीको बुटो समाएर दीर्घशङ्का गर्दैरहेछ । मलाई नजिकै आएको देखेपछि बूढो च्याँठ्ठिए— ‘ओए ठेट्ना, म आची गरिरहेको देख्तादेख्तै किन आइस् यता ?’ भरेभोलि भाको बूढो, त्यसमाथि गाउँकै मुखिया– मुख लागेर बाबुको चुटाइ खानुछैन भन्ठानेर देखे नदेखे झैँ गरी जुन बाटो आएँ, त्यही बाटो फिरेँ, रित्तो ढुङ्ग्रो हल्लाउँदै ।
फेरि अर्को प्रासङ्गिक उपकथा, जुन गोरखास्थित मेरो ससुराली गाउँ हटियाको हो । मेरो आफ्नै जेठानबाट प्रेषित यो उपकथा आजको यो चुनावी माहौलमा प्रासङ्गिक ठानिएको हुँदा यसलाई पस्केको छु ।
उपकथाको मुख्य पात्रको एउटा बानी के रहेछ भने गाउँमा कोही आफूकहाँ केही कुरो पैँचो वा पैसो सापटी माग्न आयो भने ऊ आफ्नो घरको लिस्नोमा के भन्दै तल र माथि गर्दोरहेछ भने दिऊँ कि नदिऊँ, दिऊँ कि नदिऊँ !
त्यो क्रममा ऊ पैँचो वा पैसा सापटी माग्न आउने पात्रको नजिक पुग्दा ‘दिउँ’ मा आएर टुङ्गिए पैँचो वा सापटी पात्रलाई दिँदोरहेछ । ‘नदिऊँ’ मा गएर टुङ्गिए नदिँदो पनि रहेछ । त्यस्तै हालत आज मेरो यो तातिएको माहौलमा छ ।
प्रसङ्ग बदलौँ । निर्वाचन यदि प्रचण्डको गोप्य मन्त्रणाबमोजिम खिलराज र नीलकण्ठले सारेनन् भने चुनाव त हुने नै भयो, या गरिने नै भयो । तापनि, बाँकी अवधिभित्र कुन दललाई जिताउने, कुन नेतालाई दिने, अथवा दललाई रोज्ने कि व्यक्तिलाई रोज्नेजस्ता कुरामा मतदाताहरु कृतसंकल्पित भैसक्नु पर्ने तर नभैसकेको अचम्मको स्थिति जुन छ, यो ज्यादै अनौठो छ ।
पहिलो त, चुनाव हुन्छ कि हुँदैन । दोस्रो, यो शान्तिपूर्ण हुन्छ कि हुँदैन । तेस्रो, शान्तिपूर्ण नै भैहालेछ भने पनि संविधान बन्छ कि बन्दैन । र चौँथो, केहीगरी संविधान आइहालेछ भने पनि त्यो सर्वमान्य हुन्छ कि बाटामा लगेर पोलिन्छ । यत्ति चार कुराको निधो नभै खसेको मतको अर्थ छैन । त्यो भनेको अँध्यारोमा ढुङ्गा हान्नु हो । यो अँध्यारोमा ढुङ्गा हान्ने हुन्छ, यानि हचुवा ।
कदाचित, चुनावी आचारसंहितालाई एकछिनका लागि नजरअन्दाज गरियो भने पनि निश्चिन्त हुन नसकिएका यी चार कुरामा महामहिम राष्ट्रपतिदेखि मन्त्रिपरिषद्का अध्यक्ष र निर्वाचन आयोगका प्रमुख आयुक्त स्वयम् नै पनि निश्चिन्त भई नसकेको अवस्था छ भन्न हिच्किचाहट छैन ।
कोही पनि निश्चिन्त हुन नसकेका चार कुरामाथि विश्लेषण गरिनुपूर्व यी कुरा के कारणले र कसको कारणले उब्जिए भन्ने प्रस्टिनु जरूरी मानिन्छ । त्यो प्रस्ट नभई चुनावमा भाग लिनु र अँध्यारोमा ढुङ्गा हान्नुमा खासै अन्तर रहँदैन । यो चुनावमा त किमार्थ रहँदैन ।
उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणदेखि उनीहरुको आकांक्षाविपरीतका पच्चीसवटा धाराहरुको खारेजी, राज्यशक्तिको दुरूपयोग (शक्ति पृथकीकरणको सिद्धान्तविपरीत) जस्ता घटनाहरु, जुन आफैँमा दुर्घटनाका कारक त¤वजस्ता लाग्छन्, जसको पछाडि चार दादाहरुको गैरराजनीतिक र गैरलोकतान्त्रिक चरित्र थियो, त्यसप्रति मतदाताहरुको सन्देह अस्वाभाविक छैन ।
नदीमा पानी धेरै बगिसकेको मानेर एक थान संविधान प्राप्ति हेतु चार दादाहरुको चरित्र (दुष्चरित्र ?) लाई नजरअन्दाज गरिए पनि प्रत्यक्ष २४०, समानुपातिक ३४५ र सरकारी कोटा २६ जुन संविधान निर्माणको प्राविधिक कोटा हो, त्योसमेत गरी ६०१ हुने हो । तर, दुनियामै नभएको त्यो छब्बीस प्राविधिक कोटालाई बिनाकुनै आधार चुनावविरूद्ध लागेका दलहरुलाई दिनसक्ने हैंसियत ठूलो दादा एमाओवादीलाई केले दिन्छ ? त्यता मतदाताहरुको ध्यान जान्छ वा जाँदैन ? त्यो चासोको विषय छ र यस्तो भएपछि देश विधिले चलेको ठहर्छ कि दादाहरुको मुढेबलले ?
सल्टाउन शेष रहेका संविधानका अन्तरवस्तुमा असहमत बाहुबलीहरु गल्तीमाथि गल्ती गर्दै जान र मंसिर चारमा एक मत भएर त्यसबाट कस्तै गरी भए पनि एक थान संविधान नदिई नछाड्ने, चाहे त्यो सर्वमान्य होस वा नहोस्, चाहे भोलि त्यो सडकमा पोलियोस् वा नपोलियोस्, जुन थप गल्ती गरिँदैछ, यसले शक्तिका उपासकहरु अभिशप्त हुने गरेको ठहर्छ । त्यो हुँदैनथ्यो त संविधानसभा निर्वाचन ‘नौटङ्की’ कहलिने नै थिएन र यसबाट उत्पन्न गम्भीर परिणामको दायित्व आफ्ना थाप्लामा थाप्ने बेवकुफी पनि किमार्थ गरिँदैनथ्यो ।
जुन परीक्षाले देश र देशवासीहरुको भविष्य तय गर्छ, त्यो परीक्षा अध्ययन र विश्लेषणबिना र परीक्षार्थी (उम्मेदवार) हरुको कुण्डली हेर्दै नहेरी, बुझ्दै नबुझी हावामा मत दिनु भनेको कालिदासे पारा हो । म्याद सकिएको सभासदीय अधिकार रिन्यू गर्न जाँच दिन लागेका परीक्षार्थीहरुको जन्मकुण्डली हेरेर, केलाएर क–कसलाई, कति नम्बर दिनुपर्छ र क–कसलाई पास गर्नु र फेल गर्नु उचित छ, त्यो खुट्टयाउनु जरूरी छ, नत्र ‘नौटङ्की’, ‘नौटङ्की’ नै हुनेछ ।
म्याद गुज्रेको सभासदीय अधिकार रिन्यू हुनासाथ, पास हुनासाथ पात्रहरु आफ्नो अस्सली रुपमा आउँछन् र चकचकी सुरू हुन्छ । त्यो दुष्कृत्य पूरा गर्न उनीहरु कान समाएर उठबस गर्नेदेखि घोप्टो परेर आची खान पछि पर्दैनन् भने यस्ता निर्लज्जहरुबाट वास्तविकभन्दा अवास्तविक, तथ्यगतभन्दा वस्तुगत र खस्राभन्दा चिप्ला कुराहरु भव्यता र सभ्यतापूर्वक आउनु, आचारसंहिता तोडिनु र किरिया खाइनुको के कुरा ? त्यसलाई निषेध गर्ने नै हो भने उनीहरुको त्यो सभासदीय अधिकारलाई रिन्यू गर्नुअघि, यी परीक्षार्थीहरुलाई नम्बर दिनुअघि निजहरुको आर्थिक, सामाजिक र राजनीतिक बाहेक वैयक्तिक चरित्रबारे पनि मतदाताहरु क्लियर हुनु अनिवार्य छ ।
चुनाव हुन्छ कि हुँदैन भन्ने मामुली जस्तो लाग्ने कुरालाई यदि खिलराज र नीलकण्ठको आँखाले हेरियो भने चुनाव हुन्छ । किनकि, उनीहरुले लिएको ठेक्कै चुनाव हो । यसलाई उनीहरुले जस्सरी पनि सम्पन्न गर्नैपर्छ । अनि, रामवरण र परमानन्दको आँखाले हेरियो भने भरिसक्ये चुनाव नभैदिए हुन्थ्यो, स्थगित भैदिए हुन्थ्यो । किनकि, चुनाव सकिए लगत्तै जागिर जान्छ र शीत्तल निवासको राजसी ठाटबाटबाट हात धुनुपर्छ । तर सामान्य नागरिकहरु जो खिलराज, नीलकण्ठ, रामवरण, परमानन्द या कुनै दलका कुनै नेतासँग गोरू बेचेको साइनोले पनि चिन्दैनन्, तिनलाई यही हुन्छ भनेर कसले भनिदिने ?
पहिलो त, चुनावलाई ‘नौटङ्की’ ठान्ने दलहरुको चुनावविरोधी हर्कत, मतदाताहरुको उदासीनता, चुनावी दलहरुबीचको गोदागोद, लखेटालखेट अनि खिलराज र नीलकण्ठहरुले गर्दै गरेको दाबी, ठोकुवाको नाजुकताको के गर्ने र हावा खाँदै गरेको चुनावी रौनकता र मतदाताहरुमा बढ्दो ब्लड प्रेसरको के गर्ने भन्ने कुराकै टुङ्गो लागेन ।
दोस्रो, चुनाव शान्तिपूर्ण हुन्छ कि हुँदैन भन्ने आशङ्का जुन छ, यो चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्कासँगै गाँस्सिएको दोस्रो गम्भीर आशङ्का हो, जसको टुङ्गोबिना पहिलो आशङ्का निरर्थक किन पनि छ भने चुनावी सुरक्षाप्रति स्वयम् ठूला दलका ठूला नेताहरुमै असन्तुष्टि देखियो र सुधार्ने सुझाव दिइयो निजहरुबाट । यसर्थले चुनाव शान्तिपूर्ण हुन्छ कि हुँदैन भन्ने प्रश्नको उत्तर चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्नमै खोज्नुपर्ने हुन्छ ।
चुनाव हुन्छ कि हुँदैन र चुनाव शान्तिपूर्ण हुन्छ कि हुँदैन भन्ने यी दुई आशङ्काको हलबिना संविधान बन्छ कि बन्दैन भन्ने तेस्रो आशङ्का पनि अर्कै ग्रहबाट ल्याएर शल्यक्रियामार्फत मतदाताहरुको दिमागमा हालिदिए जस्तो लाग्छ । किनकि, आजका मितिसम्म पनि मतदाताहरुमा यो कायमै छ, मेटिएको छैन । चुनाव गराउने जिम्मा लिएका ठेकेदारहरुले मेटाउन सकेका छैनन् । नेपाली राजनीतिका चार महाबलीहरु सल्टिसकेका पुराना मुद्दाहरुमै फर्किएकाले पाँच–छ महिनामा सहमति, एक वर्षमा एक थान खाका र त्यो पनि नभए जनमतको कुरो त्यत्ति पत्यार लाग्दो देखिन्न ।
केही कट्टरपन्थी कम्युनिस्टहरुलाई चुनावविरूद्ध उक्साएर, उनीहरु र चुनावी दलहरुबीचै नानाथरीका उपद्रवहरु मच्चाएर, सुरक्षास्थितिलाई नाजुक घोषित गरेर, यी सबैलाई सुधार्ने निहुँमा चुनाव स्थगित गरेर, सारेर, त्यतिखेर पनि यस्तै–यस्तै गरेर राष्ट्रलाई नै असफल घोषित गरेर त्यसमार्फत देशलाई दोस्रो भुटान (परिस्थिति बदलिएकाले सिक्किमीकरण अव सम्भव छैन) बनाउने षड्यन्त्र भैरहेप्रति नेपाली राजनीतिका चार महाबलीहरु बाहेक खिलराज, नीलकण्ठलगायतका मानिसहरु अञ्जान पनि हुन सक्दछन् । उनीहरु अञ्जान यसर्थले पनि कि बाटो छेकेर, बाटामा दीर्घशङ्का गर्न सक्ने महाबलीहरुले उनीहरुसँग त्यसको भेद नखोलेका पनि हुन सक्दछन् । तथापी, मंसिर चार (शौचालय दिवस) शुभ र फलदायी नै रहोस ! अस्तु ।
Discussion about this post