भरतपुर । चितवनका पाँचै निर्वाचन क्षेत्रमा यसपटक एक÷एकजना पूर्वसभासद्हरु उठेका छन् । पाँचमध्ये दुईजना समानुपातिकबाट सभासद् भएका थिए भने तीनजना प्रत्यक्षतर्फबाट चुनाव जितेर संविधानसभामा पुगेका थिए ।
एकीकृत नेकपा (माओवादीले) चितवन क्षेत्र ३, ४ र ५ मा अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा विजयी भएकाहरु नै यो पटक पनि उही क्षेत्रमा दोहो¥याएको छ । अघिल्लो पटक समानुपातिकबाट सभासद् बनेकाहरु यो पटक प्रत्यक्षमा क्षेत्र १ र २ मा उठेका छन् ।
क्षेत्र १ मा नेकपा (एमाले)का उम्मेद्वार सुरेन्द्र पाण्डे अघिल्लो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् भएका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा एमाले विजयी भएको क्षेत्र १ मा विजयी हुने संभावना देखेर पाण्डे यो पटक प्रत्यक्षमा उठे ।
अघिल्लो निर्वाचनमा विजयी लालमणि चौधरीलाई यो पटक एमालेले समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ । पाण्डे उम्मेद्वार हुने पक्का भएपछि सो क्षेत्रका एमाले नेता जागृतप्रसाद भेटवालको असन्तोष सार्वजनिक भएको थियो । एमालेले भेटवाललाई पनि समानुपातिकमा राखेको छ ।
अघिल्लो पटक समानुपातिकबाट सभासद् भएका पाण्डे यो पटक प्रत्यक्षबाट उठ्दा पार्टीले चौधरी र भेटवालसहित क्षेत्र १ कै अन्य केही नेताहरुलाई पनि समानुपातिकमा राखेको छ । त्यसैले अनुमान गर्न सकिन्छ प्रत्यक्षबाट उठ्ने पाण्डेको चाहना त्यत्ति सहजै पूरा भने भएको छैन ।
पार्टीभित्रका असन्तुष्टिहरु मिलाएपछि मैदानमा आएका पाण्डेलाई विपक्षीहरुको चुनौती पनि कम छैन । नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी र एकीकृत नेकपा (माओवादी) का यमबहादुर परियारले पाण्डेलाई टक्कर दिइरहेका छन् । अघिल्लो निर्वाचनमा यहाँ माओवादी दोस्रो र कांग्रेस तेस्रो भएको थियो ।
क्षेत्र २ मा एकीकृत नेकपा (माओवादी) बाट उम्मेद्वार भएका साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ अघिल्लो संविधानसभामा समानुपातिकबाट सभासद् भएका थिए । तत्कालीन नेकपा (माआवादी) का महासचिव रामबहादुर थापा बादल अघिल्लो पटक विजयी भएको क्षेत्र हो यो ।
अघिल्लो निर्वाचनमा बादल आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा आठ हजार बढी मत ल्याएर विजयी भएका थिए, तर यो पटक आहुतीलाई त्यो तहको सहजता भने छैन । क्षेत्र २ मा उनी सम्भावित उम्मेद्वारको सूचीको सिफारिसमा थिएनन् । उनको नाम केन्द्रले तय गरेको हो ।
पार्टीका जिल्ला सेक्रेटरी भएर काम गरेका रमेश रेग्मी ‘अमर’ टिकटका प्रबल दाबेदार थिए, तर अचानक उनले टिकट नपाएर आहुतीको नाम तय भयो । रेग्मी समानुपातिकको सूचीमा परे । जिल्ला बाहिरका आहुतीलाई काँग्रेस एमालेले स्थानीय व्यक्तिलाई उम्मेद्वार बनाएर टक्कर दिएको छ ।
यहाँ आहुतीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार कृष्ण खनाल र नेपाली कांग्रेसका शेषनाथ अधिकारीसँग सामना गर्नुपरेको छ । बादल बहिष्कारको मार्चामा सामेल छन् । यस्तो बेला प्रत्यक्षबाट चुनिएर संविधानसभा भवनभित्र छिर्न आहुती प्रचार प्रसारमा दत्तचित्त लगाएर खटेका छन् ।
अघिल्लो पटक निर्वाचित क्षेत्र ३ का नारायण दाहाल, ४ का चित्रबहादुर श्रेष्ठ र ५ का अमिक शेरचनलाई माओवादीले यो पटक पनि उम्मेदवार बनाएको छ । सफलता दोहो¥याउने योजनामा रहेका उनीहरुले यो पटक भने पहिलेका भन्दा कडा प्रतिद्वन्द्वीको सामना गर्नु परेको छ ।
पञ्चायतकालमा जनपक्षीय राजनीति गरेका ४८ सालको निर्वाचनमा संसद सदस्यमा विजयी भएका पूर्वकम्युनिष्ट भीमबहादुर श्रेष्ठलाई यो पटक नेपाली कांग्रेसले क्षेत्र ३ मा उतारेको छ । एमालेले अधिवक्ता कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति सुशील कोइरला नै उम्मेद्वार भएपछि क्षेत्र ४ मा अघिल्लो संविधानसभाका सदस्य चित्रबहादुर श्रेष्ठलाई अबको संविधानसभा सदस्यको संभावना कामय राख्न कडा चुनौती थपिएको छ । एमालेले दिलकुमारी रावललाई दोहो¥याएर उम्मेदवार बनाएको छ ।
महिला अधिकारको क्षेत्रमा राम्रो छाप छोडेकी एमाले उम्मेदवार रावलको माहोल यो संविधानसभा सदस्य पदको निर्वाचनमा अघिल्लोमा भन्दा निकै माथि छ । माओवादी उम्मेदवार श्रेष्ठले चुनिएर गएपछि गाउँ नआएको गुनासो पनि यदाकदा सुन्नु परेको छ ।
अघिल्लो संविधानसभा निर्वाचन हुँदा अमिक शेरचन जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष थिए । तत्कालीन माओवादीले चितवन क्षेत्र ५ मा उम्मेदवारी दिँदा शेरचन पनि सोही क्षेत्रबाट उठे । पछि तालमेल भयो अर्थात् माओवादीको पनि समर्थन पाएर शेरचन विजयी भए ।
निर्वाचनपछि माओवादी र जनमोर्चाको माउ पार्टी एकताकेन्द्र–मसालबीच एकीकरण भएर एकीकृत नेकपा (माओवादी) गठन भयो । शेरचनलाई पार्टीले यसपटक पनि टिकट दिएको छ । तुलनात्मक रुपमा यो क्षेत्रमा कांग्रेसको उम्मेद्वार अन्य क्षेत्रकाभन्दा कमजोर मानिएको छ ।
अघिल्लो निर्वाचनमा शेरचनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार विजय सुवेदी थिए । अहिले एमालेले नयाँ व्यक्ति दानबहादुर तमाङलाई उम्मेदवार बनाएर आक्रामक तरिकाले चुनावी अभियान चलाएको छ । राप्रपाका उम्मेदवार विक्रम पाण्डेको चुनावी माहौल पनि कम छैन ।
कांग्रेसले सविता बराललाई टिकट दिएको छ । क्षेत्र ५ मा माडी क्षेत्रको मत निर्णायक मानिन्छ । बराल माडीकै बासिन्दा हुन् । मुख्य भनिने कुनै दलका उम्मेदवार माडीका छैनन् । त्यसैले उनलाई प्रतिस्पर्धीले कमजोर मानेका भने छैनन् । यद्यपी पाँच पूर्वसभासदमा बाजी कसकसले मार्ला यसै भन्न सकिने अवस्था भने छैन ।
Discussion about this post