होमनाथ सामपकोटा
बछौली । पूर्वीचितवनको बछौलीका महिलाहरुले सामुहिक अर्गानिक तरकारी खेती सुरू गरेका छन् । बछौलीका २० जना महिलाहरु समूहमा आबद्ध भएर तरकारीखेती सुरू गरेका छन् ।
महिलाहरुले स्थानीयस्तरमा वरपीपल कृषक समूह स्थापना गरी तरकारीखेती सुरू गरेका छन् । गाविसका अन्य किसानहरुलाई अर्गानिकखेती गर्न प्रेरित गर्ने र जीविकोपार्जनमा सहजता ल्याउन महिलाहरुले समूहमार्फत अर्गानिकखेती गरेको समूह सचिव जानुका सुवेदीले जानकारी दिनुभयो ।
महिलाहरुले २ विगहा ५ कठ्ठा जग्गा लिजमा लिएर आलु, ध्यूसिमी, केराउ, राजमा, टमाटरखेती गरेको सचिव सुवेदीले बताउनुभयो । महिलाहरुले गत जेठ महिलामा समूह गठन गरी मासिक १०० रूपैयाँ बचत गर्दै आएका थिए ।
बचत गरेको रकमले राम्रो प्रतिफल नदिने भएकाले समूहमार्फत तरकारीखेती गरेर जीविकोपार्जनमा सहजता ल्याउन तरकारी खेती गरिएको हो । ६ महिनाअघि अर्गानिक तरकारीखेती सम्बन्धी तालिम लिएका महिलाहरुले आफूहरुले गरेको तरकारीखेती गाविसमै नमुना बनाउने उद्देश्य लिएका छन् ।
‘यसअघि हाम्रो गाविसमा महिलाहरुले सामुहिक रुपमा तरकारीखेती गरेका छैनन्’ सचिव सुवेदीले भन्नुभयो, ‘हामी तरकारीखेतीमा नमुना काम गरेर देखाउछौँ ।’ सुरूवातका दिनमा आम्दानी गर्नुभन्दा पनि गाविसमा अर्गानिकखेती गर्न किसानहरुलाई प्रेरित गर्न सामुहिक अर्गानिकखेती गर्न लागिएको सचिव सुवेदीले बताउनुभयो ।
महिलाहरुको प्रयासमा तरकारीखेती सुरू गरेको भएपनि वरपीपल कृषक समूहको नेतृ¤व स्थानीय दण्डपाणि पौडेलले गर्नुभएको छ । अध्यक्ष पुरुष भएपनि महिलाहरुको पहलमा तरकारीखेती सुरू गरिएको हो । समूहमा सम्पन्नदेखि दैनिक घर चलाउन मुस्किल पर्ने परिवारका महिलाहरुको सहभागिता रहेको छ ।
‘हाम्रो समूहमा दैनिक गुजारा गर्न मुस्किल हुने परिवारका महिलाहरु पनि छन्’ अध्यक्ष दण्डपाणी रिजालले भन्नुभयो, ‘उनीहरुको जीवनस्तर उकास्न पनि तरकारीखेती सुरू गरेका हौँ । महिलाहरुले विषादी प्रयोग नगरी तरकारीखेती सुरु गरेकाले मानव स्वास्थ्यलाई मात्र होइन, जैविक विविधता संरक्षणमा समेत यसले मद्दत पुग्नेछ ।’
नेपालकै तेस्रो पर्यटकीय स्थल भएको गाविस बछौलीमा तरकारीखेती सुरू गरेका महिलाहरुले आफूहरुले उत्पादन गरेको तरकारीखेती सौराहामै बिक्री गर्ने योजना बनाएका छन् । ‘हामीले उत्पादन गरेको तरकारी सौराहामै बिक्री गर्ने योजना छ’ समूहका सचिव सुवेदीले भन्नुभयो, ‘पछि बजारको समस्या खेप्नु पर्दैन । मासिक रुपमा जम्मा गरेको पैसाले तरकारीखेती सुरु गरेका महिलाहरुलाई आर्थिक अभाव भने खड्किएको छ ।
Discussion about this post