काठमाडौँ । मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी गर्ने भन्दै सरोकारवालाले नेपाल बन्द नगर्न विभिन्न राजनीतिक दल तथा संगठनसँग आग्रह गरेका छन् ।मिडिया इन्टरनेसनलद्वारा यहाँ शनिबार आयोजित ‘बन्द र अर्थतन्त्र’ विषयक अन्तक्र्रियामा अर्थविद्हरुले विभिन्न माग राखी गरिने बन्दका कारण पनि मुुलुक आर्थिक रुपमा पछाडि परेको टिप्पणी गर्दै बन्द र हड्ताल सधैँका लागि बन्द गर्न आह्वान गरे ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले बन्द अर्थतन्त्रका लागि सबैभन्दा खतरनाक परिस्थिति भएको भन्दै कुनै पनि समयमा गर्ने बन्दले व्यवसायीलाई घाटा हुने बताउनुभयो । ख्रीष्टमसमा विदेशमा २४ घन्टा व्यवसाय सुचारु हुने हुँदा नेपालमा पनि दसैँ, तिहार, तिजलगायतका चाड पर्वमा व्यवसायीले आफ्नो व्यवसायलाई बन्द नगरी चलायमान बनाउनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डेले आफ्ना माग पूरा गराउन सबै राजनीतिक पार्टीले बन्दको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
अर्थविद् चन्द्रमणि अधिकारीले बन्दका कारण दैनिक रु तीन अर्ब नोक्सानी हुने भन्दै अब चुनावी घोषणापत्रमा मात्र नभई व्यावहारिक रुपमै बन्द नगर्ने राजनीतिक पार्टीलाई मात्र भोट हाल्न आग्रह गर्नुभयो ।
राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष रमेशचन्द्र वादे श्रेष्ठले समस्याको समाधान वार्ता र संवादका माध्यमबाट खोज्नुपर्ने बताउनुभयो । रासस
Discussion about this post