बनेपा । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आम हडताल फिर्ता नभए तोड्ने चेतावनी दिनुभएको छ ।
शनिबार बनेपामा उद्योग वाणिज्य सङ्घ काभ्रेले आयोजना गरेको २३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उहाँले हामी बन्दको विपक्षमा छाँै तर बन्द भए निजी क्षेत्रले त्यसलाई तोड्छ भन्नुभयो ।
उहाँले बन्दको विपक्षमा माओवादी अध्यक्ष वैद्यसँग कुरा गरेको समेत जानकारी दिनुभयो । वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको निर्वाचनलाई लक्षित गरेर आगामी २५ गतेदेखि आम हडतालको घोषणा गरेको छ ।
अध्यक्ष वैद्यले दलहरूको घोषणापत्रमा निजी क्षेत्रको भावनाको कदर भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रले न्यूनतम आर्थिक एजेन्डामा पाँचै क्षेत्रको विकासलाई समेट्ने कोसिस गरेको बताउनुभयो ।
उहाँले खासगरी कृषि, पर्यटन, जलविद्युत् र नेपालमा खानी अध्ययनको सम्भाव्यतालाई मूल रूपमा उठाइएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजस्व छल्ने परिस्थिति सरकारले नै निर्माण गरेको आरोप लगाउँदै जोरजबर्जस्तीमा राजस्व तिर्न सक्दैनाँै भन्नुभयो ।
उहाँले काभ्रेमा रहेको आइटी पार्क र पोलिटेक्निकल इन्स्टिच्युट सञ्चालनका लागि निजी क्षेत्रलाई हस्तान्तरण गर्न सरकारलाई अनुरोध गरेको तर सरकारले निर्णय गर्न नसकेको बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहन सुनारले सरकारले अनुगमनका नाममा आतङ्क मच्चाएको आरोप लगाउनुभयो । सो साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्षमा महासचिव सुरकृष्ण वैद्य र दिलीपकुमार श्रेष्ठको उम्मेदवारी परेको छ भने सहसचिवमा सबरकुमार प्रजापति र रवीन्द्र वैदारको उम्मेदवारी परेको छ ।
उनीहरूबीच निर्वाचन हुनेसमेत जनाइएको छ । सङ्घको उपाध्यक्षमा प्रकाश मानन्धर, राजेन्द्र पछसे, महासचिवमा प्रताप वैद्य, कोषाध्यक्षमा वसन्नारायण भोछिभया र सचिवमा कैलाश पलाञ्चोके निर्विरोध चयन हुनुभएको छ । रासस
Discussion about this post