रमेश प्रभात
महाकवि लक्ष्मीप्रसाद देवकोटाको विराट् कल्पनाशीलताबाट थालिएको आधुनिक नेपाली निबन्ध यतिबेला नेपाली साहित्यमा निकै उर्बरता, मौलिकता र सशक्ततापूर्वक अगाडि बढिरहेको छ भन्दा अत्युक्ति हुँदैन । कविताको समृद्ध परम्परामा नेपाली निबन्ध पनि त्यत्तिकै सबलताका साथ अगाडि बढ्नु नेपाली साहित्यका पाठकका निम्ति खुशीको कुरा हो । अचेल नेपालीहरु निकै भ्रमणशील बन्दै गइरहेका छन् र तिनै यात्राका कुरालाई निबन्धमार्फत् सार्वजनिक गर्छन् । भ्रमणबाट विमुख पाठकहरुका लागि त्यस्तो लेखन उपलब्धि बन्ने गरेको छ । विकीर्ण चिन्तनबाट नेपाली निबन्धलाई फराकिलो आकाश प्रदान गर्नुमा निबन्धकार शङ्कर लामिछानेको प्रशस्त योगदान छ । उनले आख्यानको मिश्रण, व्यक्तिचित्रको प्रयोग र विषयगत वैविध्यलाई निबन्धमा भित्र्याए, त्यस्तै समीक्षात्मक टिप्पणीलाई पनि निबन्ध बनाए । निबन्धको यही गोरेटोमा यिनै प्रवृत्तिहरु अँगाल्दै विचारका झिल्काहरु उनेर निबन्ध लेख्दै आएका सशक्त निबन्धकार हुन्, रोशन शेरचन ।
नेपाली साहित्यमा कविताबाट यात्रा आरम्भ गरेका निबन्धकार शेरचनका मस्तिष्कहरुको मृत्यु (२०५७) र चम्पारन ब्लुज (२०६७) पूर्वप्रकाशित निबन्धकृतिहरु हुन् भने धोबीघाट एक्सप्रेस (२०७०) हालसालै प्रकाशित निबन्धकृति हो । विश्वसाहित्यका जटिल कृतिहरु अध्ययन गरेर प्राप्त ज्ञान र विचारहरुलाई नेपाली मौलिकतामा रुपान्तरण गर्दै निबन्ध लेख्ने निबन्धकार शेरचन अरुभन्दा पृथक् खालका निबन्धकार प्रतीत हुन्छन् । विचारका बिम्बहरुलाई भाषा र शैलीले माझेर प्रस्तुत गर्नु निबन्धकार शेरचनको नैबन्धिक उपललब्धि हो भन्नुपर्छ । निबन्ध यात्राको डेढ दशक समयमा उनले आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।
निबन्धकार शेरचनको तेस्रो निबन्धसङ्ग्रह ‘धोबीघाट एक्सप्रेस’ जम्मा २५७ पृष्ठको स्थूल आयाम र २४ वटा नैबन्धिक मालाहरु उनिएको कृति हो । प्रस्तुत कृतिभित्र घटीमा ४ पृष्ठको ‘ईश्वर हत्याको सन्दर्भ’ र ‘आस्थाको परिसर’ निबन्धदेखि लिएर बढीमा ३१ पृष्ठको शीर्षक निबन्ध ‘धोबीघाट एक्सप्रेस’ सम्मको आयामगत विविधता देखिन्छ । औसतमा कुरा गर्नुपर्दा प्रत्येक निबन्धले करिब ११ पृष्ठको आयाम पाउने देखिन्छ, जुन आयामलाई छोटो भन्न मिल्दैन । यात्रा, संस्मरण, व्यक्तिचित्र, समीक्षा, इतिहास, जीवन, दर्शन, पुस्तक, पात्र, प्रवृत्तिजस्ता विविध विषयवस्तुको उठान गरिएको यो पुस्तक सामान्यभन्दा केही माथि उठेका सचेत पाठकको बौद्धिक खुराक र सूचनाको भण्डार बन्न सक्छ ।
कृतिभित्र समेटिएको पहिलो निबन्ध ‘सम्झनामा भैरहवा र पोखरा’ आफ्नो बाल्यकाल, शिक्षादीक्षा, अध्ययन परम्परा, युवा वय आदिको स्मरण गरिएको संस्मरणात्मक निबन्ध हो ।
त्यस्तै, दोस्रो निबन्ध ‘झेन एण्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स’ छापिनुपूर्व गिनिज बुकमा रेकर्ड बनाइसकेको रोबर्ट एम पिरसिगको कृतिसँग सम्बन्धित छ । कृतिकै नामलाई शीर्षक बनाइएको यो निबन्धले पाठकलाई गम्भीर प्रकृतिको किताब पढ्ने सुझावलाई घुमाउरो पाराले प्रस्तुत गरेको छ ।
त्यस्तै, तेस्रो निबन्ध ‘फेसबुक संसार र विसङ्गतिका काराभान’ वर्तमान जीवनप्रतिको व्यङ्ग्य हो । आठवटा उपखण्डमा विभाजित यो निबन्धले विविध विषयवस्तुको उठान गर्दै युवापुस्ताको लापर्बाहीपन, देशभित्रको बेरोजगारी, युवाशक्तिको पलायन र साइबर संस्कृतिले व्यक्तिलाई खोक्रो पार्दै लगेको दारूण यथार्थमाथि वैचारिक प्रश्न उब्जाएको छ ।
सङ्ग्रहभित्रको चौँथो निबन्ध ‘विचारको ब्राकेटबाट चियाउँदा’ वैचारिक निबन्ध हो । कवि ईश्वर बल्लभको चर्चा गर्दै निबन्धकारले लेखक विचारविहीन हुन नसक्ने धारणा यो निबन्धमा राखेका छन् । निबन्धकार अविचारलाई पनि फरक विचार मान्दछन् । रचनामा विचार कलाले छोपिनु पर्ने धारणा राख्दछन् ।
त्यस्तै, पाँचौँ निबन्ध ‘गिन्सवर्ग बिम्ब’ प्रसिद्ध अमेरिकी विद्रोही कवि एलेन गिन्सवर्गको प्रसङ्ग उठाउँदै हङ्ग्री जेनेरेसन, बुटपालिसजस्ता काव्यिक आन्दोलनको समेत चर्चा गरेका छन् ।
त्यस्तै, छैटौँ निबन्ध ‘मृत्युको समाचार लुकाउन सकिनँ कुमार !’ मा कुमार नगरकोटीको फोनको प्रसङ्गबाट प्रसिद्ध कवि, निबन्धकार एवं समीक्षक गोविन्द वर्तमानको मृत्यु सन्दर्भलाई जोडेका छन् । केही लामो खालको यो निबन्धमा वर्तमानसँगको संस्मरण, उनको लेखनयात्राका अतिरिक्त निबन्धकारले आफ्नो निबन्धकृतिको पाण्डुलिपि पढ्न दिएको कुरा पनि उल्लेख गरेका छन् । काठमाडौँलाई राक्षस बिम्बका रुपमा उतारेकोमा वर्तमानको आक्रोश पोखिएको देखाएका छन् ।
कृतिभित्रको सातौँ निबन्ध शीर्षक निबन्ध हो । ‘धोबीघाट एक्सप्रेस’ शीर्षकको यो निबन्ध सबैभन्दा लामो र प्रयोगशील निबन्ध हो । बन्दका दिनमा सार्वजनिक बसमा यात्रा गरेको प्रसङ्गबाट उठान गरिएको यो निबन्धमा यात्रा, संस्मरण, एकालाप, संवाद, कल्पना, स्वैरकल्पना र आख्यानको समेत भरपुर उपयोग गरिएको छ । एउटा मृत व्यक्तिको प्रसङ्ग उठाउँदै लेखकले दुर्घटनाको चर्चा गरेका छन् । यसभित्र शारीरिक, मानसिक र वैचारिक यात्राका बिम्बहरु भेटिन्छन् ।
त्यस्तै, आठौँ निबन्ध ‘म कविता किन लेख्छु ?’ कवितायात्राको खुलासा गर्ने वैचारिक निबन्ध हो ।
नवौँ निबन्ध ‘शैलीको खोजीमा’ लेखकले छुट्टै शैली निर्माण गर्नुपर्ने धारणा राख्ने निबन्ध हो, तर लेखकले यसमा आफूले छुट्टै शैली बनाउन नसकेकोमा आफैँप्रति दुखेसो समेत पोखेका छन् ।
निबन्धसङ्ग्रहको दसौँ निबन्ध ‘पिकासो र डालीका पेन्टिङसँग केही क्षण’ बर्लिन यात्रालाई चित्रण गरिएको संस्मरणात्मक निबन्ध हो । यसमा लेखकले बर्लिनको आर्ट ग्यालरी घुम्दा देखेका विश्वचर्चित चित्रकारहरु पिकासो, डाली, मारगिट, माइडनर, रोबोर्टो मारा, जर्ज ग्रोस्ज, माक्स अन्ट आदिका चित्रकलाको खुलेर प्रशंसा गरेका छन् ।
त्यस्तै, एघारौँ निबन्ध ‘दुइटा फूल देउरालीमा’ कवि ईश्वर बल्लभको मृत्युपछि उनको घरमा गएको घटना उल्लेख गर्दै बल्लभकै स्मृतिमा रचिएको छ ।
बाह्रौँ निबन्ध ‘ग्राम्स्कीको देशमा’ इटाली भ्रमणसँग सम्बन्धित निबन्ध हो । यसमा इटालीको ग्रामीण इलाकादेखि रोमसँगका संस्मरण छन् भने पाश्र्वमा नवमाक्र्सेली चिन्तक एन्टोनियो ग्राम्स्कीको योगदानको चर्चा पनि छ ।
कृतिमा समेटिएको तेह्रौँ निबन्ध ‘सम्मुख शून्य र सम्झनाका रेलहरु’ एउटा राजधानीबाहिरको लेखकले राजधानीमा कार्यक्रम राख्न खोज्दा पाएको दुःखसँग सम्बन्धित संस्मरणात्मक लेख हो । यसमा लेखकले आफ्नो पहिलो निबन्धसङ्ग्रह ‘मस्तिष्कहरुको मृत्यु’ लोकार्पण गर्दा पाएको हण्डरलाई मार्मिक चित्रण गर्दै नारायण ढकालको खुलेर तारिफ गरेका छन् ।
चौधौँ निबन्ध ‘ईश्वर हत्याको सन्दर्भ र आस्थाको परिसर’ सङ्ग्रहकै छोटो निबन्ध हो । यसमा लेखकले ईश्वरको मृत्युसम्बन्धी आफूले यसअघि लेखेका लेखहरुको चर्चा गर्दै ईश्वर मस्तिष्क होइन कि मनमा बस्दोरहेछ भन्ने धारणा अघि सारेका छन् । यो छोटो निबन्ध भएर पनि इम्यानुअल कान्टको दार्शनिक चेतसँग जोडिएको दर्शनप्रधान निबन्ध हो ।
पन्ध्रौँ निबन्ध ‘निबन्धमा निर्बन्ध विचरण’ नेपाली निबन्ध लेखनको चर्चा गर्ने समीक्षात्मक निबन्ध हो । नेपाली निबन्धको विगतदेखि वर्तमानसम्मका मूलभूत प्राप्तिमा केन्द्रित यो निबन्धमा सैद्धान्तिक बहससमेत उठाइएको छ । लेखनको शक्ति र सीमाका बारेमा चर्चा गरिएको सुन्दर निबन्ध भएर पनि थोरै आत्मरतिमा डुबेजस्तो भने देखिन्छ ।
निबन्धसङ्ग्रहको सोह्रौँ निबन्ध हो, ‘जुरेथुम ३५ किलोमिटर र नित्सेको जराथ्रुस्त्र’ । यस निबन्धमा लेखकले साथीसँग गरेको त्रिशूलीयात्रा, जुरेथुम ३५ किलोमिटर भन्ने ठाउँमा रोकिएको प्रसङ्ग, भौगोलिक सुन्दरता आदिको चित्रण गर्दै वैचारिक तहमा नित्सेको चर्चित कृति ‘जराथ्रुस्त्र’ को स्मरण पनि गरेका छन् । त्यसैले यो विचारपरक यात्रानिबन्ध हो ।
सत्रौँ निबन्ध ‘होनचा टेरेसमा नगरकोटीसँग एक साँझ’ मा अफ दी बिट लेखक नगरकोटीसँग कवि कुनामा सोमरस पिउँदै बिताएको एक साँझ र उनको लेखनयात्राको चर्चा गरिएको छ ।
अठारौँ निबन्ध ‘अम्बर गुरूङ र क्याबिन नम्बर भ्रम’ मा लेखकले सङ्गीतकार प्रकाश गुरूङ र किशोर गुरूङसँग आफूले सङ्गीत सिकेको प्रसङ्ग उठाउँदै बिरामी अम्बर गुरूङलाई भेट्न महाराजगञ्ज पुगेको संस्मरण लेखेका छन् ।
कृतिमा समेटिएको उन्नाइसौँ निबन्ध ‘साहित्यमा विचार चिन्तन’ बहसको निम्तो दिने निबन्ध हो । यसमा कृष्ण अविरलको लेखको प्रसङ्ग उल्लेख गर्दै लेखकहरु गुटमा बाँडिनु ठीक कि बेठीक ? भन्ने चर्चा गरिएको छ । मान्छे समूहमा बस्ने भएकाले स्वस्थ खालको समूह आवश्यक छ भन्ने निष्कर्ष निकालेको देखिन्छ ।
त्यस्तै, बिसौँ निबन्ध ‘विद्रूप समय चेतनाका आख्यानकार’ लेखक नारायण ढकालसँग जोडिएको निबन्ध हो । यसमा ढकालको लेखनयात्रा, प्रवृत्तिका अतिरिक्त वैचारिक पक्षलाई समेत चित्रण गरिएको छ । त्यस्तै, आफ्नो कृतिको भूमिका लेखनलाई पनि जोडिएको छ ।
त्यस्तै, एक्काइसौँ निबन्ध ‘धूमिल स्केचमा कवि बल्लभ’ कवि ईश्वर बल्लभसँग सम्बन्धित छ । पोखरा बस्दा बढी भेट हुने गरेको तर काठमाडौँ बस्न थालेपछि कम भेटिएको प्रसङ्ग उल्लेख छ । यो निबन्धकारको एउटै कृतिमा एक व्यक्तिसँग सम्बन्धित दोस्रो निबन्ध भएकाले पाठकले त्यति स्वाद लिन नसक्ने देखिन्छ, जब कि निबन्ध आफैँमा सुन्दर छ ।
सङ्ग्रहभित्रको बाइसौँ निबन्ध ‘शङ्कर रिभिजेट’ निबन्धकार शङ्कर लामिछानेसँग सम्बन्धित छ । आफू पोखरा बस्दा काठमाडौँ आएको बेला अविनाश श्रेष्ठसँग शङ्कर लामिछानेको ठेगाना सोधेको र उनको मृत्यु भइसकेको थाहा पाएपछि शारीरिक रुपमा नभेटिए पनि कृतिको शक्तिका माध्यमले पटकपटक भेट भएको कुरालाई निबन्धमा उठाइएको छ । त्यस्तै, प्रकाश सायमीको भावक अभियानले शङ्कर लामिछानेलाई पाठकका माझ पुनः स्थापित गरेको तथ्य पनि निबन्धले व्यक्त गरेको छ ।
तेइसौँ निबन्ध ‘कोलाज यात्रा ः छ्याङदोर, भालुखोप र ओक्रा’ मा लेखकले काठमाडौँको भीडभाड र यान्त्रिक जीवनबाट मुक्त हुन एक हप्ते रसुवा–नुवाकोटको पैदलयात्रा गरेको कुरा उल्लेख गरेका छन् । यात्राका क्रममा देखिएको भू–दृश्य, प्रकृति, स्थानीय जीवन, भाषा, संस्कृति र ग्रामीण सद्भावको मार्मिक चित्रण गरेका छन् ।
कृतिको अन्तिम अर्थात् चौबिसौँ निबन्ध ‘पाउलो इज नट डेड’ आफ्नो जागिरे जीवनसँग सम्बन्धित गराएर प्रसिद्ध ब्राजिल दार्शनिक एवं समाज सुधारक पाउलो फ्रेरेको योगदानमा समर्पित निबन्ध हो । सीमान्तीकृत वर्गको उठानमा फ्रेरेको मह¤वपूर्ण भूमिका भएको बताउँदै नेपाली कम्युनिस्टहरुलाई उनको अनुसरण गर्न आग्रहसमेत गरिएको छ ।
यसरी यो निबन्धसङ्ग्रह ‘धोबीघाट एक्सप्रेस’ ले विविध विषयवस्तुको उठान गर्दै निबन्धका पाठकहरुलाई छुट्टै स्वाद दिने जमर्को गरेको छ । विचार, युग चेतना, समाज, जीवन दर्शन र यात्राका स्वादहरुलाई पाठकसमक्ष पस्कने काम गरेको छ । लेखनका क्रममा लेखक इमानदार बन्ने प्रयास गरेका छन् ।
लेखक भन्छन्, ‘आत्मपरक निबन्ध र नियात्रा लेख्दा विषयहरु पुनरावृत्ति हुने खतरा सदैव रहन्छ ।’
(निबन्धमा निर्बन्ध विचरण ः पृ १५३)
तर, निबन्धकार वैचारिक रुपमा सचेत भए पनि व्यवहारमा भने प्रशस्तै चिप्लेका छन् । ईश्वर बल्लभबारे दुईवटा छुट्टाछुट्टै निबन्ध राख्ने मोह गरेका छन् भने नारायण ढकालबाट भूमिका लेखाएको प्रसङ्गलाई धेरै ठाउँमा उल्लेख गरेका छन् । त्यस्तै गिन्सवर्ग, पिरसिगजस्ता लेखकलाई धेरै पटक दोहो¥याएका छन् । उनी निबन्धकार भएर पनि समीक्षालाई स्थान दिएका छन् । ‘निबन्धमा निर्बन्ध विचरण’ भित्र कतै आत्मरतिमा रमाएजस्तो पनि छनक देखिन्छ ।
निष्कर्षमा भन्नु पर्दा ‘धोबीघाट एक्सप्रेस’ शक्ति र सीमाका आधारमा सशक्त प्राप्तिका रुपमा देखिए पनि यसलाई २५७ पृष्ठको मोटो आयामबाट घटाएर १५० पृष्ठजति र २४ वटा निबन्धबाट छाँटेर १५ वटामा झार्न सकिएको भए पुनरावृत्ति हुने दोषबाट मुक्त हुनेथियो । पाठकलाई एउटै प्रसङ्ग पटकपटक पढ्न बाध्य पार्ने काम अर्को सङ्ग्रहमा नहोस् भन्ने कामना गर्दै ‘धोबीघाट एक्सप्रेस’ एक्सप्रेस गतिमा गतिशील रहोस् भन्ने शुभकामनाका साथ कलमलाई विश्राम दिन चाहन्छु ।
Discussion about this post