ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नलेखिएका खबरहरु

by चितवन पोष्ट
२०७० कार्तिक २३, शनिबार ०१:०९ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

केशव भट्टराई
पत्रकार भई टोपलेपछि त्यसै पनि सकसक लागिहाल्ने । दुई जनाको बहस सुनिहाल्न मन लाग्ने । चित्त नबुझे प्रश्न गरिहाल्न मन लाग्ने । चौबाटो, चियापसल, चमेनागृह र चौतारोमा कोही जम्मा भएको देख्नै नहुने । यसो अरुको गफ सुन्न मन लाग्ने । केही खोजी गरुँजस्तो लागिहाल्ने । मानौँ न, नारदमुनिजस्तो । सिआईडीजस्तो, खै कस्तो–कस्तो…! पेसा नै यस्तो परेर हो कि आफैँ यस्तै भएर हो ।
चार जनाको गफ चाख मानेर सुन्न मनपर्छ । अझ दोहोरो बहस, शब्दका झटारो र चर्काचर्की सुन्न औधी मज्जा आउँछ । अहिले त हात छँदाछँदै मुखको काम नै आउँदैन । दुई शब्द फुत्कन नपाउँदै दुई राउन्ड चार्ज बर्सन थाल्छ । यस्तो बेलामा अरुको रमिता हेर्दाहेर्दै आफैँले तोरीको फूल देख्ने हो कि भनेर फाइटको एक्सन सुरू हुनासाथै सुँइकुच्चा ठोकिन्छ । तोरीको फूल देखेपछि ‘सरी है’ भने पनि मुक्ति मिल्छ । भेट्नेले भेटिसकेपछि त्यो शव्दको ‘सरी’ को के अर्थ ! त्यसैले, आजभोलि चर्चामा छ– ‘आफ्नो मानो खाऊ, आफ्नो बाटो तताऊ, ज्यान बचाऊ ।’
तिहारमा खासै उमङ्ग नरहे पनि केही (अ)खबरहरु सुनेर छक्क परेँ । ती नलेखिएका खबरहरु साँच्चैका घत लाग्दा थिए । आफन्त, साथीभाइ, छिमेकी, शुभेच्छुकभित्रकै खबर रोचक बनिरह्यो । एक मित्रले सोधे– होइन खाली महिला हिंसाका मात्र कुरा सुनिन्छ, पुरूष हिंसाको कुरा कसैले गर्दैन, पुरूषहरुको मानवअधिकार हुँदैन ? उनको कुराले आकर्षित गरेपछि भनेँँ– किन नहुनु, हरेक मानवहरुको अधिकार हुन्छ । अहिले पशुअधिकारको त कुरा उठिसक्या छ । उनी जंगिए, केको पशुअधिकारको कुरा गर्नुहुन्छ यार ? यहाँ पुरूषहरु पीडित भएको कुरा कुन अधिकारवादी संस्थाले उठाउँछ ?
खासमा कुरो के रहेछ भने उनी हरेक दिन श्रीमतीको कुटाइ खाँदा रहेछन् । कुटाइ खानुको रहस्य भने उनले खुलाएनन् । तपाईं दिनहुँ ‘ड्रिंक्स’ गर्नुहुन्छ कि क्या हो ? केको ड्रिंक्स गर्ने यार, चिया खाने फुर्सद पाइँदैन । घरधन्दा सबै मैले नै गर्नुपर्छ । यसो फुर्सद निकालेर तास खेल्यो भने गाली–महारानीले मुक्कासमेत प्रहार गर्छिन् । भनेको नमानेपछि कुटाइ खानु त स्वाभाविक हो नि यार भनेर भनेको, झन्डै कोठा थुनेर गोदेनन् । श्रीमतीदेखि सातो जानुको कारणचाहिँ उनले प्रतिकार गर्ने साहस नभएरै रहेछ । बेलुकी मारामार हुँदा छिमेकीले समेत बुझ्ने साहस राख्दा रहेनछन् । सम्झाउने क्रममा थुप्रै छिमेकीहरुले रामधुलाइ खाएका थिए । भनेको नमान्ने श्रीमान्लाई तह लगाउन यस्तै प्रकृतिको श्रीमती भए धेरैका श्रीमान्हरु समयमै घरमा उपस्थित हुने निश्चित नै छ । पहिलेजस्तो श्रीमान्लाई राम मान्ने चलन हटिसकेको छ । हरेक दिन बेलुकी दारू खाएर श्रीमतीका कुरै नखाने र घरको फिटिक्कै काम नगर्ने श्रीमान्हरुलाई यस्तै दुर्गाहरुको आवश्यकता देखिएको हो कि ? सबै होस्, पुरूष अधिकार हनन्चाहिँ नहोस् ।
अर्को खबर प्रेमप्रसङ्गसँग सम्बन्धित छ । एक जना प्रेमपीडित साथीले एउटी साधारण युवतीसँग मायाप्रीति गाँसेका रहेछन् । प्रेममा हुनुपर्ने आधारभूत कुरा पनि उनले सात वर्षको दौरानमा पूरा गरेका रहेनछन् । चोखो प्रेमका लागि भावनामा बहेर उनी आदर्श प्रेमी बनिरहे । मनको कुरा मनले बुझ्न खोज्दाखोज्दै उनले संसार बुझिभ्याए, तर ती युवतीका बारेमा बुझ्न सकेनछन् । जिल्लाबाहिरकी ती युवती आफ्नै जिल्ला र त्यसमाथि आफ्नै वडामा आउँदासमेत अगाडि बढ्न सक्ने माहोल तयार पार्न सकेनछन् । स्मृतिका पानाभरि उनले सँगालेका अनगिन्ती स्मरणहरु रहेछन् । केबुलकार चढेको, नारायणहिटी संग्रहालय घुमेको, दार्जिलिङसम्मको यात्रा गरेको, डाँडाकालिकासम्म उक्लिएको, मन शान्त पार्न लुम्बिनी पुगेको, वनभोज खान स्मारक गएको, निकुञ्जमा हात्ती सयर गरेको, त्रिशूलीको राफ्टिङदेखि फेवातालको क्यान्वोइङ ट्रिपसम्मको यात्रामा सहयात्री बनेकी प्रियसीले एकाएक उनलाई छक्याइछिन् । त्यो पनि न भुल्न सक्ने, न बिर्सन सक्ने नाता जोडेर ।
पारिवारिक सम्बन्धका कारण उनले तिनै प्रियसीको हातबाट यही तिहारमा भाइटीका लगाउने सौभाग्य प्राप्त गरेछन् । प्रेमसम्बन्धका बारेमा परिवारमा जानकारी नगराएका उनले अकस्मात् नयाँ नाता जोड्नुपर्दा झन्डै ‘हार्ट एट्याक’ सम्मको स्थिति भोग्नु परेको रे ! खासमा उनको दिदीबहिनी रहेनछन्, उता पनि दाइ परदेशी भएका कारण टीका लगाउने मान्छे नभएपछि परिवारको सल्लाहबमोजिम उनको प्रेमको हत्या गर्दै भाइटीकाको नाता लगाएछन् । अब टीका लगाइसकेपछि नयाँ सम्बन्ध स्थापित भइहाल्यो । केको प्रेम, केको प्रेमी–प्रेमिका ।
टीका लगाइसकेपछि उनीसँग गफिँदा उनको सात वर्षे ‘स्याड स्टोरी’ सुन्न पाइयो । खासमा कुरो के रहेछ भने उनी ती युवतीलाई एकोहोरो प्रेम गर्दा रहेछन् । प्रेम गर्दाताका उनी अभिभावक बनेर उनको संरक्षण गरिदिए । अब नयाँ नाता पनि बनिहाल्यो, छिट्टै उनी कन्यादानमा पनि सहभागी हुनेछन् । त्यसैले, प्रेम गर्नेहरुले यस्तै पवित्र प्रेम गर्नुपर्छ । कतै पछि गएर भाइटीका लगाउनु पो पर्छ कि के थाहा ! अहिलेका जोडीलाई प्रेम गरेकै केही समयमा ‘फिजिकल’ हुनुपर्ने मान्यता छ । यस्ता मान्यताले नयाँ सम्बन्ध स्थापित गर्न समस्या पर्न सक्छ । त्यसैले, यस्ता कुरालाई मनन् गर्न सके आदर्श समाज निर्माण हुन कत्ति बेर लाग्दैन ।
अर्को खबर पनि तिहारसँगै सम्बन्धित छ । प्रशासनले जतिसुकै टाइट गरे पनि तिहारमा मापसे गर्नेले गरिहाले, जुवा खेल्नेले ठाउँठाउँमा सेन्ट्री राखेर भने पनि जुवा खेलिछाडे । जुवाडेहरुले यसपालि होटल–होटलमा बाजी राखेर जुवा हानेको खबर सुनिएको छ । दस–आठ लाख जाबो त अहिले सामान्य भैसक्यो, जुवा खेलिसकेपछि एक करोड नजिते के खबर बन्छ र ? करिब एक करोड पर्ने कार कसैले तिहारवरपर बिक्री गरेको सुन्नुभएमा निश्चिन्त हुनुहोस् । त्यो ५० प्रतिशत घटाएर बिक्री भयो । अहिले प्रशासनको सक्रियताले गर्दा जुवाडेहरुले चेकमार्फत्् जुवा खेल्ने नयाँ रणनीति बनाएका रहेछन् । मौखिक रुपमा बोलेर जुवा हान्ने र हार्ने बित्तिकै चेकमा साइन गरेर दिने । कति बिचौलियाहरुले यस्तो अवस्थामा मौका छोपेर एक लाखको डेढ लाख लिनेगरी जति चाहिए पनि लगानी गर्ने गरेको खबर सुनियो । जुवाडेका नयाँ–नयाँ काइदामा कसलाई चाहिँ फाइदा पुग्छ, त्यो दैव जानून् । यतिविध्न सक्रियताबीच पनि जुवा खेली छाड्ने जुवाडेलाई सम्मान गर्नुपर्छ ।
एक मित्रकहाँ कुकुर तिहारको दिन पुगिएको थियो । त्यहाँ श्रीमान्–श्रीमतीका चर्काचर्की सुनियो । चाख मानेर सुनेको उनकी श्रीमतीले यसपालि माइत जान ठूलै डिमान्ड गरेकी रहिछन् । पीडित श्रीमान्ले भन्दै थिए, ‘मेरी परान्, म तिम्रो इच्छा पूरा गर्न तयार छु । तिमीलाई सुनका गहनाले शिरदेखि पाउसम्म सिँगार्न तयार छु । तिमीले मेरो एउटा सर्त मान्नुपर्छ ।’ के सर्त हो, म मान्न तयार छु । उनकी परान्ले सहमति जनाइन् । तिम्रो इच्छा पूरा गर्छु, तिमीले मेरो इच्छा पूरा गर्नुपर्छ । हुन्छ, हुन्छ भनेर परान्ले सहमति जनाइन् । पीडित श्रीमान्ले भने– हेर मेरी परान्, मसँग दुईवटा किड्नी छ । एउटा भए पुग्छ । अर्कोको खासै काम छैन । एउटा बिक्री गरौँ, तिम्रो चाहना पूरा हुन्छ । डाक्टरहरुले भनेको एउटा किड्नी निष्क्रिय हुन्छ रे । त्यो निकाल्दा खासै समस्या पर्दैन रे । अनि, अप्रेसन त गर्नुपर्ला नि ? परान्ले सोधिन् । पर्छ, तर एक–दुई दिन आराम गरेपछि निको हुन्छ रे । ए, तिहारभित्रै काम गर्न सकिन्छ त ? सकिन्छ । हजुरको इच्छा छ भने गरौँ न त श्रीमान्ज्यू भनेर उनले सहमति जनाइन् । अनि, हजुरको सर्तचाहिँ के हो नि ? उनले सोधिन् । ‘सर्त त्यस्तो गाह्रो केही छैन मेरी परान्’ भनेर उनी चुप लागे । भन्नोस् न, सम्भव हुन्छ कि हुन्न ? पीडित श्रीमान्ले भनिदिए– ‘तिमीसँग पनि दुईवटा किड्नी छ । एउटाको काम छैन । मलाई पनि आईफोन किन्न मन छ, एउटा ल्यापटप नल्याई भएको छैन, स्कुटर किन्यौ भने दुवैलाई हुन्छ ।’ मरिजाने चोलामा भोलि के हुन्छ के थाहा ! हामीले बेचेको किड्नीले कोही त बाँच्न सक्छ । हामीलाई पनि मनग्य पैसा आउँछ, कि कसो ? परान्ले भनिन्– एउटा बच्चाको लागि अप्रेसन गर्दा त कति पीडा भयो ! यस्तो काम पनि कोही गर्छ, किन चाहियो आईफोन ? किन चाहियो महँगा सुनका गहना ? ग्यारेन्टीवाला गहना पाइन्छ, त्यही लगाउने हो । अहिलेको जमानामा पनि असली सुन कोही लगाउँछ ? किनेर पनि आईफोन कसैले चलाउँछ ? गिफ्ट आयो भनेमात्र चलाउने हो । परान् लाइनमा आएपछि त्यही दिन ती जोडीले जन्मदिन मनाएका थिए ।
अर्को सुपरहिट कहानी पनि तिहारकै माहौलमा सुन्न पाइयो । एक जना युवती रहेछिन्, सरिता (नाम परिवर्तन) । र, उनी क्याम्पसकी नमुना रहेछिन् । मृदु भाषा, मीठो मुस्कान, छरितो ज्यान, चम्किलो चेहरा, आत्मीय व्यवहार, नरिसाउने बानीजस्ता उनका गुणहरु थिए । उनीसँग जो बोल्यो त्यही मोहित हुने क्रम बढिरहेको थियो । त्यसमा कोही गायक थिए, कोही साहित्यकार, कोही कलाकार त कोही पत्रकार । चार जना युवाहरु एकाएक मोहित हुनुको कारणचाहिँ उनको मीठो बोली र बचन नै थियो । सुनिल नाम गरेका एक युवा उनलाई पछ्याउँदै उनको निवाससम्म पुग्थे । उनले पाहुनाको सत्कार गरी सर्बतपानी र खाजा खुवाएर पठाउँथिन् । अर्को उम्मेदवार थिए, भूपेन्द्र जो कलामा निपूर्ण थिए । उनी कलेजमा डान्सका लागि चर्चित भएका थिए । राम्रो हँसिलो भएकाले हिरोको उपाधि पाएका थिए । सरितासँग पनि उनको सम्बन्ध थियो ।
त्यस्तै अर्को उम्मेदवार थिए, कौशल जो नारायणगोपालका गीत कण्ठस्थ गाउँथे । सरिता उनको छेउमा बस्दा उनले घन्टौँ गीत गाइदिन्थे । मानौँ, उनी नजिक भएपछि ती गायकलाई केही चाहिँदैनथ्यो । अर्को आकांक्षी थिए, सुन्दर । उनी साहित्यमा कहलिएका थिए । गीत, गजल लेख्नमा माहिर । सरितासँग जोडिएर उनले एउटा डायरी त गजलले मात्र भरेका थिए । प्रत्यक्षमा त चार जना उम्मेदवार प्रेमी थिए । समानुपातिकमा कति थिए होलान्, कुरै छाडूँ ।
तिनै प्रेमीहरु भेट भएका थिए । यस क्रममा कोही वैदेशिक रोजगारमा थिए, कोही व्यापारी, कोही नेता त कोही शिक्षण पेसामा समर्पित भएका थिए । सबैको भेट संयोगले एकै ठाउँमा भएपछि जलपान कार्यक्रम हुने नै भयो । ती आसक्त सबैले आफ्नो प्रेमलाई प्रमाणित गर्न पिउन बल गरेछन् । ‘निट, निट.. ।
त्यस्तैमा एउटाले भन्यो– ‘हेर जारहरु, सरिता सिर्फ मेरी हो । उसले रगतले लेखेको चिठ्ठी छ मसँग ।’
अर्कोले भन्यो– ‘सरिताको घरमा त म श्राद्धमा समेत गएर खाएको छु । मलाई उसको परिवारले अघोषित ज्वाइँ मानिसक्यो ।’
अर्कोले थप्यो– ‘सरितासँग खिचेको फोटो देखाउने हो भने तिमीहरु ढल्छौ ।’
‘चुप लाग् जारहरु, सरितासँग मेरो ‘फिजिकल’ समेत भइसक्या छ । मोबाइलमा फोटो हेर्छस् ?’– अर्कोले थप्यो ।
चार जना जारहरुले सरिता मेरी हो भनेर रातभरि बहुलाए । जहाँ पिएका थिए, उहीँ सुते । भोलिपल्ट ह्याङ भएर टाउको दुख्दासमेत ‘स…रि…ता,  आ..लभ..यू’ भन्न छाडेनन् ।
तर, विडम्बना ! चार जना प्रेमीलाई चकित हुनेगरी सरिताले विवाह गरी । चारै जनालाई कार्ड पनि पठाई । चारै जना लस्कर लागेर बिहेमा सामेल भए । फर्किंदा उनीहरुले संकल्प गरे– ‘देखेको हुँदैन रहेछ दोस्त, लेखेकै चाहिँदो रहेछ । आऊ, स्याड पार्टी खाऔँ ।’ नशा चढ्दै गएपछि सबैले स्वर मिलाएर भने– ‘वी हेट सरिता । गुडवाई स…रि…ता ।’

Related Posts

साहित्य पुरस्कार डा नवराज लम्साललाई

साहित्य पुरस्कार डा नवराज लम्साललाई

Chitwan Post

समृद्धि [कविता]

Chitwan Post

फूल [लघु कथा]

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
खेलकुद

फागुन २५ गतेदेखि नवलपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका...

Read more
शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Chitwan Post

रामकृष्ण टोलमा श्रेष्ठको नेतृत्व

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In