शिव भुसाल
हालको नेपाली साहित्य बजार उपन्यासको बाढीले प्रताडित छ । विद्यार्थी, पत्रकार, शिक्षक, कलाकार, समाजशास्त्री, प्राध्यापक सबै आख्यानकार बन्ने धुनमा छन् र सबैको मुखमा एउटै नाम झुन्डिएको छ– उपन्यास । हँुदाहुँदा भ्रष्टाचारको मुद्दा परेर जेलमा सजाय काटिरहेका नेताले समेत उपन्यास लेखेको समाचार आएको छ ।
उपन्यासमार्फत नाम, दाम र हल्ला कमाएर सिकारू र बुजु्रग सबै कोटिका लेखकहरु अमर बन्ने धुनमा देखिन्छन् । उपन्यासको यही बाढीमाथि आख्यानकार राजवले तिखो व्यङ्ग्य प्रहार गरेका छन्– आफ्नो उपन्यास ‘बेकारीमा उपन्यास’मार्फत ।
समकालीन नेपाली साहित्यमा राजव एक विशिष्ट नाम हो । विशेषतः कथा लेखनमा राजव सिद्धहस्त मानिन्छन् । कथा लेखनका अलावा कविता, संस्मरण आदि विधामा पनि राजवको उत्तिकै दख्खल रहेको पाइन्छ । तर, उपन्यास लेखनमा भने हिजोका दिनमा कथा लेखनको तुलनामा केही हदसम्म फ्लपझैँ साबित भएका राजव यस पटक आफ्नो यो उपन्यासमा फरक ढंगले प्रस्तुत भएका छन् ।
बहावका हिसाबले यो उपन्यास अरु उपन्यासहरु भन्दा नितान्त फरक छ । नयाँ प्रयोग गर्ने नाउँमा यस उपन्यासमा आफूले कुनै उटपट्याङ नगरेको कुरा राजवले आफ्नो भूमिकामै प्रस्ट पारेका छन् र राजवको यो स्वीकारोक्तिसँग पंक्तिकार पनि सहमत छ ।
सिर्जनात्मक प्रयोगका दृष्टिकोणले पनि यो उपन्यास सर्वथा नयाँ छ । कथावस्तु पनि नयाँ छ । उपन्यास सामान्य कथावस्तुमाथि लेखिएको छ । यसमा गहन विषयवस्तुको उठान गरिएको छैन । विश्वविद्यालयबाट एमए पास एक शैक्षिक बेरोजगार युवक, जो जागिर नपाएर भौँतारिएको छ र जो बेकारीको समय उपन्यास लेखर बिताउन चाहन्छ, उसैको कथा प्रस्तुत गरेका छन्– राजवले ।
उपन्यासलाई छोट्याउँदैमा कदापि कथा बन्न सक्दैन र कथालाई लम्ब्याउँदैमा कदापि उपन्यास बन्न सक्दैन । दुवैको आ–आफ्नो ता¤िवक विशेषता र गुण हुन्छ । केही पाठकहरुलाई राजवको यो उपन्यासमा कथाको ह्याङ्गओभर अझै बाँकी नै रहेको प्रतीत हुन सक्छ । कतिपयलाई अध्ययनका क्रममा यो कृति साँच्चैमा उपन्यास हो वा केवल एक लम्ब्याइएको कथा हो भन्ने कुरामा पनि द्विविधा पर्न सक्छ ।
तैपनि, उपन्यासमा प्रयुक्त संवादहरु जीवन्त र रोचक छन् । तिनमा कुनै कृत्रिमता छैन । तिनमा वास्तविक जीवनको एउटा हदसम्मको यथार्थता लुकेको छ । यसका साथै तिनमा मिश्रित व्यङ्ग्य तथा कटाक्षले पाठकको मस्तिष्कमा तीव्र हास्य चेतना पैदा गर्नेछ र सँगसँगै धीत मार्ने गरी हँसाउनेछ पनि । यो सन्दर्भमा भने राजवको शिल्पकारिताको पंक्तिकार मुग्ध कण्ठले प्रशंसा गर्न चाहन्छ ।
नेपालीबाहेक नेवारी र भोजपुरी भाषा तथा जनजीवनबारे पनि उत्तिकै दख्खल राख्ने राजवले यो उपन्यासमा भोजपुरी भाषाको पनि प्रशस्त प्रयोग गरेका छन् । यसका साथै नेपालको तराई क्षेत्रको भोजपुरी समुदायको जनजीवनको पनि चित्रण गर्न खोजेका छन् । यसले एक कोणबाट आञ्चलिकताको झल्को दिएर उपन्यासलाई झनै सुन्दर बनाउने कार्य गरेको छ भने अर्को कोणबाट भोजपुरी भाषा नजान्ने सिकारू पाठकहरुका लागि भने यो उपन्यास ती प्रसङ्गहरुमा काला अक्षर भैँसीबराबर सावित भएको छ । यसर्थ, त्यस्ता संवादहरुको संख्या केही कम गर्न सकेको भए उपन्यासका सबै प्रसङ्गहरु सबै स्तरका सामान्य पाठकका निम्ति सहज हुनेथियो भन्ने पंक्तिकारको ठहर छ ।
यस उपन्यासमा गम्भीर विषयको छनोट गरिएको छैन । विषय सामान्य भए पनि राजवको यो कथ्य केही हदसम्म नेपाली साहित्य वा भनौँ आख्यानको ह्याङ्ओभरमा रमाएको सम्पूर्ण विश्वसाहित्यको आजको यथार्थ हो । शैली नितान्त नयाँ रहेका कारण नेपाली साहित्य बजारमा हालका दिनमा छ्यापछ्याप्ती छापिएका अन्य उपन्यासहरु भन्दा पृथक् छ– बेकारीमा उपन्यास ।
उपन्यासमा प्रयुक्त भाषा अत्यन्तै सशक्त छ । राजवजस्ता सशक्त कथाकारको कलमबाट यस्तो सिर्जना हुनु नेपाली साहित्यका पाठकका निम्ति कुनै नौलो कुरो पनि भएन । तर, विषयको हिसाबले भन्ने हो भने उपन्यासका लागि यस्तो सामान्य विषय छनोट गर्नु राजवको कमजोरी नै मान्नुपर्छ । राजवजस्ता सशक्त हस्ताक्षरको कलमबाट आशा गरौँ, आगामी दिनहरुमा योभन्दा गम्भीर विषयमा उपन्यासहरु आउनेछन् ।
Discussion about this post