अघिल्लो हप्ता नेपाली साहित्यका अग्रज स्रष्टा जगदीश घिमिरेलाई हामीले गुमाएपछि यस हप्ता अर्का ठूला साहित्यकार भानुभक्त पोखरेलले पनि हामीलाई छोडेर गए । छन्दलाई रुचाउने र लेख्न मन पराउने नेपाली भाषाका गुरुसमेत भनेर आमरूपमा परिचित रहेका पोखरेलको बहिर्गमन नेपाली साहित्यका लागि अपूरणीय क्षतिका रूपमा अघि आएको छ । धेरै वर्षदेखि मधुमेहबाट पीडित रहेका पोखरेलको ७७ वर्षको उमेरमा काठमाडौ“को ओम अस्पतालमा निधन भएको खबरले नेपाली साहित्य अहिले स्तब्ध बन्न पुगेको छ । पूर्वको पा“चथरमा जन्मेर संस्कृतमा साहित्याचार्य र नेपालीमा स्नातकोत्तरसमेत गरेका पोखरेलले खासगरी कविता र समालोचनामा विशेष रूपमा कलम चलाएको पाइन्छ ।
भानुभक्त पोखरेलको लेखनको भाषा फरक प्रकारले निर्मित थियो, जसमा मिठासपनको बाहुल्यता पाइन्थ्यो । उनलाई नेपाली साहित्यका पाठकहरूले विद्वान स्रष्टाका रूपमा हेर्ने गरेको कुरा विभिन्न समालोचकहरूले ठाउ“ठाउ“मा उल्लेख गरेको देखिन्छ । पोखरेलले चालीस दशकको सुरुमै छन्द कवितालाई फल कविता र गद्य कवितालाई मल कविता भनेर एउटा विशेष साहित्य समारोहमा भनेपछि निकै बहस र पछि त्यो सन्दर्भ विवादको घेरामा पनि तानिएको थियो । तर, केही समयको अन्तरालपछि नै उनले गद्य कवितामा प्राप्त हुने शक्ति र मिठासलाई त्यसपछि महसुस गर्ने गरेको सदैव बताउने गर्थे । त्यस्तै, बनारसमा एउटा कविता प्रतियोगिता भएको बेलामा उनले एउटा आफ्नो नामबाट र अर्को भानुमति आत्रेय भन्ने छद्म नाममा पठाएको कविताको कथा अहिले पनि रोचक मानेर पढ्ने गरिन्छ । त्यो बेला छद्म नामको कविता पुरस्कृत भएपछि नया“ नाममा पठाइएको कविताका स्रष्टा पोखरेल स्वयंले त्यो पुरस्कार दाबी नगरेको कुरा उनको जीवनवृत्तका क्रममा बारम्बार उल्लेख भएको पाइन्छ ।
प्राध्यापकीय पद्धति सुदृढ बनाउनका निम्ति उमेरका शक्तिशाली चार दशक खर्च गरे पनि लेखन र प्रकाशनमा उनी कहिल्यै पनि ओझेलमा परेनन् । मोफसलमा रहेर पनि केन्द्रमा बारम्बार हस्तक्षेप गर्न सक्ने हैसियत बनाउने पोखरेलको बहुचर्चित कृति ‘मृत्युञ्जय’ महाकाव्य (२०४७) ले प्रतिष्ठित मदन पुरस्कारसमेत पायो । पोखरेलका अरू पनि धेरै कृतिहरू चर्चित छन्, जसमा ‘राष्ट्रमाता’ (काव्य), ‘बोध शैली र अभिव्यक्ति’ (रचना कौशल), ‘हिमवत्खण्ड’ (महाकाव्य) लगायतका छन् । वि.सं. १९९३ मा जन्मिएका भानुभक्त पोखरेल धेरै संघसंस्थाहरूमा समेत आबद्ध थिए र थुप्रै मान–सम्मानले पनि विभूषित भए । उनले भाषा र साहित्यकै लागि आफ्नो जीवन उत्सर्ग गरेको कुरालाई कम आ“क्न मिल्दैन । यस्ता विशिष्ट साधकलाई हामीले मात्र होइन, राज्यले पनि उचित ढङ्गले स्मरण गर्नुपर्ने देखिन्छ, ताकि उनी नरहे पनि उनको योगदान भावीपुस्ताका लागि समेत प्रेरणा र ऊर्जाको कारण बनोस् ।
Discussion about this post