भरतपुर । तिहारलगत्तै चुनाव प्रचारप्रसार गर्न चितवन आइपुगेका नेपाली काँग्रेसका सभापति सुशील कोइराला शुक्रबार बिहानैदेखि घरदैलो कार्यक्रममा व्यस्त बनेका थिए । सो क्रममा कर्णबहादुर गुरुङ, आशबहादुर लामा, होमबहादुर क्षेत्री लगायतले सहभागिता जनाएका थिए । मंगलपुर क्षेत्रमा घरदैलो सकेर सभापति कोइराला भरतपुर नगरपलिकाका ७, ८ र ९ वडामा घरदैलोका लागि निस्किएका हुन् । उनीसँगै महासमिति सदस्य राजेन्द्र चौधरी, गाउँ सभापति भजन मुडवरी, जिल्ला सदस्य विष्णु क्षेत्री, महिला संघ क्षेत्रीय सभापति राममाया कँडेललगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
पहिलो संविधानसभाको चुनावमा माओवादीले हतियारको भरमा चुनाव जितेको बताउँदै कोइरालाले अहिले काँग्रेसको पक्षमा जनलहर बढेको बताएका छन् । नेपाली काँग्रेस चितवनमा विवाद भएर आफूले चितवनबाट उम्मेदवारी दिएको नभई जिल्ला तहका नेता र कार्यकर्ताको आग्रहअनुसार क्षेत्र नं. ४ बाट चुनाव लडेको बताए । काँग्रेस पहिलो शक्ति नहुँदा संविधान बन्न सक्दैन भन्ने कुरा पहिलो संविधानसभाबाट प्रमाणित भएको भन्दै उनले काँग्रेसले मात्र लोकतान्त्रिक संविधान बनाएर देशको अग्रगामी विकास गर्ने उल्लेख गरे । सोही क्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि एवम् क्षेत्रीय सचिव बलबहादुर परियार, अखिल नेपाल शिक्षक संघका क्षेत्रीय सदस्य गोविन्द दवाडी, राप्रपा नेपालका प्रेमकुमार थापासहित ५० जना काँग्रेसमा प्रवेश गरेका थिए ।
घरदैलो कार्यक्रममा सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । चितवनका पाँचै क्षेत्रका नेता, कार्यकर्ताले चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । क्षेत्र नंं. १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी खैरहनी, बुढ्यौली, सलौली तथा लोथर गाविसका विभिन्न वडाहरुमा घरदैलोमा व्यस्त रहेका छन् । कार्यक्रममा विलमान प्रजाको नेतृत्वमा ४७ जना काँग्रेसमा प्रवेश गरेका छन् । घरदैलोपछि यौरालीटारमा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बुर्लाकोटीले चेपाङ समुदायमा शीपको विकास गरी रोजगारीका लागि आफूले सक्दो पहल गर्ने जनाए । चेपाङ वस्तीमा आवास, मोटरबाटो विस्तार तथा उनीहरुको प्रत्यक्ष जीवनमा सहयोग पुग्ने कार्यक्रम ल्याउने प्रतिवद्धतासमेत उनले जनाएको क्षेत्रीय सभापति राजु सिलवालले जानकारी दिए ।
यस्तै क्षेत्र नं. २ का उम्मेदवार शेषनाथ अधिकारीले पनि आफनो चुनावी अभियानलाई तीव्रता दिएका छन् । शुक्रबार विहानैदेखि घरदैलोमा पुगी चैनपुर गाविस–९ तथा पिठुवा गाविसका मतदाताहरुसँग अन्तक्र्रिया र छलफलमा व्यस्त रहेको सञ्चार संयोजक उतम आचार्यले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका गाउँ कमिटी सचिव भानुभक्त तिवारीको नेतृत्वमा एमाले संगठित सदस्य गोपी भट्टराई, सुसन भट्टसहित ३५ जना काँग्रसमा प्रवेश गरेका थिए । घरदैलोमा क्षेत्रीय सभापति कुमार कार्की, मगर संघका जिल्ला सदस्य दिलबहादुर पुलामी, तरुणका चैनपुर अध्यक्ष नारायण बडुवाल, जनजाति संघ गाउँ इकाइ अध्यक्ष किसन बहादुर गुरुङलगायतले सहभागिता जनाएका छन् ।
उता क्षेत्र नं. ३ का उम्मेदवार भीमबहादुर श्रेष्ठले घरदैलो अभियानका क्रममा भरतपुर ६ मा १५० जना काँग्रस प्रवेश गरेका छन् । भनपा–५ लंकु टाँडीका स्थानीयहरुसँग छलफलमा व्यस्त रहेको जिल्ला सचिव सुनिल श्रेष्ठले जानकारी दिए । घरदैलोमा क्षेत्रीय सभापति प्रमोद श्रेष्ठ, सचिव लक्ष्मण गुरुङ, समाजसेवी दधिराम सापकोटा, बुथ सभापति रेशम कँडेल, युवा परिचालनका सचिव प्रेम पाठकलगायतका नेता तथा कार्यकताहरु सहभागी छन् ।
यसैगरी क्षेत्र नं. ५ की महिला उम्मेदवार सविता बरालले अयोध्यापुरी ९ बाँदरझुलाका मतदाताहरुसंँग छलफल र अन्तक्र्रियासहित चुनावी अभियानमा जुटेकी छन् । कोणसभामा उम्मेदवार बरालले माडीको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै महिला वर्गको हक हितका लागि लडिरहने प्रतिबद्धता जनाएकी छिन् । माडीको बाँदरझुलामा २५ जना काँग्रेसमा प्रवेश गरेको काँग्रेस चितवनका सचिव सुनिलकुमार श्रेष्ठले बताएका छन् । सभामा क्षेत्रीय सचिव सिपी सुवेदी, धु्रवराज अधिकारीलगायतले मन्तव्य राखेको सञ्चार संयोजक दिपक दवाडीले जनाएका छन् ।
Discussion about this post