नारायणगढ । निर्वाचन आयोगले हत्या आरोपमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएका बालकृष्ण ढुङ्गेलको उम्मेदवारी रद्द गरेको छ । एमाओवादी नेता ढुङ्गेललाई ओखलढुंगाका उज्ज्वलकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
एमाओवादीको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेद्वारहरुको बन्द सूचीमा समावेस गरिएका उनलाई निर्वाचन आयोगले अयोग्य घोषित गरेको हो । योसँगै उनको उम्मेदवारीसमेत आयोगले रद्द गरेको छ ।
ढुंगेलसँगै उषा शाहकोसमेत उम्मेदवारी रद्द गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले चितवन पोष्टलाई जानकारी दिए । उनका अनुसार एमाओवादीको बन्द सूचीमा समावेश दुई जनाको उम्मेदवारी रद्द गरिएको छ । आयोगले शाहको उम्मेदवारी किन रद्द गरियो भन्ने खुलाएको छैन ।
ढुंगेलविरूद्ध आयोगमा नेकपा एमालेका तर्फबाट उम्मेदवारको बन्दसूचीमा समावेश रामकुमारी झाँक्रीले आयोगमा उजुरी हालेकी थिइन् । आयोगमा मंसिर ४ गते हुने संविधानसभा सदस्यहरुको निर्वाचनको लागि समानुपातिक प्रणालीअन्तर्गतको उम्मेदवारहरुको बन्द सूचीमा सात जना उम्मेदवारविरूद्ध उजुरी परेको थियो ।
बाँकी पाँच जनाको उम्मेदवारी रद्द गर्नुपर्ने प्रयाप्त कारण नभएको आयोगका प्रवक्ता राईले जानकारी दिए ।
Discussion about this post