ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दीपावली ः दिन र रातलाई जोड्ने पर्व

by चितवन पोष्ट
२०७० कार्तिक १७, आईतवार ०२:१७ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

—    आचार्य लक्ष्मण भण्डारी
तिहारको समय छ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि लिएर कार्तिक शुक्लपक्षको द्वितीय तिथिसम्मको पञ्चदिवसीय कार्यक्रमलाई समग्रमा तिहार भनिन्छ । हामी मनुष्य हौँ । हामी सृष्टिका सर्वश्रेष्ठ प्राणी । आपूmसँगै प्रकृतिका प्रत्येक सिर्जनालाई श्रद्धा गर्नु हाम्रो धर्म हो । हाम्रा पूर्वजहरुभित्र प्रकृतिप्रतिको सम्मान र निष्ठा उच्च थियो । त्यसैले, उनीहरुले ढुङ्गा, माटो, बोटवनस्पति र जीवजनावर सबैलाई सम्मान गर्नुपर्छ भन्ने संस्कार हामीलाई सिकाएर गएका छन् ।
तिहार हाम्रा पूर्वजले हामीलाई सिकाएर गएका यस्ता अनेकौँ संस्कारमध्ये एक हो । तिहार धेरै अर्थ र मह¤व बोकेको पर्व हो । पर्यावरणप्रतिको संवेदनशीलता व्यक्त गर्ने पर्वका रुपमा पनि यस पर्वलाई लिइन्छ । संसारमा सम्भवतः यति समृद्ध र उच्च संस्कृति दोस्रो नहुन सक्दछ । मान्छे उसको संवेदनशीलता, कोमलता र दयाजस्ता आन्तरिक गुणहरुका कारण श्रेष्ठ भएको हो । हाम्रा पूर्वजहरु यति संवेदनशील थिए कि उनीहरुले ढुङ्गोजस्तो अति कठोर जडवस्तुभित्र पनि अर्थ देखे र भगवान् माने ।
कतिपयले भन्ने गर्दछन् ः ‘ढुङ्गोजस्तो प्राणहीन र निर्जीव वस्तुलाई पूजा गर्ने संस्कृतिलाई पनि के संस्कृति भन्ने ? यो त चेतना र बुद्धिहीन परम्परा हो ।’ तर यो संवेदनहीनहरुको प्रतिक्रियासिवाय केही होइन । जोसँग संवेदना छ, कोमल भावना छ, उसले बाहेक कसैले पनि ढुङ्गालाई पूजा गर्दैन । आज मानिस–मानिसका बीचमा पनि मानिस एक्लो बाँचेको छ । वरपर दुःख पाएका थुप्रै मानिसहरु छन्, तर तिनका दुःखमा सहानुभूति व्यक्त गर्ने मानिसको अभाव छ । यो मानिसमा संवेदना हराउनुको उदाहरण हो ।
हाम्रा पूर्वजले ढुङ्गाको पनि अर्थ देखे । कीराफट्याङ्ग्राले पनि हामीलाई कुनै न कुनै रुपले सहयोग पु¥याइरहेका हुनाले तिनको रक्षा गर्नुपर्छ भन्ने चेतना उनीहरुसँग थियो । तुलसी र वरपीपलजस्ता बोटबिरूवालाई पूजा गर्न सुरू गरेपछि बोटबिरूवालाई जथाभावी विनाश गर्ने प्रवृत्ति निरूत्साहित हुन सक्छ भन्ने उनीहरुले बुझेका थिए । तिहारका बेलामा हामीले कुकुर, काग, गाई, गोरू आदिको पूजा गर्दछौँ । यसको अर्थ ‘यी प्राणीहरु कुनै न कुनै रुपले हाम्रा लागि सहयोगी छन् । त्यसैले, यी घृणित होइनन्, पूजनीय छन्’ भन्ने हो ।
कुकुर, काग, गाईजस्ता पशु मनुष्यका लागि मात्र होइन, समग्र प्रकृतिकै अविभाज्य अङ्ग हुन् । पूर्ण प्राकृतिक सन्तुलन कायम गर्नका लागि पनि हामीले हाम्रा वरपर रहेका कीटपतङ्ग, बोटवनस्पति र पशुप्राणीको रक्षा गर्नुपर्दछ भन्नु तिहारमा यिनको पूजा गर्नुको अर्थ हो ।
किन यिनलाई भगवान्को समकक्षमा राखेर पूजा गर्ने गरियो भन्ने प्रश्न पनि गम्भीर छ । हाम्रो मान्यता के छ भने ईश्वर सर्वत्र छन् । संसारमा यस्तो कुनै वस्तु, व्यक्ति र विषय छैन, जहाँ परमेश्वरको उपस्थिति नभएको होस् । ईश्वर यदि सर्वत्र छन् भने माटो र ढुङ्गोमा पनि छन् । यदि ईश्वर सर्वत्र छन् भने कुकुर र कागमा पनि छन् । यदि ईश्वर सर्वत्र छन् भने तुलसी र वरपीपलमा पनि छन् । यो पनि हामीले तिहारमा पशुपक्षी र जीवजनावरको पूजा गर्नुको अर्थ हो ।
संसारमा हामीले व्यर्थ भन्न मिल्ने कुनै पनि चीज, विषय र पदार्थ छैनन् । प्रकृतिले अनावश्यक रुपमा विष पनि पैदा गरेको छैन । हामीले हाम्रो आवश्यकता र औचित्यका आधारमा प्रकृतिमा भएका वनस्पति र पशुप्राणीबाट सहयोग मिल्ने गर्दछ । तर, हाम्रो आवश्यकता मात्रै सबै आवश्यकता होइन । हामीलाई चाहिँदा सबैलाई चाहिने, तर हामीलाई नचाहिँदा कसैलाई पनि नचाहिने भन्ने हुँदैन । हामीले तिहारमा पशुपक्षीलाई उच्च सम्मानका साथ पूजा गर्ने संस्कृतिले हामीभित्रको भावनात्मक व्यापकताको परिचय दिएको छ ।
हामी कति व्यापक रहेछौँ र हाम्रो संस्कार कति संवेदनशील एवम् करुणाप्रधान रहेछ भन्ने कुराको प्रमाण हामीले यतिखेर मनाउँदै गरेको तिहार हो ।
तिहारका बेलामा घरभित्र, बाहिर र वरपर गरिने दीपावली हाम्रो अर्को मह¤वपूर्ण उत्सव हो । हामीसँग यदि ज्ञानको धिपधिपे छ भने औँसीको जस्तो दुःख, पीडा र अज्ञानको जतिसुकै सघन अँध्यारो भए पनि त्यो सजिलै हराएर जान्छ । त्यसैले, उज्यालो बालेर भित्र र बाहिरको अँध्यारो हटाउने प्रयास गरौँ भन्नु दीपावलीको विशेष अर्थ हो ।
गङ्गा नदीको किनारमा एक जना सन्त आश्रम बनाएर बसेका थिए । आदर्श आध्यात्मिक जीवनको नेतृत्व गर्नुबाहेक उनले आफ्ना अनुयायीहरुलाई योग, ध्यान र ज्ञानको शिक्षा पनि दिने गर्दथे ।
एक दिन औँसीको दिन थियो । वरपर चौपट्ट अँध्यारो थियो । सन्तले आफ्ना शिष्यमध्ये एक जनालाई बोलाएर आफ्नो हातमा रहेको किताब दिँदै भने— ‘बाबु, यो किताब भित्र कोठामा लगेर टेबुलमाथि राख ।’
शिष्य भित्र गुरूले दिनुभएको पुस्तक लिएर भित्र कोठामा गयो र आत्तिँदै फर्किएर आयो । ऊ डरले असिनपसिन देखिन्थ्यो । डराउँदै उसले भन्यो— ‘गुरूदेव, भित्र टेबुलनजिकै त अजङ्गको सर्प छ ।’
सन्तले ‘त्यसरी आत्तिन पर्दैन बाबु’ भनेर भने । उनले पुनः निर्देशन दिँदै भने— ‘जाऊ, सर्प भए पनि आत्तिनुपर्दैन । ‘ॐ नमः शिवाय’ भन्ने यो मन्त्र जप्दै जाऊ, तिमी नपुग्दै त्यो सर्प भागिसकेको हुनेछ । चिन्ता नगर, जाऊ ।’
शिष्य ‘ॐ नमः शिवाय’ मन्त्र उच्चारण गर्दै दोस्रो पटक कोठाभित्र छि¥यो । तर, आश्चर्य सर्प त्यहीँ थियो । मन्त्रले कुनै काम गरेको उसले अनुभव गरेन । भयभीत हुँदै, हस्याङफस्याङ गर्दै ऊ फेरि गुरूनजिक आयो र भन्यो— ‘गुरूदेव, खै सर्प त गएकै छैन । जस्ताको त्यस्तै एकै ठाउँमा बसिराखेको छ ।’
‘ठीक छ, यस पटक तिमी हातमा बत्ती लिएर जाऊ । बत्तीको उज्यालो हेर्न नसकी आत्तिएर सर्प आपैmँ भागेर टाढा जानेछ’— गुरूले सम्झाउनुभयो । चेलो हातमा बलिरहेको बत्ती लिएर तेस्रो पटक कोठाभित्र छि¥यो । जसै उसले बत्ती लिएर सर्प भएको ठाउँमा गयो, त्यहाँ त उसले सर्पका ठाउँमा एउटा डोरी देख्यो । सर्पको आकारमा बटारिएर बसेको डोरीलाई पो उसले अहिलेसम्म सर्प मानिरहेको रहेछ । भ्रमवश, उसले डोरीलाई सर्प मानिरहेको रहेछ ।
ऊ फर्कियो र गुरूलाई सर्पका ठाउँमा डोरी रहेको कुरा बतायो । आफ्ना चेलाको प्रतिक्रियाप्रति प्रतिक्रिया जनाउँदै गुरूले गम्भीरताका साथ सम्झाउनुभयो— ‘बाबु, यो समग्र संसार नै यस्तै भ्रमहरुको सञ्जाल हो । सत्य र बोधको उज्यालोमा बाहेक हामी अरु कुनै पनि तरिकाले भ्रमको सञ्जालबाट उम्कन सक्दैनौँ । ज्ञानको दीपक बालेर मात्र हामी सत्य र असत्यको निरुपण गर्न सक्दछौँ । त्यसैले, सधैँ ज्ञानको उज्यालो लिएर अज्ञानको भ्रमबाट मुक्त हुने प्रयास गर्नू ।’
शिष्य भ्रमबाट बोधको यात्रा गर्नका लागि ज्ञानको दीपक अनिवार्य हुँदोरहेछ भन्ने सत्यबोध गरी तदनुसार जीवन रुपान्तरणको प्रयत्न गर्ने सङ्कल्प ग¥यो ।
हामी थुप्रैथुप्रै भ्रमहरुका बीचमा बाँचिरहेका छौँ । ज्ञानको अभावमा हाम्रा अगाडि सर्प डोरी र डोरी सर्प भएर देखा पर्ने गर्दछन् । जसै, ज्ञानका बत्तीहरु बल्न थाल्छन्, हामीले सर्प देखेका डोरीहरुको भयबाट पनि हामी क्रमशः मुक्त हुँदै जान्छौँ । हाम्रो बन्धन र मुक्ति हामीभित्रको ज्ञानको प्रकाशमा निर्धारित हुने गर्दछ ।
अज्ञान नै सम्पूर्ण दुःख र तनावको एक मात्र कारण हो । यही अज्ञानमा नै हामीले गर्न नहुने थुप्रै कुराहरु गरिरहेका हुन्छौँ, गर्नुपर्ने थुप्रै कुराहरु छुटाइरहेका हुन्छौँ । हामीलाई अप्रिय पनि प्र्रिय लाग्दछन्, प्रिय पनि अप्रिय लाग्दछन् । कुरुप विरुप देखिन्छन्, विरुप कुरुप देखिन्छन् । निर्णय क्षमता कमजोर भएर जान्छ । सत्य र असत्यको भेद गर्न नसक्दा कयौँ अपराधका भागीदार बनिरहेका पनि हुन्छौँ ।
अँध्यारोको यात्रा कहिल्यै सुरक्षित र सन्देहमुक्त हुँदैन । गन्तव्य कहाँ हो, थाहा हुँदैन । हिँड्नुपर्ने बाटो नहिँडेर अन्तैअन्तै हिँडिरहने सम्भावना अधिक हुन्छ । अगाडि खाडल हुन सक्छ, भीर र पहराहरु हुन सक्छन् । अजङ्गका जीवजनावरका शिकार हुन पनि सकिन्छ । म ठीक बाटोमा छु कि बेठीक बाटोमा भन्ने सन्देहले कहिल्यै छोड्दैन ।
अँध्यारोले सबै गतिहरुलाई अवरूद्ध गरिदिन्छ । दिनभर जताततै दौडधूप गरिरहेका मानिसहरु पनि रात परेपछि विश्राम गर्दछन्, निदाउँछन् । बाहिर बाटोभरि हिँडिरहेका सबै भित्र पस्दछन्, किनकि रातमा गरिएको यात्रा जोखिमपूर्ण हुन्छ । यदि रातमा कुनै काम गरिनै हालियो भने पनि बत्ती नबालीकन सम्भव छैन, उज्यालो नबनाइकन सम्भव छैन ।
जब सूर्योदय हुन्छ– सुतेका मानिस, पशुप्राणी सबै जाग्दछन् र आ–आफ्ना गन्तव्यतिर लाग्दछन् । उज्यालो भएपछि नै हामी घरबाट बाहिर निस्कन्छौँ र कर्तव्यको यात्रा आरम्भ गर्दछौँ । उज्यालोमा नै हामीले हरेकलाई चिन्न, बुझ्न र जान्न सक्दछौँ । उज्यालोमा नै निर्णय गर्न सकिन्छ, कुनै पनि विषयको यकिन गर्न सकिन्छ, निश्चित गर्न सकिन्छ ।
अँध्यारोमा हामीले केवल अनुमान गर्न सक्दछौँ । हामीले अँध्यारोमा गरेको अनुमान मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । कतै मिलिहाल्यो भने पनि त्यो केवल संयोग मात्र भइदिन्छ । अँध्यारो त्यसैले अनिर्णय, अनिश्चय, अनुमान र अकर्मण्यताको समय हो ।
हामीबाहिरको अँध्यारो त बत्ती बालेपछि हराइहाल्छ, तर भित्रको अँध्यारो कसरी हटाउने होला ? यो अहम् प्रश्न हो । रोग, भोग, शोक, अभाव, चिन्ता, भय र अहङ्कारजस्ता दुर्गुणहरु छन् । प्रेम, करुणा, दया, शान्ति, अहिंसाजस्ता सद्गुणहरु पनि हामीभित्र खचाखच भरिएर रहेका छन् । तर, विवेकको दियालो नबालीकन हामी दुर्गुण र सद्गुणमा फरक छुट्याउन सक्दैनौँ । यसरी फरक छुट्याउन नसक्दा नै हाम्रा लागि सद्गुणहरु दुर्गुण भइरहेका छन् र दुर्गुणहरु सद्गुण भइरहेका छन् ।
जोभित्र विवेकको दीपक प्रज्ज्वलित हुन्छ, उसको जीवन पनि सुन्दर, सभ्य र भव्य हुन्छ । विवेकको उज्यालोमा जब व्यक्तिले ठीक र बेठीकको पहिचान गर्न सक्छ, त्यसपछि उसले ठीकलाई अपनाउन थाल्दछ र बल्ल जीवन समुन्नत हुन्छ । हामीले थुर्पै खान नहुने कुरा खाइरहेका छौँ, बोल्न नहुने शब्द बोलिरहेका छौँ, गर्न नहुने काम गरिरहेका छौँ । हामीले यसो गर्नुका पछाडि हामीभित्र ज्ञानको अभाव हुन हो, विवेकको दियालो नहुनु हो । ज्ञानको उज्यालोबिना अज्ञानको अँध्यारो कहिल्यै हट्न सक्दैन ।
दीपावली त्यसैले, ज्ञानको पर्व हो । अँध्यारोले डम्म औँसीजस्ता रातहरु पनि बत्ती बालेपछि दिनमा बदलिन्छन् । सबैतिर बत्ती बल्दा लाग्दछ, उज्यालोका लागि दिनको प्रतीक्षा गर्नुपर्दैन । दीपावलीका समयमा बालिएका बत्तीहरुका कारण मानिस दिन र रातमा फरक छुट्याउन सक्दैन । उसलाई रात नै दिनजस्तो लाग्दछ र दिन नै रातजस्तो लाग्दछ । जब ज्ञानका अनेक दीपहरुले मन उज्यालिन्छ, त्यसपछि हामीलाई दिन र रात उस्तै लाग्न थाल्दछन् । दिन र रातको विभेद पनि मेटिएर जान्छ । हरेक रातहरु दिनमा बदलिन्छन् । व्यक्ति सदा प्रसन्न रहन्छ ।
तिहारका समयमा जताततै बत्ती बालेर हामीले घर, आँगन र गल्लीहरुसँगै मनलाई पनि उज्यालो बनाइरहेका हुन्छौँ । हामीभित्र अज्ञानको घना अँध्यारो छ, औँसीजस्तो रात छ । त्यसलाई ज्ञानका अनेक दीप प्रज्ज्वलित गरी लखेट्नुछ, टाढा भगाउनुछ । दीपावलीमा बाहिर बालिएका बत्तीहरु आन्तरिक उज्यालोका बिम्बहरु हुन्, अन्तस्करणको आनन्दका प्रतीकहरु हुन् । बाहिर बलेका बत्तीहरुले बाहिरका अप्ठ्याराहरु समाप्त पारेजस्तै हामीले पनि भित्र ज्ञानको ज्योति बालेर दुःख, दारिद्र्य, अभाव र अप्ठ्याराहरुलाई समाप्त पार्नुछ ।
बाहिर बलेका बत्तीहरुको उज्यालोले हामीभित्रको अँध्यारो हटाउन सक्दैनन् । ती त हाम्रा उत्प्रेरक मात्र हुन्, समाधान होइनन् । बाहिर बलेका दीपकहरुबाट प्रेरित भई भित्र पनि दीपावली गर्न सक्नुपर्दछ भन्नु दीपावलीको विज्ञान हो । जुन दिन हामी अन्तस्करणमा ज्ञानका अनेक दीपकहरु बाल्ने छौँ, त्यसदिन भित्र र बाहिर सबैतिर एकसाथ उज्यालो हुनेछ । बाहिर बलेका दीपकहरु त निभ्न सक्छन्, तर हामीले स्वयम्भित्र बालेका ज्ञानका असङ्ख्य दीप कहिल्यै निभ्नेवाला छैनन् । ती त अखण्ड बलिरहने छन्, र हामीबाट कहिल्यै नफर्कने गरी अँध्यारोलाई बिदाइ गर्नेछन् ।
ज्ञानी र जागृत मान्छेलाई कुनै पनि दुःख, पीडा र अप्ठ्याराहरुले त्यसैले छुन नसक्ने हुन् । त्यसैले, दीपावलीमा बालेका हाम्रा बत्तीहरुको ध्यान गर्दागर्दै हामीभित्र पनि ज्ञानको उज्यालो बल्न थाल्दछ । जब अन्तस्करणमा दीपावली हुन्छ, सबै दुःखहरु सुखमा बदलिन्छन्, अशान्तिहरु शान्तिमा बदलिन्छन् र घृणाहरुले पनि प्रेमको उचाइ प्राप्त गर्दछन् ।
दीपावली हामीभित्र प्रवेश गरेर आपूmलाई हेर्ने पर्व पनि हो । बाहिर बत्ती बालेपछि जे–जे छन्, ती विषयवस्तु देखिएजस्तै भित्रको बत्ती बालेपछि पनि हामीभित्रका अनेक राम्रा–नराम्रा विषयहरु देखिन्छन् । त्यसपछि हामी नराम्रालाई छोडेर राम्राका पछि लाग्छौँ । त्यसैले, दीपावली स्वयम् दर्शनको पर्व पनि हो । हामी दिन र रातलाई अलग–अलग गरेर विश्लेषण गर्न सिपालु छौँ । हामीले दिन र रातलाई जहिलेसम्म अलग बनाइरहने छौँ, तबसम्म हामीभित्र ज्ञानको आलोक पैदा भएको छैन भन्ने कुरा स्पष्ट हुन्छ । अन्तस्करणभित्र ज्ञानको दीपक बलेका हरुका लागि दिन र रात एउटै लाग्दछन् । हामीले दीपावली गर्नुको अर्थ दुःख र सुखको विभेद मेट्नु हो । ज्ञानको उच्चतम अवस्थामा पुगेका मनीषिका लागि दुःख र सुख, प्राप्ति र अप्राप्ति, भाव र अभाव अनि दिन र रात उस्तै लाग्दछन्, फरक होइन । त्यसैले, दीपावली दिन र रातलाई टुक््रयाउने पर्व होइन, जोड्ने पर्व हो । दिन र रातलाई ज्ञानको उज्यालोभित्र एकैसाथ समेट्ने पर्व हो ।
त्यसैले आउनुस्, गरौँ धुमधामका साथ दीपावली । मनभित्र र बाहिर चारैतिर प्रशस्त बत्ती बालेर उज्यालो बनाई भित्र पनि त्यसरी नै उज्यालिने प्रयास गरौँ । भित्र अँध्यारो लिएर बाहिर उज्यालिनुको कुनै अर्थ छैन । तपाईंसँग दुःखहरु छन् भने र छन् भने अगणित गुनासाहरु, तपाईंलाई दिन पनि रातजस्तो लाग्न थाल्छ । बाहिरको झलमलमा पनि तपाईं अलमलमा पर्नुहुन्छ । आज यही त भएको छ । बाहिर अनेक बत्तीहरु बलिरहेर पनि मानिसभित्र अज्ञानको अँध्यारो डम्म छ । यसपटक भने साँच्चै बाहिरजस्तै भित्र पनि उज्यालिने प्रयत्न गरौँ । दीपावलीको विज्ञानलाई आत्मसात् गर्ने प्रयत्न गरौँ ।

Related Posts

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In