समाचार विश्लेषणः चितवनमा ११० हार्ने निर्वाचन

अन‌ि यो पनि

विधुर ढकाल
नारायणगढ । मंसिर ४ गते हुने संविधानसभा सदस्य निर्वाचनको लागि यतिबेला दल तथा उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उनीहरु निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।
चितवनबाट संविधानसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमार्फत् आगामी मंसिर ४ पछि बन्ने संविधानसभामा प्रतिनिधित्व गर्ने छन् । तर, यसपटक यो मैदानमा ११५ जना संविधानसभा सदस्य बन्ने महत्वकांक्षासहित चुनावी मैदानमा छन् । यीमध्ये ११० जना हार्ने निश्चित छ । तर, ११५ जना नै संविधानसभाको निर्वाचनमार्फत् विजयी भएर संविधानमा आफ्नो हस्ताक्षर दर्ज गराउने दावी गरिरहेका छन् ।
अहिले चितवनका पाँच क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचनका लागि राजनीतिमा आफ्नो उच्च स्थान बनाएकादेखि राज्यको मुलधारबाट निकै टाढा रहेका सिमान्तकृत चेपाङ समुदायका प्रतिनिधिसमेत निर्वाचनको दौडमा छन् । चितवनको क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका केन्द्रीय सभापति सुशील कोइरालासँगै राजनीतिका केन्द्रीय नेतृत्वमा आफ्नो स्थान बनाइरहेका एमाओवादीका नेता तथा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाओवादीका केन्द्रीय सदस्यद्वय नारायण दाहाल, चित्रबहादुर श्रेष्ठ, राप्रपाका महामन्त्री विक्रम पाण्डेसहित संघीय समाजवादी पार्टीका तर्फबाट विपन्न चेपाङ समुदायका डम्बरबहादुर चेपाङ, जनजागरण पार्टीबाट सूर्यबहादुर प्रजा र राजकुमार प्रजा चुनावी भिडन्तमा होमिएका छन् ।
२०६४ साल चैत २८ गते भएको अघिल्लो संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये अधिकांश नयाँ अनुहारका छन् । काँग्रेस सभापति कोइराला, एमाले नेता सुरेन्द्र पाण्डे एमालेकै तर्फबाट कृष्ण खनाल, कृष्णभक्त पोखरेल र दानबहादुर चौधरी पनि यसपटक नयाँ अनुहार हुन् । एमालेबाट एकजना दीलकुमारी रावल  पार्वती रावल) भने पुरानै अनुहारका हुन् । एनेकपा माओवादीबाट क्षेत्र नं. १ मा यमबहादुर परियार र २ मा विश्वभक्त दुलाल‘आहुति’ पनि नयाँ छन् ।
गत संविधानसभाको निर्वाचनमा काँग्रेसबाट लडेका पुराना अनुहार यसपटक चुनावी मैदानमा छैनन् । सबै नयाँ अनुहार छन् । यसपटकको संविधानसभाको निर्वाचनमा सबैको ध्यान चितवन क्षेत्र नं. ४ मा केन्द्रित भएको छ जहाँ नेपाली काँग्रेसका केन्द्रीय सभापति कोइरालाको उम्मेदवारी परेको छ ।
केन्द्रीय नेतृत्व उठेको हुनाले काँग्रेसले आफ्नो पक्षमा नयाँ माहोल बनेको भन्दै सबै क्षेत्रमा विजयी हुने उद्घोष गरेको छ । सभापति कोइरालाले नै चितवनमा एक साता लामो घरदैलो कार्यक्रममा पटक–पटक यस्तो दावी गर्दै आएका छन् ।
तर, उनलाई नै संविधानसभाको निर्वाचनमा आफ्ना काँग्रेसका पुराना कार्यकर्ता पूर्वजिल्ला सभापति विकास कोइराला चुनौतीको रुपमा खडा भएका छन् । उनले कोइरालाको मत काट्ने सम्भावना रहेको बताइन्छ । अघिल्लो संविधानसभाको निर्वाचनमा ५ हजार ८५२ मतले एकीकृत नेकपा माओवादीसँग पछि परेको नेपाली काँग्रेसले सभापति कोइरालालाई जिताउन कठोर मेहनत गर्नुपर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा एमाओवादी नेता चित्रबहादुर श्रेष्ठले २३ हजार ९४२ मत लिएका थिए । त्यस्तै काँग्रेसका टेकप्रसाद गुरुङले १८ हजार ९० मत नेकपा एमालेकी दिलकुमारी (पार्वती) रावलले ६ हजार १४० मत ल्याएकी थिइन् ।
यता यही क्षेत्रबाट संविधानसभा सदस्यमा विजयी भएका एनेकपा माओवादीका नेता श्रेष्ठले पाँच हजार मत अन्तरले विजयी भएको स्थान भएकोले उनलाई केही सहज हुने देखिन्छ । तर, एमाओवादी फुटको असरले उनले पाउने मतमा समेत ग्यारेन्टी छैन् ।
यता नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी रावलले आफूले सुशील कोइरालालाई जित्ने उदघोष गरेकी छिन् । एकीकृत नेकपा माओवादीसँग जनता रुष्ट भएको अवस्थामा माओवादीको भोट काट्दै आफ्नो पक्षमा पार्न र काँग्रेसको भोट विकास कोइरालाले काट्दा उनको जीतको झिनो आशा भने कायम छ । यदि त्यस्तो भए उनी अघिल्लो संविधानसभाको निर्वाचनमा तत्कालीन एमाले महासचिव माधव नेपाललाई हराउने एमाओवादीका झक्कु सुवेदी र स्वतन्त्र उम्मेदवार बबन सिंह भन्दा अझमाथि चर्चा हुनेछ । यो मौका रावलले कतिको उपयोग गर्न सक्छिन त्यो भने परिणामले नै बताउने छ ।
गत संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ मा विजयी बनेको एमालले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उठाएर आफ्नो उपस्थिति दह्रो बनाउन खोजेको छ । अघिल्लो निर्वाचनमा एमाओवादीलाई तीन हजार ७२२ मतले पछाडि पारेर एमालेका लालमणि चौधरी निर्वाचित भएका थिए । अघिल्लो पटक चौधरीले १७ हजार ९७१ मत पाएको स्थानमा १४ हजार २४९ मतमात्र एमाओवादीले पाएको थियो । त्यस्तै काँग्रेसले ८ हजार ६८८ मत पाएको थियो । यो अवस्थालाई हेर्दा एमालेका नेता पाण्डेको जित सहज हुने देखिन्छ ।
यद्यपि निर्वाचनको लागि उम्मेदवारी दर्ताको समयमा देखिएको विवादको प्रभाव भने पर्नेछ । यता एमाओवादीबाट उठेकी शोभा कट्टेल नेकपा–माओवादीमा गएको अवस्थामा उसलाई यो क्षेत्र जोगाउन हम्मे–हम्मे पर्ने देखिन्छ । यता अघिल्लो निर्वाचनमा एमालेभन्दा कम मत पाएको काँग्रेसलाई यस क्षेत्रमा विजय हासिल गर्न सो पार्टीबाट उम्मेदवार बनेका राजेन्द्र बुर्लाकोटीलाई त्यति सहज छैन् । तर, उनी स्थानीय रुपमा लोकप्रिय रहेको तथ्यलाई भने नकार्न सकिँदैन ।
त्यस्तै क्षेत्र नं. २ मा अघिल्लो पटक तत्कालीन नेकपा माओवादीका रामबहादुर थापा विजयी भएका थिए । उनी अहिले नेकपा–माओवादीमा छन् । यसको प्रभाव एमाओवादीमा पर्ने देखिन्छ । यो क्षेत्रमा अघिल्लो पटक बादलले २१ हजार ४०९ मत लिएर काँग्रेसलाई ८ हजार ४०० मतले पछाडि पारेका थिए । नेपाली काँग्रेसका एकनाथ रानाभाटले १३ हजार ९ र नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ११ हजार ३१२ मत लिएका पाएका थिए ।
अहिले एमाओवादीको तर्फबाट कुनै पनि विवादमा नपरेका दलित नेता विश्वभक्त दुलाल ‘आहुती’ उठेका छन् । त्यस्तै काँग्रेसबाट राजनीतिक रुपमा परिपक्क शेषनाथ अधिकारी र एमालेबाट कृष्णप्रसाद खनाल उठेका छन् । यो क्षेत्रमा फुटको प्रभाव एमाओवादीलाई पर्ने देखिए पनि विवादमा नआएका आहुतीको पक्षमा आम फुटेर गएका कार्यकर्ताहरुको समेत मत प्राप्त हुने सम्भावना छ । त्यस्तै यही क्षेत्रमा एमाओवादी पूर्वलडाकुहरुको बस्ती बसेको अवस्थाले गर्दा जित सहज देखिन्छ । तर, माओवादी फुटका कारण अधिकारीले पनि जित्ने अवस्था विद्यमान छ । तर,  जितका लागि ठूलै कसरत आवश्यक पर्ने अवस्था छ ।
क्षेत्र नं. ३ ठूलो क्षेत्र हो । यस क्षेत्रबाट एमाओवादीका पुराना उम्मेदवार नारायण दाहालको पुनः उम्मेदवारी छ । काँग्रेस र एमालेबाट नयाँ अनुहार आएका छन् । अघिल्लो चुनावमा उनले काँग्रेसकी मैयादेवी श्रेष्ठलाई १७ हजार ८०४ मत ल्याइ ६ हजार २ मतले पछाडि पारेका थिए । यो शहरी क्षेत्र भएकोले यहाँको मत निश्चित नहुँदा उनले त्यसैलाई निरन्तरता दिन्छन् भन्ने छैन् । तर, उनले आफ्नो मत बहिस्कार गरिने मतलाई छाडेर आफ्नो मत जोगाउन सजिलो छैन् । यो क्षेत्रमा उम्मेदवारी दिएका एमालेका जिल्ला उपाध्यक्ष कृष्णभक्त पोखरेलको पनि उत्तिकै प्रभाव देखिन्छ । तर, उनलाई जितको लागि ठूलै कसरत गर्नुपर्ने देखिएको छ ।
यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा काँग्रेसले ११ हजार ८०२ र एमालले ८६९० मत लिएका पाएका थिए । अघिल्लो निर्वाचनमा आधाले पछाडि परेको पार्टीलाई एक नम्बरमा पु¥याउनु उनको लागि फलामको चिउरा चपाउनु बराबर हो । त्यस्तै काँग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठले आफ्नो पुरानो मत कायम राख्दै एमाओवादी फुटको फाइदा उठाएमा जित निश्चित हुने देखिन्छ ।
चितवनको ५ नं. क्षेत्रमा तत्कालीन राष्ट्रिय जनमोर्चाका नेता अमिक शेरचनले जितेका थिए । माओवादीको समर्थनमा उनले जिते पनि निर्वाचन जितेपछि माडीका जनताको अपेक्षा पूरा गराउन नसकेका कारण उनलाई यसपटक गाह्रो पर्ने देखिन्छ । उनलाई बाँदरमुढे घटनाले प्रभावित पार्ने देखिएको छ । उनले अघिल्लोपटक १४ हजार ३९७ मत ल्याँउदा एमालेका विजय सुवेदीले १० हजार १२ र काँग्रेसका नारायण शर्माले ६८०५ मत ल्याएका थिए । यही अवस्थामा एमालेले माओवादी फुटको फाइदा लिँदैँ आफ्नो सिट स्थापित गर्ने सम्भावना देखिन्छ । त्यस्तै यहाँ राप्रपाका महामन्त्री विक्रम पाण्डेको पनि उत्तिकै चर्चा छ । उनको चर्चा यसपटक शक्तिशाली रुपमा देखिएको छ । बाहिरी प्रभावले उनको जितलाई आँकलन गर्न नसकिए पनि यस क्षेत्रमा यसै भन्न सकिने अवस्था भने छैन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया