नेताका अभिनय जात्रा र इन्टरभ्यू

अन‌ि यो पनि

-केशव भट्टराई
kewshab bhattaraiभनिन्छ, हरेक मान्छे आफैँमा एउटा कलाकार हो । आफ्नो जीवनकालभरि अभिनय गर्दागर्दै कथा पनि टुङ्गिन्छ । अभिनय गर्ने भूमिका पनि सकिन्छ । आफ्नो स्वभाव र चरित्रअनुसार नायक, नायिका, खलनायक, जोकरजस्ता भूमिका निभाउनुपर्छ । त्यसैले हरेकको जिन्दगी एउटा चलचित्रको कथाजस्तै हो । सम्पूर्ण तर, नटुंगिएको कहानी । जन्मिएको दिनबाटै हेरौँ न, हामीले कति अभिनय निभाउँदै आएका छौँ, चाहेर वा नचाहेर, रहरले व बाध्यताले ।
समय–समयमा कति कलाकारहरुले तपाईंका गाउँसहरमा अभिनय गरे होलान् । छायांकनको दौरानमा भाँतीभाँतीका कलाकारहरुसँग ठक्कर खानु भो होला । कति कलाकारसँग टाँसिएर फोटो खिच्ने रहर पनि जाग्यो होला । नायकनायिकसँग गफै मात्र गर्दा पनि मनमा उमङ्ग छायो होला । अझ आफूलाई मन पर्ने कलाकारले अटोग्राफ दिँदा त छाती नै खोलेर लिऊँलिऊँजस्तो भयो होला । कलाकारहरु राष्ट्रका अमूल्य गहना हुन् । कलाकार सबैका ‘फ्यान’ हुन्छन् । सबै जना कलाकारसँग ‘फिदा’ हुन्छन् । तर, कलाविहीन कलाकारले तपाईंका घरगाउँमा अभिनय गरे भने तपाईं हामीलाई केको स्वाद ? केको रौनक ? उही झूर कथा, झूर अभिनय ।
अहिले उम्मेदवारहरुलाई चलचित्रका कलाकारजसरी प्रस्तुत गर्दै घरदैलोमा अभिनय गराउँदा यस्तो लाग्छ– मानौँ, चलचित्र छायांकन भइरहेछ ‘संविधानसभा’ नामको । नाटक मञ्चन भइरहेछ, ‘संविधान’ निर्माणको । तपाईंहरुको घरदैलोमा नमीठो अभिनय गर्दै ती कलाकारहरुको युनिट आइसक्यो होला, नभए आउँदै होला । यस्ता कलाकारहरु प्रायः एउटै ‘डायलग’ दिन्छन् । त्यो डायलग लगभग पाँच दशक पुरानै हो । जन्ती पारामा घरदैलोमा जाने, नमस्कार गर्ने, आश्वासनको पोको बाँड्ने र फर्किने । नेताले गाउँका मुख्य समस्या, मतदाताको विचार बुझ्ने, आफ्नो पार्टीको स्पष्ट उद्देश्यसहित भोट माग्नुको साटो अभिनय प्रदर्शन भइरहेको छ । भाषण सुन्दा त हार्ने नेता कोही पनि भेटिँदैन । सबै जित्ने ‘कलाविहीन’ उम्मेदवार । अभिनयमा रटान भएका कतिपय कुरा यहाँ प्रस्तुत गरिएको छ ।
हाम्रो पार्टीलाई दुई तिहाई बहुमत दिए संविधान बन्छ, अर्थात् (मत नदिए हाम्रो जागिर मात्र पाक्छ), जनमुखी संविधानका लागि हाम्रो पार्टीलाई बहुमत दिए विकास हुन्छ, (बहुमत नदिए हामी विनासको बाटो रोज्छौँ ।) बहुमतका लागि हामीलाई कुनै शक्तिले छेक्न सक्दैन । (हामी बुथ क्याप्चर गरेरै भए पनि बहुमत पु¥याउँछौँ), ठूला दलले विश्वास गुमाए अब हामीलाई ठूलो दल बनाइदिनु प¥यो । (ठूला मात्रले कति खाने, हामीले पनि चाख्न पाउनु प¥यो) मेरो जित सुनिश्चित छ, घोषणा हुनमात्रै बाँकी (मानौँ, सबै उम्मेदवारले आफ्नै प्रचारमा सघाइरहेका छन् ।), मलाई भोट दिए हातहातमा लाजपुर्जा हुनेछ । (जग्गाचाहिँ होइन ।), हाम्रो पार्टीमा जनलहर बढेको छ (लहरचाहिँ बढेको छ, भोट खस्ने ग्यारेन्टी छैन ।), म विपन्न र गरिब पार्टीको उम्मेदवार हुँ (गरिब पार्टीको धनी उम्मेदवार), हामीले सरकारको नेतृत्व गर्न ग¥यौँ भने सीमा अतिक्रमणको श्रृंखला रोकिने छ–किनकि, हामी अतिक्रमणकारीकै नागरिक हुनेछौँ), हामीले जित्यौँ भने बेरोजगारी समस्या सुल्झाउँछौँ (युवाशक्तिलाई एनआरएनएको सदस्यता दिलाइदिन्छौँ), जनमतसंग्रहबाट भए पनि संविधान दिन्छौँ, अर्थात् (बहुमत कसैको पनि आउँदैन, संविधान बन्दैन, ङिच्च दाँत देखाएर जनमतसंग्रहमा जान्छौँँ । त्यसपछि ०४७ कै संविधान संशोधन गर्छौं अनि जारी गर्छौं) मुलुकलाई लोकतान्त्रिक, गणतान्त्रिक, राजतान्त्रिक के–कस्तो संविधान दिने भन्ने निक्र्यौल नगरी कलाकार मात्र मैदानमा उतारिएको छ । नृत्य त गर्ने तर कस्तो गर्ने, स्वयं उम्मेदवारलाई थाहा छैन ।
जनता झुक्याउने, प्रतिस्पर्धा गरेजस्तो गर्ने र मिलेर खाने धन्दामा कति बिचराहरु उफ्रेका छन् । कति नाचिरहेका छन् । राष्ट्रहितकै लागि राजनीति गर्ने साँच्चैका नेता यो मुलुकमा रहेका भए समानुपातिक प्रणाली हटाएर २४० क्षेत्रमा चुनाव गर्न सक्नुपथ्र्यो । अनुभवमा खारिएका भए (पढे), लेखेकाले नेतृत्व गरेका भए, अभिनयमा पनि निखारपन आउँथ्यो । सुपर फ्लप कलाकारले जनतालार्ई प्रयोग गर्ने काममा यसपालि पनि सफल भए । संविधान बन्ने ग्यारेन्टीबिनाको यो चुनावी रन्को, यो गरमागर्मी, यो लोकाचार, प्रतिस्पर्धा, यो स्वघोषित विजय, यो ताँती, लर्को, लस्कर, झुन्ड र सस्तो नमस्कार सबै बेकार हुन् । सबैलाई दुई तिहाई चाहिने । दुई तिहाई नभए संविधान नबन्ने । अनि उही श्रृंखला संविधानसभा–भाग १ कै निरन्तरता ।
यस्ता कुरा लेखिरहँदा संविधानविरोधी त¤वको आरोप पनि लाग्न सक्छ । नेताहरुले आफैँ ढुक्क नभइकन चुनावको अभिनय गरिरहेका छन् । यिनीहरुलाई राम्रोसँग थाहा छ कि जनतालाई कहिलेसम्म ढाँट्ने, कुन अभिनय गरेर फकाउने, कति बहानाबाजी गरेर झुक्याउने । इमानदारिताका साथ संविधान बनाउने हो भने ६ महिनाको अवधि काफी हुन्छ । तर, यतिविध्न खर्च गरेर अभिनय गरेको ६ महिनालाई मात्र होइन । यसपालि पनि जागिर खानकै लागि यो अभिनय जात्रा होइन भने केचाहिँ हो ? स्पष्ट पारिदिन म पाठकहरुमा अनुरोध गर्दछु ।
यस्ता तमासा देख्दादेख्दा दिक्क पनि लागेर आउँछ । संसदीय निर्वाचनमा जस्तो यस्तो र उस्तो गरिदिन्छु भनेर फलाकेको देख्दा आफैँलाई लाज लागेर आउँछ । अझ चकित त केमा पर्छु भने, साना दलका ठूला नेताले पनि ठूलाठूला आश्वासन दिएको देखेर मलाई भित्रैदेखि खित्का छाडेर हाँसो उठ्छ । चुनाव सकिएपछि आफैँ कुन दुलोमा पस्ने हो, थाहा छैन ! अहिले भने आकास–पाताल छुने गफ दिएको पाइन्छ ।
खुकुरी पार्टीका एक जना उम्मेदवारसँग भर्खरै मात्र भेट भएको थियो । उनीसँग यसो गफिने मौका पाएको थिएँ । रातदिन चुनावी प्रचारमा हिँड्ने ती उम्मेदवारसँग भेट गर्न ठूलै कसरत गर्नु परेको थियो । मातृ पार्टीले उनको योगदानको कदर नगरेकाले उनले खुकुरी पार्टी खोलेका रहेछन् । चुनावचिन्ह के राख्ने भनेर खोज्दै जाँदा उनको भागमा ‘बोतल’ चिन्ह परेछ । पार्टीअनुसारको चुनावचिन्ह पनि मिल्ने खालकै भएकाले उनले यसैमा चित्त बुझाएका रहेछन् । खुकुरी पार्टीका आफैँ नेता, आफैँ कार्यकर्ता र आफैँ उम्मेदवार (मतदाता…?) भएका उनीसँग फुर्सदका कुराका लागि मैले उनीसँग केही प्रश्नहरु गरेको थिएँ । पढ्नुहोस् जस्ताको तस्तै ः
१. तपाईंको उम्मेदवारीले खासमा के अर्थ राख्छ ?
–    चुनावमा साना–ठूला सबै पार्टीको उम्मेदवारीले अर्थ राख्छ । यो प्रश्न सोधाइमा नै गम्भीर त्रुटि छ । खासमा मेरो उम्मेदवारी सबै नेताहरुलाई अनुशासन र सबक सिकाउनका लागि हो ।
२. चुनाव जित्ने ग्यारेन्टी के छ ?
–    हेर्नुस्, नेपालमा न केही कुराको ग्यारेन्टी छ, न त असम्भव नै । म युवा हुँ, युवाको मत पाउँछु । म मह¤वाकांक्षी पनि छु, मह¤वाकांक्षा राख्ने सबैले बोतलमै भोट हाल्छन् ।
३. चुनावचिन्ह पनि बोतल नै राख्नुको अभिप्राय के हो ?
–    आधुनिक जमानामा पनि कमजोर चिन्ह राख्ने हो र ? खुकुरी पार्टी आफैँमा खतरा पार्टी हो । यसको चुनावचिन्ह ‘बोतल’ सम्पूर्ण युवाहरुलाई प्रतिनिधित्व गर्ने र चाहिने कुरा हो ।
४. चुनावी अभियानचाहिँ कस्तो छ नि ?
–    अभियान तीव्र छ । कार्यकर्ता भेटघाट रातभर जारी छ । अरु घरदैलोमा गएर फोस्रो आश्वासन दिन्छन्, म होटल तथा रेस्टुरेन्टहरुमा टन्न खुवाउँछु । बोतलमा छाप लगाउन बोतलकै लगानी गर्नुपर्छ ।
५. खुबै लगानी गर्नुभएजस्तो छ, यत्रो लगानीको स्रोत के हो ?
–    चुनावमा उम्मेदवार हुने र पार्टी नै हाँक्ने मान्छेलाई लगानीको कुनै चिन्ता हुन्छ ? म यसै पनि काजी खानदानको मान्छे हुँ । आफूले कमाउन नसके पनि बाबुबाजेले जोडेको करोडौँको जायजेथा छ मेरो । फेरि मेरा लागि २÷४ करोड खर्च जुटाइदिने थुपै्र शुभेच्छुकहरु छन् ।
६. तपाईंलाई कसैले उचालेको, परिचालन गरेको आरोप छ नि, यसमा के भन्नुहुन्छ ?
–    म कसैले उचालेर उचालिने मान्छे होइन । सल्लाह, सुझाब दिने अग्रज नेताहरु हुनुहुन्छ । उहाँहरुको कुरा म मान्छु ।
७. यतिधेरै खर्च गरिरहनुभएको छ, आचारसंहिताविपरीत हुँदैन यो ?
–    भट्टीमा बसेर खर्च गरेको हो । सडकमा होइन, समाजमा होइन । कसैले उल्लंघनको कुरा उठायो भने उसैले बोतल खान्छ ।
८. भनेपछि तपाईं चुनाव जित्न जे पनि गर्नुहुन्छ ?
–    चुनाव जित्न सबैले सकेको गर्छन् । म पनि गर्छु । चुनाव भनेकै साम, दाम, दण्ड, भेदको खेल हो । शान्तिको सन्देश बाँडेर चुनाव जितिँदैन ।
९. तपाईंले चुनाव जितिहाल्नुभयो भने के गर्नुहुन्छ ?
–    फेरि गलत प्रश्न सोध्नुभयो । म शतप्रतिशत जित्ने उम्मेदवार हुँ । परिणाम घोषणा हुनमात्र बाँकी हो । जनलहर मेरै पक्षमा छ ।
१०. तपाईंले गर्ने पहिलो काम के हो ?
–    म काम गर्ने मान्छे होइन, गराउने मान्छे हुँ । संविधान बनाउने मान्छे होइन, बनाउन लगाउने प्रतिनिधि हुँ ।
११. तपाईंले उम्मेदवारी फिर्ता गर्नुहुन्छ भन्ने आरोप छ नि ?
–    कसले भन्यो तपाईंलाई ? बुझेर मात्र मसँग कुरा गर्नोस्, नत्र… बोतल पनि खान सक्नुहुन्छ । बरू तपाईं मेरो प्रेस प्रतिनिधि बन्नुस् । पैसा पनि हुन्छ । पार्टी पनि खान पाइन्छ । मेरो प्रचारप्रसार गर्नुस् । अपडेट गर्नुस् । अर्थात, खुकुरी पार्टीका पत्रकार बन्नुस् । यसैमा तपाईंको पत्रकारिताको भविष्य छ, मान छ, इज्जत छ । पार्टी पत्रकारिता नगरी त तपाईं बाँच्न पनि सक्नुहुन्न, बुझ्नु भो ?
१२. चुनावमा तपाईंलाई अग्रिम शुभकामना ।
–    धन्यवाद भाइ । मेरो कुरा ध्यान दिएर विचार गर्नुहोला ।
खुकुरी पार्टीको ताजा कुराकानी सकेर सोही पार्टीको रात्रि पार्टी खाएर फर्केपछि रातभर निदाउन पनि सकिनँ । अहिले माहोल पनि खुकुरी पार्टीकै छ । चर्चा पनि उत्तिकै छ । पार्टी पत्रकारिताको होड बढिरहेका बेला म पनि खुकुरी पार्टीका नेताको प्रेस प्रतिनिधि बन्नुपर्छ कि क्या हो ? अवसर आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन भन्छन्…!?

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया