-एकल सिलवाल
नवलपरासी जिल्लाको पूर्वी छेउ अर्थात् चितवनको पश्चिमी छिमेकी गाउँ हो, गैँडाकोट । यो गाउँ अहिले नगरोन्मुख अवस्थामा छ । उद्योगधन्दा र कलकारखानाका कोलोनीहरु कतै चालू र कतै भग्नावशेष भएर छरिएका छन् । सामाजिक सेवामा देशकै अब्बल संघसंस्थाहरुको संग्रहालयले यो सानो समथर इलाका झकिझकाउ छ । अस्ति भर्खरसम्म मरूभूमिसरह सुख्खा यो गाउँ एकाएक कसरी स्वप्नभूमि झैँ सुन्दर नगरी बनेछ, त्यसको एकसरो वृत्तान्त आज मसँग छ ।
दुई दशकअघिसम्म सिंगो गैँडाकोट गाउँमा रूखो जमिनसिवाय कतै केही थिएन भन्दा हुन्छ । दस नङ्ग्रा खियाएर दुःख गर्नेहरुलाई धीत मर्नेगरी शीतल पानीको प्यास मेटाउन पनि समर्थ थिएन, त्यो भूमि । उही काकाकुल बस्तीको कथा अहिले उल्टिएको छ । शिरतर्फको हरियो वन रसाएपछि सुख्खा गाउँमा सर्वप्राणीको प्यास मेट्न पुग्ने पानी आएको छ । भूतकालभरि तिर्खाले छटपटाएर बाँचेको जनजीवनमा खुशी छाएको छ । मैले गैँडाकोट गाउँ र यसलाई रसिलो बनाउने कञ्चन पानीको कथा बटुल्न एघार वर्षअघि एक महिनासम्म पूरै गाउँ फन्को मारेको थिएँ ।
अहिले वयस्क वृक्ष झैँ हाँगाबिँगा फैलाएर फल दिइरहेको त्यो गाउँको जरो खोतल्न २०१७ सालतिर फर्कनु पर्छ । त्यसबेला बाग्लुङ र तनहुँबाट बसाइँ सरेर आएकाहरुले गैँडाकोटमा आबादी सुरू गरेका रहेछन् । उसबेला तलको समथर फाँट र कुनातिरका ठूल्ठूला पाखाहरु सबै हराभरा थिए रे । बिस्तारै बढेको मानवीय चापले माथिल्लो पाखाको बाक्लो वन मासिँदै गएछ । रुख र बुट्यान पातलिएर नांगो हुँदै गएका डाँडाकाँडाहरुमा टाढैबाट भुइँ देखिन थालेपछि पानीका पुराना मुहानहरु सुक्दै गएछन् । बस्ती बसेको एक दशकमै गैँडाकोटले रुपरंग गुमाएछ । सानो समृद्ध उपत्यका फुस्रो मरूभूमिमा बदलिएछ ।
स्थानीय अगुवाहरुले २०२८ सालमा गाउँलाई व्यवस्थित बनाउने प्रयास गर्दा पिउने पानीकै अभावले त्यो निरर्थक भएछ । त्यसबेला गाउँको अनुहार फर्काउन लागिपर्नेमध्येका एक अगुवा हुनुहन्थ्यो, टोलनाथ घिमिरे । उहाँले बताएअुनसार त्यसबेला गाउँमा खानेपानीको बन्दोबस्त गर्न सरकारले २८ हजार रूपियाँ बजेट दिएको रहेछ । तर, पानीको मुहान कहीँ फेला नपरेपछि त्यो पैसा सरकारी कोषमै फिर्ता भएछ । त्यसपछिका वर्षहरुमा खानेपानी योजनाको कुरै हराएर गएछ । वनमा पानीका जरूवा उमार्ने पुराना मुहानहरु सबै अलप भइसकेका थिए । पहिलेको धापिलो गाउँ क्रमशः आगोको कोइला झैँ रापिलो बन्दै गएछ ।
त्यसताका एक गाग्री पानी ल्याउन एक घन्टा समय खर्चेर नारायणी नदीमा पुग्नुपर्दो रहेछ । गाग्रीमा बोकेकै पानीले मानव र पशुको तिर्खा मेट्नुपथ्र्यो रे । उमेरले ७८ काट्दै गरेकी आमा नन्दकली सापकोटालाई मैले गैँडाकोटको कालिका चोकस्थित उहाँकै घरमा भेटेर त्यसबेलाको सास्तीबारे सोधेको थिएँ । उहाँले सम्झिएअनुसार राति तीन बजेदेखि उठेर बिहान आठ बजेसम्म ओसार्दा पाँच गाग्री पानी आउँथ्यो रे । त्यही पानी ओखती झैँ अड्कलेर दिनभरलाई पु¥याउनु पर्दोरहेछ, आमा र उहाँका समकालीनहरुलाई । नारायणी नदीमा बाढी आएका बेला धमिलो पानी ल्याएर फिड्किरी मिसाई पिएर प्यास मेटेका दिनहरु उहाँले बिर्सनुभएको थिएन ।
त्यो जर्जर बस्ती २०५१ सालमा आफ्नो कथा बदल्ने अठोट गर्न पुग्छ । त्यसबेला गाउँका अगुवाहरुलाई थाहा भयो, वन मासिएर पो पानीको मुहान सुकेको रहेछ । अनि थालेछन् वन जोगाउन । गाउँदेखि उत्तरतर्फको पाखो वन २ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलको छ । त्यही वन स्थानीय बासिन्दाले जोगाउन थालेको दुई वर्षपछि २०५३ कात्तिक ३० गते जिल्ला वन कार्यालय नवलपरासीले एकैसाथ तीनवटा सामुदायिक वनको नाममा विधान दर्ता गरिदिएछ । मौलाकालिका, जयश्री र नन्दन गरी तीनवटा सामुदायिक वनका अलगअलग उपभोक्ता समूहहरु गठन भएछन् । अनि सुरू भएछ, काकाकुल नियतिबाट उम्कने युगतर्फको यात्रा ।
पानीको दुःख त्यतिबेलासम्म पनि ज्यूँका त्यूँ रहेछ । स्थानीय सामाजिक कार्यकर्ता भूमिश्वर पौडेलको तत्कालीन अनुभवले त्यसै भन्छ । २०५१ सालतिरै पानीको साह्रै दुःख भएपछि वनबाट एउटा निजी धारा ल्याउने विचारले उहाँ मौलाकालिका सामुदायिक वनभित्र मुहानको खोजीमा कयौँ दिन चाहारेर निराश हुँदै फर्कनुभएको रहेछ । त्यही सामुदायिक वनका उपभोक्तासमेत रहेका उनी र उनीजस्ता गैँडाकोटवासीको सुख्खा विगत अब इतिहास भइसकेको छ । त्यसबेला कहीँ मूल नरसाएको उही वन अहिले जताततै जलाम्मे भएको छ । वनबाट निसृत पानी प्रत्येक उपभोक्ताका घरआँगनमा निरन्तर हाजिर छ ।
संरक्षण थालेको तीन वर्ष नबित्दै वनभित्र पानीका मूलहरू फुट्न थालेका रहेछन् । नन्दन सामुदायिक वनको स्रोतमा आधारित विजयनगर खानेपानी योजना त्यसैको नमुना हो । २०५१ देखि जोगाएको वन २०५४ मा रसाउन थालेपछि त्यसमुन्तिर पर्ने विजयनगरवासीको आँतमा पनि शीतलता छाउन पुगेछ । पहिले सुकेका रामखोला, कछुवाखोला र चुहारखोला एकाएक रसाएपछि तीनै मुहानलाई एकै ठाउँमा मिसाई विजयनगर खानेपानी योजनाको श्रीगणेश गरिएछ । भारतीय दूतावासले अनुदान दिएको १४ लाख रूपियाँमा १८ सय जनसंख्यालाई पिउन पुग्ने पानीको ८२ धारा २०५५ मै जडान भइसकेका थिए ।
त्यसअघि सुख्खाकालमै २०३५ सालमा हालको मौलाकालिका सामुदायिक वनभित्र पर्ने मुहानबाट १ नम्बर वडाका एक सय घरमा भारतीय दूतावासले एक लाख रूपियाँ सहयोग दिएर पिउने पानी ल्याइदिएको थियो । तर त्यही वर्षदेखि वन विनाश तीव्र भई पानीका मुहानहरु सुक्न थालेपछि चालू धाराहरु पनि बन्द हुने खतरा देखिएछ । २०४१ सालमा सरकारले वडा नम्बर ३ का बासिन्दालाई पानी खुवाउने योजना बनाए पनि मुहानको अभावमा कार्यान्वयन हुन सकेको रहेनछ ।
वन जोगाएपछिको कथा बेग्लै । वडा नम्बर १, २ र ४ का पाँच हजार जनसंख्यामा लक्षित जलुके खानेपानी योजनाले पनि २०५४ मा मात्र साकार रुप लिन सकेको रहेछ । त्यसको मुहान तीनवटै सामुदायिक वन हुँदै पुगिने १३ किलोमिटर टाढाको राष्ट्रिय वनभित्र छ । गाउँलेले वन संरक्षण गर्नुअघि त्यहाँ पनि पानीको मूल निस्किएको थिएन रे । ८९ लाख रूपियाँ खर्चमा २०५८ सालतिर पूरा भएको जलुके खानेपानी आयोजनाबाट निरन्तर पानी आउने ३ सय धाराहरु चालू रहेको तथ्यांक मैंले पाएको थिएँ । सामुदायिक वन वा खानेपानीका उपभोक्ता र तिनले पाएको सुविधा दिन प्रतिदिन थपिएका छन् ।
२०५४ सालको स्थानीय निर्वाचनबाट गाविस अध्यक्षमा चुनिएका ओमप्रसाद सापकोटालाई गैँडाकोटको दीर्घकालीन विकास योजना बनाउँदा खानेपानीको अभाव नै सबभन्दा ठूलो चुनौतीको पहाड बनेर उभिएको रहेछ । योजना निर्माणसँगै वन संरक्षण पनि हुन थालेकाले चुनौतीको पहाड पन्छाउन धेरै वर्ष कुर्नु परेनछ । सामुदायिक वनहरु जलकुण्डमा बदलिएपछि आफ्नो पाँच वर्षे कार्यकालभित्रै २२ हजार जनसंख्यालाई पिउने पानीको सुविधा पु¥याएको अनुभव उहाँसँग थियो । यो संख्या गैँडाकोटको तत्कालीन जनसंख्याको दुई तिहाई हिस्सा थियो ।
२०५९ मै नन्दन सामुदायिक वनले विजयनगर, शिवनगर, सूर्यनगर र शीतलनगर गरी चारवटा योजनामार्फत् वडा नम्बर ३, ६, ७ र ९ का बासिन्दालाई पानी खुवाउन थालेको थियो । वैकुण्ठनगर, वृन्दा र सरस्वतीनगर आयोजनाबाट पानी पिउने पाँच नम्बर वडाका बासिन्दाहरु जयश्री सामुदायिक वनमा आश्रित थिए । यसैगरी, वडा नम्बर एकका बासिन्दाहरुले गंगानगर, भूतपूर्व सैनिक र श्रीनगर खानेपानी आयोजनामार्फत् मौलाकालिका सामुदायिक वनबाट पानीको प्यास मेट्दै थिए । वडा नम्बर १, २, ३, ४ र ५ का आंशिक क्षेत्रमा पानी आपूर्ति गर्ने तीन आयोजनाहरु सामुदायिक वनबाहिरको राष्ट्रिय वनक्षेत्रमा पर्ने भए पनि तिनीहरुका बाह्रमासे मुहानहरु सामुदायिक वनबाटै जन्मिएका थिए ।
त्यति मात्र नभई जमिनमुनि पनि पानीको मात्रा बढेको थियो । वडा नम्बर ४ को झपर्दीमा सम्पन्न भूमिगत खानेपानी आयोजना त्यसको ज्वलन्त नमुना हो । पहिले एक लाख रूपियाँमा सकिने आयोजनाका लागि पनि पानीको मुहान फेला नपरेको वनमा संरक्षण थालिएको एक दशक नहुँदै करिब अढाई करोड रूपियाँ लगानी आकर्षित गरी एक दर्जनभन्दा बढी आयोजनाहरु सम्पन्न गर्न सम्भव भएको देखियो । त्यसबेला नेपाल सरकार मातहतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति र जिल्ला खानेपानी कार्यालय नवलपरासीका साथै भारतीय राजदूतावासले स्थानीय गैरसरकारी संस्थाहरुको माध्यमबाट वनमा पलाएको पानीमा लगानी गरेका थिए ।
वन जोगाउन चेतना, समय र श्रमको नदी बगाएका स्थानीय बासिन्दाले आफ्नै आर्थिक लगानीमा घरआँगनसम्म पानी ल्याएर उपभोग गरेका सानातिना आयोजनाहरु पनि थुप्रै थिए र अहिले झन् धेरै थपिएका छन् । मैले २०५९ सालमा गैँडाकोट गाउँको इतिहास खोतल्न डुल्दा सौभाग्यवश भेटेका कयौँ पात्रहरुमध्ये भृकुटीचोक निवासी १०१ वर्षीय हजुरबुबा गंगाधर सापकोटा पनि हुनुहुन्थ्यो । उहाँका वाणीहरु मेरो कानमा अहिलेसम्म गुञ्जिइरहेका छन् ।
उहाँले भन्नुभएको थियो, ‘वन मासिएका बेला गैँडाकोटका केटालाई बिहे गरिदिन केटी माग्न जाँदा अन्तकाले त्यस्तो सुख्खाभुक्का टाँडीमा छोरी दिँदैनौँ भनेर फर्काउँथे । वन जोगाएर पानीका मूल रसाएपछि खेतमा उब्जनी बढ्यो । घरघरमै खानेपानीको धारो झ¥यो । हेर्दाहेर्दै वनले वैकुण्ठ बोलायो । अहिले यहाँका केटालाई कसले छोरी नदेला ?’ हुन पनि पहिले र अहिलेको गैँडाकोटबीच तुलना गर्दा धनले नआउने वैकुण्ठ वनले डाकेजस्तै लाग्छ । समृद्ध गैँडाकोट र सभ्य गैँडाकोटवासीको जय होस् ।
Discussion about this post