भरतपुर । नेकपा एमाले चितवनले जिल्लातहमा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आफ्नो प्रतिबद्धता पत्रमा एमालेले चितवनलाई नटुक्राउने तर थप गरी बृहतर चितवन बनाउन सकिने जनाएको छ ।
चितवनलाई संघीय प्रदेशको राजधानीका साथै व्यवसायीक केन्द्रको रुपमा पनि अघि सारिएको छ । दीर्घकालीन रणनीतिक विकास योजना र गत चितवन महोत्सवमा प्रस्तुत परियोजनालाई लागू गर्न आफूहरु प्रतिबद्ध रहेको पार्टीले जनाएको छ ।
पूर्वाधार विकासअन्तर्गत माडीदेखि रसुवागढी सडक विस्तार, चितवनमा रिङरोड, पहाडी गाविसमा सडक विस्तार र स्तर उन्नति आदि रहेका छन् । विद्युत नपुगेका जिल्लाका बाँकी क्षेत्रमा एक वर्षभित्रमा बिजुली पु¥याउने पत्रमा उल्लेख छ ।
नारायणी नदीमा दोस्रो पुल बनाई मेगासिटी बनाउने पनि उल्लेख छ । राष्ट्रिय निकुञ्जको संरक्षणका साथै जिल्लाका विभिन्न नदीहरुबाट हुने क्षतिबाट जनतालाई मुक्ति दिन प्रयास गरिने एमाले चितवनले जनाएको छ । त्यस्तै सौराहा, मेघौली, जगतपुर, पटिहानीलगायत पहाडी सबै गाविसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना पार्टीले बनाएको छ । उवासंघ चितवनको योजनाअनुसार नारायणी नदी संरक्षण गरिने भएको छ ।
धार्मिक स्थलहरुको संरक्षण, र चितवनका आदिवासी तथा पिछडिएका समुदायका संस्कृति संरक्षणमा विशेष चासो दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कृषि क्षेत्रमा चितवनको विशिष्ट पहिचानलाई कायम गर्दै पोल्ट्री, पशुपालन, मह, दूध, माछा, फलफूल, केरा, तोरीलगायतको उत्पादनमा वृद्धि र व्यवसायिकताका लागि पूर्वाधार तयार पार्न लगानी, क्षतिपूर्तिको व्यवस्था गर्ने एमालेले जनाएको छ ।
चितवनका सहकारीलाई गरिबी निवारणमा सक्रिय तुल्याउने पार्टीले जनाएको छ । जनता आवासअन्तर्गत सुकुमबासी परिवारलाई जग्गाको स्वामि¤व प्रदान गर्न भूमिका खेल्ने पार्टीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि अग्रणी भूमिका खेल्ने पार्टीले जनाएको छ । शक्तिखोरको चेपाङ छात्रावासको संरक्षण, प्रत्येक निर्वाचन क्षेत्रमा एक एकवटा नमुना उमावि र हरेक विद्यालयमा इ–पुस्तकालय राख्ने पार्टीले जनाएको छ । भरतपुर अस्पताल, क्यान्सर अस्पतालका साथै अन्य स्वास्थ्य संस्थाको स्तरवृद्धि गरिने उल्लेख छ ।
चितवनलाई मेडिकल सिटीको रुपमा विकास गरी अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने पार्टीले जनाएको छ । त्यस्तै व्यवस्थित बधशाला र अटोल्याण्डको परिकल्पाना गरिएको छ ।
दिवा जेष्ठ नागरिक सेवा केन्द्र, अपाङ्ग, ज्येष्ठ नागरिक तथा महिलालाई शिक्षा, स्वास्थ्यमा विशेष सुविधाको व्यवस्था गरिने, महिलामैत्री वातावरण र सुरक्षित सहर निर्माणमा ध्यान दिने पार्टीले जनाएको छ ।
टिकौली रगशाला निर्माण कार्यलाई अघि बढाउने, हुग्दी खोला सिचाइँ आयोजना संचालनमा ल्याउने, भरतपुर विमानस्थललाई स्थानान्तरणका लागि विकल्प खोज्ने, अन्तराष्ट्रिय स्तरको पत्रकारिता तालिम केन्द्रको स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रतिबद्धतापत्र सार्वजनिक समारोहमा एमाले नारायणी अञ्चल इन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य देवी ज्ञवालीलगायतको उपस्थिति थियो । कार्यक्रम एमाले चितवन अध्यक्ष जेएन थपलियाको अध्यक्षतामा भएको थियो ।
Discussion about this post