– डा. लीलानाथ सुवेदी
आज विश्व अहिंसा तथा शान्ति दिवस हो । कुनै पनि मुलुकको समाज व्यवस्था व्यवस्थित गर्ने परिप्रेक्ष्यमा अहिंसा र शान्तिको मह¤व र उपादेयता दर्शाउनु यसको मुुख्य ध्येय हो । अनि समाजमा विद्यमान असमझदारी, द्वन्द्व र अशान्तिको शान्तिपूर्ण रुपान्तर गर्नु र समाजमा रहेका द्वन्द्व, अशान्ति र हिंसा, हत्याका प्रवृत्ति र प्रक्रियाको शान्तिपूर्ण उपचार गर्दै जाने क्रिया–अनुक्रियालाई प्रोत्साहित गर्नु र राजनीति एवं राज्यव्यवस्था, न्याय व्यवस्था, सुरक्षा व्यवस्था, बजार व्यवस्था, विकास व्यवस्था र एनजिओ÷आइएनजिओ व्यवस्थासमेतका सबै व्यवस्था व्यवस्थित गर्नु यसको प्रक्रियागत प्रयोजन हो ।
अहिंसा र शान्तिका यस्ता प्रसंगमा विचार गर्नुपर्दा सत्यको वास्तविकतातर्फ पनि ध्यान दिनु जरूरी हुन्छ, किनकि अहिंसा र शान्ति प्रक्रियासित सत्य सधैँ यसरी जोडिएको हुन्छ कि सत्यबिना अहिंसाका भावना, विचार र व्यवहार समाजमा न व्यवस्थित गर्न सकिन्छ, न त समाजमा शान्ति सुरक्षा नै कायम गर्न सकिन्छ । तसर्थ, सर्वप्रथम सत्यतथ्यको यथार्थमा नै ध्यान केन्द्रित गर्नु जरूरी हुन्छ । साथै, राजनीति र राज्यव्यवस्थाका अगुवाहरुको ध्यान पनि यस्तो यथार्थतर्फ नै आकर्षित गर्नु पनि त्यत्तिकै जरूरी हुन्छ ।
जरूरी यस कारण हुन्छ कि राजनीति सबै नीतिहरुको माउ नीति हो । राजनीतिक कर्म माउकर्म हो भने राजनीतिक व्यवस्था, माउ व्यवस्था हो । राजनेता यसका अगुवा हुन्, अनि समाजमा शान्ति सुरक्षा कायम गर्नु र जनधनको रक्षा गर्नु अगुवाको पहिलो कर्तव्य हो । तर, हामीकहाँ यस्तो हुन सकिराखेको छैन । शान्ति र सुशासनका लागि आवश्यक नीति र रणनीतिहरु, असल शासन र आर्थिक सदाचारप्रति प्रतिबद्ध पनि हुन सकिराखेका छैनन् । यसकै कारण मुलुकमा कुशासन बढाउने र भ्रष्टाचार गर्ने अनि गराउनेहरु ठूलो परिमाणमा प्रोत्साहित हुँदै आएका छन् ।
भ्रष्टाचार, आर्थिक शोषणकै कारण मुलुकमा बढ्दो बेरोजगारी र गरिबी मुलुकका लागि प्रमुख समस्या बन्न पुगेका छन् भने समस्याको सही हिसाबमा राजनीतिक सम्बोधन हुन सकिराखेको छैन । यसकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार, अस्थिरता, अव्यवस्था, अराजकता, आपराधिक गतिविधिले समेत प्रोत्साहन पाउँदै आएका छन् । अनि, द्वन्द्व, अशान्ति, हिंसा, हत्याका प्रवृत्ति तथा प्रक्रिया एवं पात्रहरु बढ्ने क्रम बढ्दो छ । यी सब कारणले गर्दा नै राजनीतिमा सत्य, अहिंसा र शान्तिजस्ता विषयको अभ्यास र अनुशीलन हुन सकिराखेको छैन भने नेताहरुको सोच, विचार, संस्कार र व्यवहार पनि सत्यतथ्य सापेक्ष हुन सकिराखेका छैनन् ।
यस्ता सन्दर्भमा लोकतन्त्र, सुशासन र सदाचारभित्र सत्यतथ्य, साक्षरताको खाँचो परिरहन्छ, किनकि सत्य आफैँमा सच्चाइ हो । यसबाट साँचोपनको वास्तविकताको बोध हुन्छ । यसबाट असल शासन र आर्थिक सदाचार, पारदर्शिता, जवाफदेहिता एवं सार्वजनिक जिम्मेवारी बोधको यथार्थसित साक्षात् हुन सजिलो हुन्छ । तर, हामीकहाँ यस्तो हुन सकिराखेको छैन ।
निश्चय नै हामी सबै शान्ति चाहन्छौँ र राजनीतिक दलहरु पनि शान्ति भन्दै आएका छन् । तर, मुखले शान्ति–शान्ति भन्दैमा मुलुकमा शान्ति कायम हुँदैन । यसका लागि सर्वप्रथम राजनीतिक शक्तिहरु सबै मिल्नुपर्दछ । अनि, शान्तिका लागि अनुकूल वातावरण बनाउनुपर्दछ । हामीकहाँ राजनीति गर्नेहरुको संख्या अति नै ठूलो छ । नेपालजस्तो सानो देशमा १४० भन्दा बढी दलहरु दर्ताका लागि निर्वाचन आयोगमा पुगिसकेका तथ्यहरु पत्रपत्रिकामा प्रकाशित भएका छन् । साथै, नेता÷कार्यकर्ता सबै आ–आफ्ना सुविधा, सहुलियतका मुद्दा र मामिलामा स्वयम् आफूकेन्द्रित हुँदै प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र या लोकतान्त्रिक गणतन्त्र भन्दै राष्ट्रवाद, बजारवाद, पुँजीवाद या समाजवादप्रतिको आस्था÷अनास्था एवं पक्ष÷विपक्षमा तर्क÷वितर्कको ऊहापोहले पनि प्रमुखता पाउँदै आएको छ । प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद अथवा जनताको नौलो जनवादको आग्रहको सेरोफेरोमा सत्ताका लागि दलहरुबीच तँछाडमछाड पनि बढी मच्चिँदै आएको छ । साथै, निहित स्वार्थहरु, सत्तागत स्वार्थहरु र असामान्य लोभलाभका प्रवृत्ति र प्रक्रियाले प्रमुखता पाउँदै आएका छन् ।
तर असल शासन, आर्थिक सदाचार, पारदर्शिता, जवाफदेहिता, नियमितता, सार्वजनिक जिम्मेवारी, सुशासन बहाली र राष्ट्रिय सदाचार पद्धतिको विकासजस्ता राजनीति एवं राज्यव्यवस्थाका मह¤वपूर्ण विषयहरु नितान्त उपेक्षामा पर्दै आएका छन् । अर्काेतिर राजनीतिक आचार, विचार, आचरण र चरित्रको उच्चता एवं राजनीतिक व्यवहारको शुद्धताका मामिलामा शिखर राजनीति र सत्ताशिखरका अगुवाहरु राजनीतिक निष्ठा, नैतिकता एवं इमानदारिताका साथ जनताका अगाडि आउन सकिराखेका छैनन् । शान्ति, सहमति, निर्वाचन र संविधान निर्माणमा एवं जनताप्रतिको सार्वभौम कर्तव्यको परिपालनामा पनि अनुकूल वातावरण बन्न सकिराखेको छैन । सुरक्षित समाज निवारणका विषयले पनि प्रमुखता पाउन सकिराखेको छैन ।
यथार्थमा आन्दोलनको सफलता राजनीतिक परिवर्तन र सत्ताको फेरबदलमा मात्र सीमित हुँदैन, हुनुहुँदैन । आर्थिक, सामाजिक परिवर्तन र समाजको रुपान्तरणका प्रक्रियालाई पनि अँगाल्न जरूरी हुन्छ । यस्ता प्रसंगमा बिर्सन नहुने तथ्य के छ भने आर्थिक, सामाजिक परिवर्तनबाट राजनीतिक परिवर्तनलाई आधारभूत टेवा मिल्दछ । साथै, स्वाधीन अर्थतन्त्रको विकास, मानव संसाधन, प्राकृतिक सम्पदा एवं भौतिक साधनका अधिकतम परिचालन र कृषि क्रान्ति एवं औद्योगिक क्रान्तिलाई अगाडि बढाउन सजिलो हुन्छ । समग्रमा आन्दोलन हुनु, परिवर्तन हुनु र शान्ति स्थापना हुनु यसको यथार्थ हो ।
इतिहास साक्षी छ– नेपालमा पटकपटक निर्णायक आन्दोलन भएका छन्, जनताको समृद्धि र राष्ट्रको श्रीवृद्धि खातिर लाखौँलाख जनताले आन्दोलनमा रगत, पसिना बगाएका छन् । हजारौँहजार वीर सहिदले महान् त्याग, तपस्या एवं बलिदानी भूमिकासाथ मातृभूमिका लागि आत्मोत्सर्ग गरेका छन् । यसकै आधारमा नेताहरुको सत्तारोहणका कार्यक्रम पनि सफल भएका छन् । तर, आन्दोलनको सफलतापछि, आर्थिक, सामाजिक परिवर्तन र शान्तिका मुद्दा सही हिसाबमा राजनीतिक सम्बोधनभित्र पर्न सकिराखेका छ्र्रैनन्, मात्र सत्ताका खेलहरुले प्राथमिकता पाउँदै आएका छन् । यसकै कारण शान्ति स्थापनाका लागि राजनीतिक वातावरण बन्न सकिराखेको छैन ।
शान्ति स्थापना नै हाम्रो पहिलो गन्तव्य हो । राजनीतिक पार्टीहरु एवं नेताहरु यसका प्रमुख अगुवा हुन् । आचारसंहिता, विचारसंहिता तथा नैतिक संहिताको परिपालनका साथ जनताका अगाडि आउनु नेताहरुको पहिलो दायित्व हो । परस्परको सहमति, सद्भावना, सद्विचार र सद्व्यवहार अनि सहअस्तित्व यसका आधार हुन् । अनि आचार, आचरण र चरित्रको उच्चता तथा व्यवहारको शुद्धता एवं नैतिकताको नियमिततामा नियमित हुनु यसको प्रक्रियागत प्रयोजन हो । साथै, समाजमा शान्ति संस्थापना गर्नु, सन्तुलन कायम गर्नु, वातावरण बनाउनु हाम्रो लक्ष्य हो । यसै परिप्रेक्ष्यमा राजनीतिमा शान्ति हाम्रो बहस प्रमुख विषय बनेको छ । समग्रमा राजनीतिमा शान्ति नै आमशान्ति हो । यहाँबाट नै अरु क्षेत्रमा शान्ति स्थापनाको क्रम अगाडि बढ्न सक्दछ । सहमति, संविधान र लोकतान्त्रिक गणतन्त्रको संरचनात्मक विकास एवं क्रमले निरन्तरता पाओस्, यही हाम्रो ध्येय हो ।
यहाँनेर विशेष ध्यान दिनुपर्ने कुरा के छ भने अहिंसा र शान्ति प्रक्रियासित सत्य सधैँ जोडिएको हुन्छ । सत्यबिना न अहिंसा सही हिसाबमा रोक्न सकिन्छ, न त समाजमा शान्ति कायम गर्न सम्भव हुन्छ । किनकि, सत्य र तथ्यको वास्तविकता त्यसभित्र समेटिएका हुँदैनन् । सत्य, अहिंसा र शान्तिका लागि सर्वप्रथम सत्य–निष्ठाका मनोवृद्धि, चित्तवृद्धि र प्रवृत्तिअनुसारका व्यवहारको खाँचो परिरहन्छ । साथै सत्यकर्म, शुभकर्म र सुन्दर कर्म अर्थात् असल कर्मको त्यसैअनुरुपको मनशाय, नियत र प्रयत्नहरुप्रतिको प्रतिबद्धता त्यत्तिकै जरूरी परिरहन्छ । यस्ता सन्दर्भमा पुनः हेक्का राख्नुपर्ने के छन् भने सत्यनिष्ठ मनोवृत्ति, चित्तवृत्ति र प्रवृत्तिअनुसारको व्यवहार, अहिंसा र शान्तिका लागि अपरिहार्य हुन्छन् । राजनीति, राज्यव्यवस्था र समाज व्यवस्थासमेतका सबै यसमा समेटिएका हुन्छन् । किनकि सत्य, बचन र सत्यकर्मसमेतका क्रिया–अनुक्रिया सधैँ प्राकृतिकता, मानवता, सामाजिकता, वैज्ञानिकता, वैधानिकता र नैतिकताका नियमसित आबद्ध रहेका हुन्छन् ।
यस्तो आबद्धता नै मानिसको महानता, जनताको सर्वोच्चता, विधिको सर्वोपरिता र नैतिकताका नियमित आधार हुन् । अनि राजनीति र राज्यव्यवस्था, अगुवाहरुको काम हो । राजनीतिक निष्ठा, नैतिकता, इमानदारिता, कर्तव्य पालना एवं राष्ट्रसेवा परायणताका साथ राजनीतिका अगुवाहरु जनतामा जानु, जनताका समस्या पहिचान गर्नु र समस्या समाधानमा निरन्तर लागिरहनु यथार्थमा जनआध्येय कार्य हुन् ।
राजनीतिमा सत्य, अहिंसा र शान्तिको प्रयोग महात्मा गान्धीबाट सुरू भयो र भारतीय स्वतन्त्रता संग्राम यसैका आधारमा महात्मा गान्धीको नेतृत्वमा सफल भयो । अनि, दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा यसैअनुरुपको आन्दोलन पनि सफल भयो । सत्य, अहिंसा र शान्तिको पक्षमा सत्याग्रह, शान्तिपूर्ण विरोध प्रदर्शन र भद्र अवज्ञा आन्दोलनसमेतका कार्यक्रमले प्रमुखता पाउँदै आएका छन् ।
Discussion about this post