भरतपुर । नेकपा एमाले केन्द्रीय कमिटीले गरेको उम्मेदवारी सिफारिसप्रति चितवन क्षेत्र १ बाट सम्भावित उम्मेदवारको सिफारिसमा परेका पूर्वसांसद जागृतप्रसाद भेटवालले असहमति जनाउनुभएको छ । पार्टी लेखा आयोगका सदस्यसमेत रहनुभएका नेता भेटवालले यस क्षेत्रबाट बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
केन्द्रबाट पार्टीले दुई दिनअघि चितवन क्षेत्र नम्बर १ का लागि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम टुङ्गो लगाएको थियो । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी नेता भेटवालले क्षेत्र १ मा आफूप्रति जनलहर रहेको दावी गर्दै पार्टीले टिकट नदिए बागी उम्मेदवारका रुपमा लड्ने बताउनुभयो ।
आफ्ना पक्षीय नेता कार्यकर्तासहित उपस्थित नेता भेटवाल यसअघि २०४८ सालमा विजयी हुनुभएको थियो भने २०५६ सालमा भएको संसदीय निर्वाचनमा पराजित हुनुभएको थियो । पार्टीले निर्णयमा पुनःविचार गरी भेटवाललाई टिकट नदिएमा क्षेत्र २ र ३ मा पनि बागी उम्मेदवारी दिने तयारी यस क्षेत्रका नेताले गरेका छन् । यस्तै, क्षेत्र नम्बर २ मा यादव पाठक र ३ मा रामबहादुर रानाले स्वतन्त्रतर्फको उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चितवनको क्षेत्र नम्बर १ मा पार्टीले सुरेन्द्र पाण्डेलाई टिकट दिने निर्णय गरेको समाचार सार्वजनिक भएपछि भेटवाल पक्ष नेता कार्यकर्ता यसको विपक्षमा छन् । मंगलबार बिहान क्षेत्र नम्बर १ एमाले पार्टी कमिटीले पत्रकार सम्मेलन गरी जागृतप्रसाद भेटवाल नै आधिकारिक उम्मेदवार भएको क्षेत्रीय अध्यक्ष भीम पुनले बताउनुभयो ।
यस क्षेत्रबाट क्षेत्रीय कमिटीले जागृतप्रसाद भेटवाल, सुरेन्द्र पाण्डे र सीता पौडेलको नाम सिफारिस गरेको थियो । एमालेले गत संविधानसभाको चुनावमा लालमणि चौधरीलाई उम्मेदवार बनाइ यस क्षेत्रबाट विजयी प्राप्त गरेको थियो ।
यसैबीच नेपाली काँग्रेसले पनि चितवनका पाँच वटा क्षेत्रमा उम्मेदवारी चयन गरेको छ । क्षेत्र नम्बर १ राजेन्द्र बुर्लाकोटी, २ बाट शेषनाथ अधिकारी, ३ बाट भीमबहादुर श्रेष्ठ, क्षेत्र नम्बर ४ बाट सुशील कोइराला र ५ बाट सविता बरालको उम्मेदवार चयनको घोषणालाई लिएर काँग्रेसभित्र पनि विवाद देखिएको छ । क्षेत्र नम्बर २ मा क्षेत्रीय समितिको सिफारिसमा नपरेका शेषनाथ अधिकारीलार्ई टिकट दिइएको भन्दै सोमबार क्षेत्रीय कार्यालयमा तोडफोड भएको थियो ।
त्यस्तै क्षेत्र नम्बर ३ मा टिकट पाउनबाट वञ्चित भएपछि विकास कोइराला पक्षधरले टिकट नपाएको भन्दै नारायणगढस्थित पार्टी कार्यालय परिसरमा नारा जुलुस गरेका थिए ।
यस्तै, मधेसी जनाधिकारी फोरम लोकतान्त्रिक चितवनको उम्मेदवारहरुको टुङ्गो लागेको छ । क्षेत्र नम्बर १ बाट नारायण महतो, २ बाट मागर महतो, ३ बाट राजन कार्की, ४ बाट राजु पौडेलको टुङ्गोको लागेको हो । यस्तै क्षेत्र नम्बर ५ को टुङ्गो लाग्न बाँकी रहेको फोरम लोकतान्त्रिकले जनाएको छ ।
Discussion about this post