खाद्य ऐनबमोजिम २५ लाई मुद्दा
विधुर ढकाल
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनको खाद्य निरीक्षण इकाइले आर्थिक चालु आर्थिक वर्षको दुई महिनामा २५ वटा खाद्य सामग्री उत्पादक तथा वितरकहरुलाई कारबाहीका लागि मुद्दा चलाएको छ ।
प्रशासन कार्यालयको मुद्दा शाखामा रहेको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो साउन तथा दोस्रो भदौ महिनामा ती संस्थाहरुलाई कारबाहीको लागि मुद्दा दायर गरिएको हो ।
प्रशासनको खाद्य निरीक्षण इकाइले यो वर्षको सुरूदेखि नै खाद्य निरीक्षणलाई व्यापकता दिएको छ । यो आर्थिक वर्षमा अनुगमन गरी कार्यालयले १५ वटा खाद्य उत्पादक तथा वितरकहरुलाई मुद्दा दायर गरेको हो । त्यस्तै, इकाइले अघिल्लो आर्थिक वर्षमा अनुगमनका क्रममा अखाद्य तथा मिसावट पाइएका १० वटा खाद्यवस्तुलाई मुद्दा चलाएको छ ।
अघिल्लो आर्थिक वर्षमा नमुना संकलन गरी परीक्षणको लागि प्रयोगशाला पठाएको थियो । परीक्षणका क्रममा प्रतिकुल देखिएपछि उनीविरूद्ध मुद्दा दायर गरिएको इकाइका खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिनुभयो । यसैबीच चाडपर्व नजिकिँदै जाँदा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय चितवन, खाद्य निरीक्षण इकाइ, बजार संरक्षण अधिकृतको कार्यालय, भरतपुर नगरपालिकाको कार्यालयको अग्रसरमा बजार अनुगमनलाई तीव्रता दिइएको हो ।
प्रशासन कार्यालयको खाद्य निरीक्षण इकाइ, नापतौल विभाग काठमाडौंको संयुक्त टोलीले सोमबारमात्रै नारायणगढ क्षेत्रका किराना तथा तरकारी पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले बालाजी स्टोर्सको २०६८ सालदेखि हालसम्म नवीकरण नगरेको फेला पारेको छ । त्यस्तै न्यू प्रेम भण्डारबाट २०० ग्रामको १३ प्याकेट र १०० ग्रामको ५ प्याकेट चिया र भोजराज रेग्मीको नाममा रहेको भाञ्जा ट्रेर्डसबाट बिग्रेको सडेको अवस्थामा रहेको १० प्याकेट मिक्सनट मसला नष्ट गरेको छ ।
त्यस्तै टोलीले अनुगमनका क्रममा विभिन्न पसलहरुमा ढक तराजुमा घटबढ पाएकोले ७ दिनभित्र ढक तराजु जाँच गराई नवीकरण गरेर मात्र प्रयोग गर्न सम्बन्धित पसलहरुलाई निर्देशन दिएको छ । सुरेश किराना स्टोर्सबाट ढक तराजु नाप तौल नवीकरण नभएको पाइएको छ ।
यो अवस्थामा पसललाई १० हजारसम्म जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुने देखिन्छ । केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बबरमहल काठमाडौंको प्रयोगशालाको टोलीसहितले चितवनका ठूला होटलहरुमा अनुगमन गरेको थियो ।
उक्त अनुगमनका क्रममा नारायणगढ तथा भरतपुर क्षेत्रका नाम चलेका होटलहरुको भान्सा फोहर पाइएको र केही होटलहरुबाट म्याद गुज्रेका खाद्य वस्तुसमेत बरामद गरेको थियो ।
Discussion about this post