भरतपुर । विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिको विवरण संकलन र पीडितलाई राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको सक्रियता बढेको छ ।
प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विके, स्थानीय विकास अधिकारी भरतमणि पाण्डेसहित विषयगत समितिका कार्यालय प्रमुखहरु क्षतिग्रस्त दारेचोक र वीरेन्द्रनगर क्षेत्रको स्थलगत अवलोकन र राहत वितरणमा सोमबार दिनभर व्यस्त बने । यस्तै भूकम्प पीडितका लागि राहत संकलन र वितरणको काम पनि तिव्र पारिएको छ, । हालसम्म दुई हजार सात सय ७० किलो चिउरा, २१ बोरा भुजा , ६० कार्टुन चाउचाउ, ३५ पोका दालमोट, ६० कार्टुन पानी, ८ कार्टुन औषधि, १० वटा थर्मामिटर, १०० लिटर डिजेल र २४० थान त्रिपाल संकलन भएकोमा एम हजार ३५० किलो चिउरा, २१ बोरा भुजा, ६० कार्टुन चाउचाउ, ३५ पोका दालमोट, ३८ कार्टुन पानी, ६ कार्टुन औषधि, ८ वटा थर्मामिटर र २४० थान त्रिपाल वितरण गरिएको छ ।
राहत संकलन र वितरणको काम जारी छ । समितीको हिजो बसेको आकस्मिक बैठकको निर्णय अनुरुप ६ वटा टोली क्षतिग्रस्त स्थानमा पुगी राहत र उद्धारमा जुटेका हुन् । प्रजिअ डा. विके, स्थानीय विकास अधिकारी पाण्डे, जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यसहितको टोलीले क्षति भएका स्थानको स्थलगत अवलोकन गरेको थियो ।
चितवनमा ७५० घरधुरी पुर्ण रुपमा नष्ट भएको र ९०० घरधुरी आशिंक रुपमा नष्ट भएको तथ्याकं छ ।
त्यसैगरी उद्योग वाणिज्य संघ चितवनले भूकम्प पीडितको लागि राहत संकलनको लागि जुट्नलाई सबै उद्योगी तथा व्यवसायीहरुमा आग्रह गरेको छ ।
कानु सामाजको राहत
भरतपुर । कानु समाज नेपालले आज मंगलबार चितवनको दारेचोकमा भूकम्प पीडितलाई राहत वितरण गर्ने भएको छ ।
समाजको भूतपूर्व अध्यक्ष लक्ष्यमण साह कानुले विभिन्न स्रोतबाट संकलित एक लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री सो ठाउँमा वितरण गर्ने जानकारी दिए । समाजले सबैसँग पीडितलाई सहयोगको लागि पनि आग्रह गरेको छ ।
Discussion about this post