वैशाख १२ गते शनिबार नेपालको इतिहासमा कालो दिनका रुपमा अंकित भएको छ । सन् १९९० सालको भूकम्पलाई नै बिर्साउने गरी आएको महाप्रलयले सम्पूर्ण नेपालीलाई आतंकितमात्र बनाएन, जनधनको अपूरणीय क्षति पु¥याएको छ । शनिबार मध्यान्ह गएको भूकम्पको त्रास आइतबार दिनभर कायम रह्यो । पटकपटकको धक्काले सर्वसाधारण नराम्ररी प्रभावित भए । मुलुकभर भूकम्पको धक्का कुनबेला आउने हो भन्ने मनोवैज्ञानिक त्रास उत्पन्न भयो । मृत्यु भयले व्याकुल बनेका सर्वसाधारण सुरक्षित स्थानको खोजीमा भौँतारिइरहे । यस्तो विपत्तिमा परी दुई हजारभन्दा बढीले मृत्यु वरण गरे । हजारौँ घाइते छन् । कति गाउँ नै सखाप भएका छन् । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको महाभूकम्पले काभ्रे, रसुवा, गोरखा, धादिङ, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लामा जनधनको अकल्पनीय क्षति पुगेको छ । लाखौँ जनता दैवी विपत्तिबाट खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन् । पहाडी जिल्लामा क्षतिको यकिन तथ्यांक अझै आएको छैन । महाविपत्मा फसेका सर्वसाधारणको उद्धारसमेत हुन सकेको छैन ।
यतिबेला राष्ट्र शोकमा डुबिरहेको छ । सुन्दर राजधानी शरणार्थी शिविरमा परिणत भएको छ । राष्ट्रिय धरोहरका रुपमा विश्वमै चर्चित धरहरा र निर्माण संस्कृतिका अन्य ऐतिहासिक संरचनाहरु धराशायी भएका छन् । राष्ट्रलाई नै संकट पार्ने गरी आएको विपद्ले पारेको क्षतिको कसै गरे पनि परिपूर्ति त हुन सक्दैन । तर, संकट र विनासलाई समयमै सम्बोधन गर्न सकिए थप क्षति हुनबाट बचाउन सकिन्छ । सरकारले राष्ट्रिय विपत्लाई दृष्टिगत गर्दै घाइतेहरु तथा पीडितका लागि सकभर चाँडै सहयोग जुटाउन पहल गरिनुपर्छ । नेपालमा आएको यस्तो विपत्प्रति अन्तर्राष्ट्रिय समुदायसमेत चिन्तित बनेका छन् । छिमेकी मुलुक भारत, चीनदेखि विभिन्न मुलुकले उद्धार सामग्रीसहित मानवीय तथा आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय विपत्तिमा सहयोगी संघसंस्थाहरुले विभिन्न सहयोग घोषणा गरिरहेका छन् । एनआरएन अध्यक्ष शेष घलेले दुई करोड रूपैयाँ र उपाध्यक्ष भवन भट्टले एक करोड रूपैयाँ सहयोग गर्ने बचन दिएका छन् । सहयोगमा जुट्न विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले पनि चासो देखाइरहेका छन् । नागरिक स्तरबाट स्वःस्फूर्त रुपमा सहयोग गर्नेहरु बढेका छन् । यस्तो बेलामा सबैले आ–आफ्नो क्षेत्रबाट मानवीय सेवा गर्दै आए पनि राज्यपक्षबाट युद्धस्तरमा उद्धार हुन सकेको छैन ।
विपत्मा परी घाइते भएका हजारौँको विभिन्न अस्पतालमा उपचार जारी छ । कतिपय स्थानमा रगत, औषधि र अन्य सहयोग अभाव भइरहेको खबर आएको छ । यस्तो अवस्थामा सरकारले आफ्ना निकायका सबै संयन्त्रहरु प्रयोग गरी अविलम्ब उद्धार र राहत वितरण गर्नुपर्छ । यस्तो विपत्तिमा सरकारको मात्रै भर नपरी सबै नेपालीहरु एकजुट हुनुपर्छ । अहिलेसम्म देशभरका अस्पताल, स्वास्थ्य चौकी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारणले जसरी मानवीय सेवामा जुटिरहेका छन्, त्यो आफैँमा स्तूत्य रहेको छ । गोरखा, धादिङ र नुवाकोटमा प्रलय भएको २४ घन्टासम्म उद्धार हुन नसकेका पीडादायी खबर आइरहेका छन् । मृतकका परिवारको रोदनले आर्यघाट क्षेत्र स्तब्ध बनेको छ । सरकार अब मृतकका परिवारलाई तत्काल राहत वितरणमा केन्द्रित हुनुपर्छ ।
Discussion about this post