गोरखा । भूकम्प पीडितहरुलाई भनेर सरकारले पठाएको राहत गोर्खा जिल्ला सदरमुकाममै थन्किएको छ । गाउँका पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् ।
गोरखा जिल्लाका भूकम्प पीडितहरुलाई भनेर संकलन गरिएको राहत सदरमुकामसम्म लगेर थन्काइएको छ । ज–जसले पाए, त्यो पनि पर्याप्त छैन ।
‘सेनाले हेलिकोप्टरमा बिस्कुट, चाउचाउ, चामललगायतका सामान बोकेर लैजान्छ तर सबैले पाउँदैनन् ।’ काठमाडौंबाट गोरखा पुगेका पत्रकार यादव देवकोटाले भने, ‘म यतिबेला गोरखाको उत्तरी गाउँमा छु, गाउँमा घरबार गुमाएका र खाद्यान्न पुरिएकाहरुले खान पाएका छैनन्, भोकभोकै बस्न बाध्य छन् ।’
महामारी र रोग फैलन नदिन गोर्खामा तत्काल पानी शुद्ध पार्ने पोटास, र खाद्यान्न पु¥याउनुपर्ने देखिएको देवकोटाले बताए ।
८० प्रतिशत घर ध्वस्त, बैंक र बजार बन्द
गोरखाका ८०÷८५ प्रतिशत घर भत्किएर ध्वस्त भएका उनले जानकारी दिए । गाउँका युवायुवती काठमाडौँमा छन् । गाउँघरमा वृद्धवृद्धा र केटाकेटीमात्र भएकाले केही गर्नसक्ने अवस्था छैन । गोरखा सदरमुकामलगायतका बजारका पसल पूरै बन्द छन् । अत्यावश्यक सेवाका बैंक र तिनका एटीएम काउन्टर पनि खुलेका छैनन् । पैसा भएकाले पनि खानेकुरा किन्न सकेका छैनन् ।
बैंकमा पैसा भएका तर खल्तीमा नभएकाहरुले बैंक वा एटिएम प्रयोग गर्न नपाउँदा बेखर्ची भएका छन् ।
गोरखाको स्याला जाने बाटो केही बिग्रिए पनि अरु स्थानका सडकमा खासै क्षति पुगेको छैन । त्यसैले पदयात्रामा निस्किएकाहरु सुरक्षित रहेको अनुमान छ । तर, विजुली नभएकाले उनीहरुले मोबाइल फोन चार्ज गर्न पाएका छैनन् । मोबाइल सम्पर्क नहुँदा सम्पर्क गर्न कठीन भएको छ । त्यसैले पदयात्रामा निस्किएका स्वदेशी÷विदेशी पर्यटकका आफन्तहरु चिन्तित भएका छन् ।
दलहरुको संयुक्त टोली
गोरखाका भुकम्प पीडितहरुको उद्धार र सेवाका लागि जिल्लामा क्रियाशील प्रमुख दलहरुले संयुक्त टोली गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संयुक्त टोली गठन गरी पीडितहरुको उद्दार तथा राहतका लागि खटिएका देवकोटाले जानकारी दिए । गोरखाका सभासदसमेत रहेका एमाओवादी नेता डा. बाबुराम भट्टराई पनि अहिले गोरखामै छन् ।
Discussion about this post