रत्ननगर । आन्तरिक राजस्व कार्यालय चितवनले आफ्नो सेवा क्षेत्रमा ‘भ्याट विशेष’ अभियान सुरू गरेको छ ।
हालै घोषणा भएका नगरपालिका क्षेत्रमा रहेका व्यावसायिक प्रतिष्ठानलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउन चितवन र नवलपरासीमा सो अभियान सुरू गरिएको हो ।
व्यावसायिक प्रतिष्ठानलाई पटक–पटक ताकेता गर्दा पनि भ्याटको दायरामा नआएपछि अनिवार्य रुपमा भ्याट ल्याउन भ्याट विशेष अभियान सुरू गरेको कार्यालयका प्रमुख कर अधिकृत टीकाराम भुसालले जानकारी दिए ।
प्यानबाट भ्याटमा ‘अपग्रेड’ गर्ने लक्ष्यअनुसार अभियानलाई तीव्रता दिइएको उनको भनाइ छ । नगरपालिका घोषणा भएका क्षेत्रमा सञ्चालित रेस्टुरेण्ट, बार, लज, हाडर्वेयर, इलेक्ट्रोनिक्स, काउन्सिलिङ सेन्टर, सटिङ–सुटिङ, टेलरिङ जस्ता व्यावसायिक प्रतिष्ठान भ्याटको दायरामा आउनुपर्ने प्रावधान छ ।
कर अधिकृत माधवप्रसाद दाहाल र गङ्गाराम अर्यालको नेतृत्वमा खटिएको टोलीले प्रत्येक व्यवसायीको कारोबारस्थलमा नै गई भ्याट दर्ता गर्ने फाराम भराई एक हप्ताभित्र कार्यालयमा आउन समय दिने गरेका छन् ।
चितवन र नवलपरासी सेवा क्षेत्र रहेको कार्यालयमा ४६१ प्यानमा रहेका व्यावसायिक प्रतिष्ठान भ्याटमा आउन नै पर्ने व्यवस्था छ । चैत मसान्तसम्म २९६ मात्रै भ्याटमा आएका छन् । अझै १६५ भ्याट बाहिर रहेपछि स्थलगतरुपमा अभियान गरिएको कर अधिकृत दाहालले जानकारी दिए । रासस
Discussion about this post