एलबी क्षेत्री
आवाजरहित वनभित्र स्थापित
यो सहरजस्तो
पर्यटकीय स्थल
सौराहामा प्रवेश गर्दा
कल्पनामा अनेकौँ
आवाजहरू प्रवेश गर्छन्
ती चराहरू
ती बाघहरू
आफ्नै आवाजका धनी
ती भालु, गैँडा र हात्तीहरू
र, निर्भीक मानव स्वरहरू
खै कहाँ गए ?
खै कता हरायो ध्रुवे ?
उसको लीला
उसको क्रीडा
उसको गर्जन
कता हराए ? मरिसके ?
तर, उसको गर्जनलाई
निस्तेज पार्ने
बन्दुकका श्रृङ्खलाबद्ध आवाजहरू
आज पनि जीवितै छन्
त्यसैले, त्रसित छन् आज पनि
ती चराहरू
बाघहरू
भालु, गैँडा र हात्तीहरू
र, भयभीत मानवहरू
कस्तो विडम्बना !
निश्शब्द
सुनसान
कतै कुनै आवाज छैन
यो सहरजस्तो
पर्यटकीय स्थल
सौराहामा
केही समयअघि मात्र
बन्दुक र बमहरूका गर्जनबीच
देशले दीपावली बिर्सेको थियो
ठूला–ठूला भवनहरू
ध्वस्त भएका थिए
बन्दुकहरूको पड्काइसँगै
के पुरुष के महिला
के बालक के बालिका
अनगिन्ती लासहरू
भुइँमा ढलेका थिए
पुत्रविहीन, पिताविहीन
र, पतिविहीनहरूको
कुनै गन्ती थिएन
र, त्यही दिनदेखि
निस्तेज भएको छ
अन्यायका विरुद्ध
उठ्नुपर्ने मानव आवाज
नेपाल खुले खुलिरहोस्
बन्द भए भइरहोस्
हामीलाई अब अरू कुनै
आफन्त गुमाउनु छैन
विरोधको कुनै आवाज
निकाल्नु छैन
सबैलाई संरक्षण दिनुपर्ने
प्रकृतिको राजधानी सौराहा
असुरक्षित जीवन बाँचिरहेको पाउँदा
एउटा आन्दोलन गर्न मन लाग्यो
कलम समातेर संरक्षण कविता
कोर्न मन लाग्यो
ती बन्दुक र बमका भन्दा पनि
चर्को आवाज
निकाल्न मन लाग्यो
डराइडराइ बस्नेहरूलाई
हराइहराइ बाँच्नेहरूलाई
कविताको आवाज
सुनाउन मन लाग्यो
देश र देशवासीलाई
कविताको शक्तिसँग
परिचय गराउन मन लाग्यो
यो सहरजस्तो
पर्यटकीय स्थल
सौराहामा ।
Discussion about this post