–हेम रोकाहा
भरतपुर । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको लोकतन्त्रको नौ वर्ष पूरा भएको छ । लोकतन्त्रप्रति नेपाली जनताको असीमित लगाव छ । देशमा अमनचयनका लागि जनताहरु जनआन्दोलनमा होमिएका थिए ।
लोकतन्त्र आएपछि सुशासनको वातावरण सिर्जना भएको र नागरिकहरु स्वतन्त्र हुन पाउनु नै लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भएको चितवनका जिल्ला प्रमुख अधिकारी मानबहादुर विकेको बुझाइ छ । लोकतन्त्रले समृद्धिको बाटो खोलेको उनले बताए । संविधान बनेपछिमात्र लोकतन्त्र संस्थागत हुनसक्ने उनको भनाइ छ ।
लोकतन्त्रले मानिसको चेतनामा अभिवृद्धि भएको र मानिसहरुले पहिलेभन्दा भिन्दै सकारात्मक किसिमको कुरा गर्न थालेको चितवनका कवि भूपिनको ठम्याइ छ । तर, प्रभावकारी रुपमा लोकतन्त्रको सौन्दर्यलाई अनुभूति गर्न नपाएको उनले बताए ।
हामीले लोकतन्त्रको अभ्यास गर्नुपर्छ भनेर बारम्बार सुन्ने र देख्ने गरेको भए पनि यसलाई व्यवहारमा उतार्न नसक्नु नै लोकतन्त्रको दुःखद् पक्ष भएको प्रगतिशील लेखक संघ चितवनकी अध्यक्ष सरिता तिवारीले बताइन् । सीमान्तकृत नागरिकको पक्षमा लोकतन्त्रले काम गर्न नसकेको हुँदा लोकतन्त्र दिवस भनेर मनाउनुको औचित्य नभएको उनको भनाइ छ ।
लोकतन्त्रको आडमा ह्रिंसक मानिसहरुको पनि विकास भइरहेको अग्रगामी समाज नेपाल चितवनका अध्यक्ष प्रभाकर पण्डितको भनाइ छ । नेताहरुको गलत दृष्टिले लोकतन्त्र संस्थागत हुन नसकेको उनले बताए ।
लोकतन्त्रलाई हाक्नेहरुको कमजोरीले गर्दा लोकतन्त्रले गति पाउन नसकेको गीतकार प्रेमविनोद नन्दनको विश्लेषण छ । राजनीतिक अस्थिरता नै लोकतन्त्र संस्थागत नहुनुको कारकतत्व रहेको उनले बताए ।
लोकतन्त्रको विषयमा भरिया, मजदुर तथा फुटपाथ व्यापारीजस्ता आम सर्वसाधारणलाई भने न्यूनतम ज्ञान पनि नभएको पाइन्छ । नारायणगढमा मजदुरी गरेर दैनिक छाक टारिरहेका कृष्ण परियारलाई लोकतन्त्रको बारेमा सोध्दा उनले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । लोकतन्त्रको उपलब्धि उनीजस्ता मजदुरको लागि शून्य सावित भएको छ ।
लोकतन्त्रलाई आफूले नेताहरुको जनता भुलाउने बाटोको रुपमा परिभाषित गरेको नारायणगढमा फलफूल बेच्दै गरेकी सावित्री सापकोटाले बताइन् । लोकतन्त्रले आफूहरुजस्ता गरिब जनताको जीवनस्तर उकास्न नसकेको उनको भनाइ छ ।
जनआन्दोलनका सहिद परिवार एवम् घाइते समिति चितवनका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ नेताहरुका कारण लोकतन्त्रको उपेक्षा भएको जनाए । पछिल्लो समय लोकतन्त्र नेताहरुको सत्तारोहण गर्ने भ¥याङ बनिरहेको उनको भनाइ छ ।
लोकतन्त्र विधिको शासन हो भन्ने कुरा दलका नेताहरुले भल्दै भइरहेका छन् । गरिब निमुखा जनताको निम्ति लोकतन्त्रको औचित्य देखिएको पाइँदैन । समयमा नै संविधान दिएर जनताहरुको घाउमा मल्हम लगाउनु आवश्यक देखिएको छ ।
Discussion about this post