– केशव भट्टराई
सलाङ–७, धादिङका एकल सिलवालले चितवनलाई कर्मथलो बनाई पत्रकारितामा सक्रिय भए । २०३६ सालमा जन्मिएका सिलवालले २०५५ मा चितवन पोष्ट दैनिकबाट पत्रकारिता सुरू गरेका हुन् । सामान्य जीवनशैलीका उनले पत्रकारिताका माध्यमबाट सामाजिक परिवर्तनमा अमूल्य योगदान पु¥याएका थिए । करिब डेढ दशकको सक्रिय पत्रकारिता जीवनमा विपन्न वर्गको हितमा समर्पित रहे । केही वर्षदेखि उनले आफ्नो भूमिका परिवर्तन गरेका छन् । मितेरी फाउन्डेसन नेपाल नामक संस्थामार्फत सामाजिक अभियन्ताका रुपमा लोथरको कान्दाका चेपाङ समुदायको जीवनस्तर परिवर्तन गर्ने अभियानमा उनी जुटेका छन् । प्रस्तुत छ, समाजसेवामा प्रतिबद्ध सिलवालसँग गरिएको साक्षात्कार ः
१. निकै व्यस्त देखिनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ ?
– देखिएजस्तो बढी व्यस्त
छैन । कर्तव्यपालनका सामान्य कर्मसँगै दिनहरु बितिरहेका छन् ।
२. चितवनको विकट कान्दाका चेपाङ समुदायको जीवनस्तर सुधार्ने अभियानमा समर्पित हुनुहुन्छ । कान्दाका चेपाङ समुदायमा कस्तो परिवर्तन आएको पाउनुभएको छ ?
– कान्दालीहरुको जीवनयात्रा आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको छ । अभावग्रस्त जनजीवनमा आशाका किरणहरु देखा पर्न थालेका छन् । अहिले देख्न सकिने परिवर्तन त्यति नै हो ।
३. चेपाङको संरक्षणका लागि राज्यले कस्तो नीति अख्तियार गर्नुपर्ला ?
–राज्यले उहाँहरुको आवश्यकता पहिल्याएर त्यसलाई पूरा गर्नमा सघाइदिए पुग्छ । जस्तो कि, शिशु अवस्थामा रोग र कुपोषणबाट बचाउने, बाल्यावस्थामा सर्वसुलभ तवरबाट रूचिअनुसारको शिक्षा दिने, किशोरावस्थामा सही मार्ग देखाइदिने, युवावस्थामा सीप र दक्षताअनुसारको रोजगारीको वातावरण बनाइदिने, वयस्क अवस्थामा जीविकोपार्जनका लागि सहुलियतको व्यवस्था गरिदिने र वृद्धावस्थामा सामाजिक सुरक्षा दिने । त्यति भएपछि आफ्नो संरक्षण गर्न उहाँहरु आफैँ सक्षम हुनुहुने छ ।
४. तपाईं समाजसेवामै होमिनुभयो, यसले निरन्तरता पाउने सम्भावना कत्तिको छ ?
– मचाहिँ आफूलाई समाजसेवामा होमिएको ठान्दिनँ । जे–जे गर्दा आफूलाई आनन्द मिल्छ, त्यहीत्यही कर्ममा रमाइरहेको मात्र हुँ । आफ्नै खुशी खोसेर त कसरी बाँच्न सकिएला र ! त्यस कारण, अहिले हिँडिरहेको गोरेटो छाडेर फरक बाटो पछ्याउने मति सायद नआउला ।
५. तपाईं सामान्य वर्गकै व्यक्तित्व हुनुहुन्छ । नेपालको सन्दर्भमा त समाजसेवा धन हुने वर्गले गर्ने काम हो भनिन्छ नि ?
– भोक मेट्न पुग्ने गाँस, शरीर ढाक्न पुग्ने कपास र टाउको ओत्न पुग्ने बासबाहेक बाँकी सबै बकवास लाग्छ मलाई । त्यस कारण, म आफूलाई सम्पन्नशाली नै ठान्दछु । किनभने, मलाई हरेक दिन भोक मेट्न, शरीर ढाक्न र टाउको ओत्न चाहिनेभन्दा बढी नै साधनहरु उपलब्ध भइरहेका छन् । ती चीजहरु चाहिनेभन्दा बढी भएपछि आफ्ना लागि काम लाग्दैनन्, अरुकै लागि छोड्नुपर्छ । फेरि यी पदार्थहरु सबै समयका उपज हुन् । त्यस कारण, म सम्पूर्ण सम्पत्तिको स्रोत सिद्ध भएको त्यही अमूल्य समयले सम्पन्न छु । रूपैयाँपैसालाई मात्र धन मान्ने सोचले नै हामीलाई कहिल्यै छुटकारा नपाउने गरी दुःखले लखेटिरहेको छ र आफूलाई चाहिनेभन्दा बढी भएर पनि सधैँ दरिद्र बनाइरहेको छ । यसको अर्थ रूपैयाँपैसालाई घृणा गर्नुपर्छ भन्ने पटक्कै होइन । त्योभन्दा पनि मूल्यवान सम्पत्ति समय हो । कसैले समयलाई द्रव्यमा बदलेर मानव सेवामा खर्च गर्छन्, कसैले आफूसँग भएको समयलाई नै मूल धनका रुपमा उपयोग गर्छन् । मैले दोस्रो तरिका अपनाएको छु ।
६. तपाईंको जीवनशैली पनि विपन्न चेपाङको भन्दा फरक देखिँदैन । यस्तो दुःख गर्न किन रूचाउनुभयो ?
– हाम्रा अधिकांश चेपाङ दाजुभाइ तथा दिदीबहिनीहरु आज पनि कयौँ छाकदेखि खानेकुरा नपाएर पेट भोको हुँदा अनिकालको गीत बनाएर गाउनुहुन्छ र भोक बिर्संदै रमाउनुहुन्छ । सर्वांग नांगै स्कुल हिँडेका साना नानीबाबुहरु झकिझकाउ वस्त्रमा ठाँटिएका बटुवा भेटिँदा आफ्नै जीउतिर हेरेर मुसुक्क हाँस्न बिर्संदैनन् । टाउको लुकाउने बाससमेत बनाउन नसकी ओडारमा आश्रित बाआमाहरु पाहुना आएको दिन त्यही ओडार पनि सुम्पिएर रुखमुनि रात काट्न जाँदा विरह बोक्नुहुन्न । उहाँहरुको जस्तै दुःखसँग दौँतरी गाँसेर आशा र आशक्तिलाई जित्न सक्ने जीवन त मैले कहाँ जिउन सकेको छु र !
७. तपाईंको विशेषताका रुपमा यस्ता भनाइ सुुनिन्छन्– जागिर खान चाहनुहुन्न, पैसा कमाउन चाहनुहुन्न र सुखसयलमा बाँच्न चाहनुहुन्न । यी भनाइमा सत्यता छ ?
– सबैका आ–आफ्ना विशेषता भएर नै संसार रंगीचंगी फूलहरुको बगैँचाजस्तो देखिएको छ । सबै मान्छेका मौलिक विशेषताहरु स्वभावजनित हुन्छन् । यावत् मानवीय स्वभाव र विशेषताहरुप्रति मेरो कुनै अनादर भाव छैन । मेरा चाखका विषयहरु अलि पृथक् भएकाले मप्रतिको यो बुझाइलाई गलत ठान्दिनँ । जीवनयात्रामा जागिर, पैसा र पदार्थहरुबाट प्राप्त सुखसयल अल्पकालीन र दुःखदायक हुन्छ भन्ने म ठान्दछु । यिनीहरुले अल्झाएनन् भने एक दिन अवश्य आनन्दलोक पुगिन्छ भन्ने विश्वासमा छु । त्यस कारण, अहिले त्यसैको साधना भइरहेको छ ।
८. तपाईं स्नातकोत्तर हासिल गरिसकेको मान्छे, विगतमा पत्रकारिता पनि गर्नुभयो । अहिले सक्रिय पत्रकारिताबाट किन टाढा रहनुभयो ?
– पत्रकारिताको मूल उद्देश्य जनहित हो । मैले त्यसलाई छाडेको छैन । पहिले परोक्ष रुपले गरिन्थ्यो भने अहिले अलि बढी प्रत्यक्ष शैली अपनाएको मात्र हो । कर्म फरक देखिए पनि मर्म एकै हो ।
९. पत्रकारिता र समाजसेवा परिपूरक नै मानिन्छन् । यी दुईमध्ये कुनमा बढी सन्तुष्टि पाउनुभयो ?
– सन्तुष्टि आत्मामा छ भने कर्म जे गरे पनि त्यो उत्तिकै मिल्दोरहेछ । फरक–फरक समय र कर्मक्षेत्रमा समान आत्मसन्तुष्टि बोध भएको छ ।
१०. नेपालको परिप्रेक्ष्यमा समाजसेवा गरेर तपाईं हामीजस्तो आर्थिक पृष्ठभूमिको व्यक्तिले आफू र आफ्नो परिवार पाल्न सकिन्छ र ?
– मलाई आफू समाजसेवा गरिरहेको छु जस्तो कहिल्यै लाग्दैन । तपाईंले हेर्दा त्यस्तो देखियो होला, तर वास्तवमा मैले समाजको सेवाभन्दा बढी आफ्नै लागि आनन्द आर्जन गरिरहेको हुँ । जीवनमा सित्तैमा प्राप्त भएको समय दिएर पाएको अपार आनन्द कसैलाई बाँड्नु परेको पनि छैन । अर्को कुरा, अब परिवारको परिभाषा पनि बदल्ने बेला भएको छ । आफू जन्मिएर वा साइनो गाँसिएर सिर्जना भएको एउटा घरभित्रको सानो एकाइलाई मात्र परिवार मान्ने प्रचलनबाट नै मानव समुदायलाई एकांगी, स्वार्थी, संकुचित, द्रव्यदासी र परपीडक बन्न बल मिलेको हो । परिवारलाई बाँध्ने बन्धन भनेको प्रेम हो, जसलाई चार भित्ताभित्र बन्दी बनाएर राख्न सकिँदैन । मानव सेवा गर्नु भनेकै ‘परिवार’ को संकुचित परिभाषालाई भत्काएर बृहत् परिवारको सृष्टि गर्नु हो । यो विशालतालाई बुझ्ने हो भने चलनचल्तीमा ‘परिवार’ भनिने सानो एकाइको पालनपोषण र रेखदेख गर्ने दायराभित्र मानव सेवालाई खुम्च्याइरहनु पर्दैन ।
११. समाजसेवामा सक्रिय रहन तपाईंले कुन व्यक्ति वा घटनाबाट प्रेरणा पाउनुभयो ?
–पाँच वर्षअघि चितवनको लोथर गाविसमा पर्ने कान्दा गाउँमा अनिकालको बेला भोक मेट्न खाएको जंगली च्याउ विषालु परेपछि एकै घरका आठ जनाले ज्यान गुमाएका थिए । विषालु च्याउले ६० वर्षका बाबुराम चेपाङ, उनकी श्रीमती र एउटी नातिनीको घरमै मृत्यु भयो । बाँकी पाँच बिरामीलाई चितवनकै भण्डाराबाट गएर एक दशकअघिदेखि गाउँको सेवामा निस्वार्थ भावले समर्पित भएका शिक्षक बालकृष्ण थपलियाले उद्धार गरी भरतपुर अस्पताल पु¥याए । तर, च्याउ खाएको आठौँ दिनसम्ममा आठै जना सकिए ।
चितवनदेखि काठमाडौँसम्मका विभिन्न अस्पतालहरुमा आफैँलाई जमानत राखेर बिरामीको उपचार गराउँदागराउँदै सबैको ज्यान गएपछि उनीहरुको अन्त्येष्टि गरेर रित्तै गाउँ फर्केका शिक्षक थपलियाको सत्कर्मबारे मैले मेरा आत्मीय साथी रमेशकुमार पौडेलबाट जानकारी पाएँ । चितवनमा बसेर सक्रिय पत्रकारिता गरिरहे पनि त्यो घटनाका बेला म थाइल्यान्डको जोमटिन सहरमा आयोजित एउटा अन्तर्राष्ट्रिय तालिममा भाग लिइरहेको थिएँ । उताबाट फर्किएपछि रमेशजीकै अग्रसरतामा म र चितवनकै क्रियाशील पत्रकार प्रतिमा सिलवाल तिनै शिक्षक बालकृष्णको साथ लागेर २०६७ असार ३ गते पहिलोपटक कान्दा गाउँ गएका थियौँ । त्यसदिनको यात्रामा देखा परेका केही कारूणिक दृश्यहरुबाट स्तब्ध भएपछि मेरा बन्द आँखा खुल्न पुगेका हुन् ।
समाचार बटुल्न कान्दा जाँदा हामीले धोएर छानामा सुकाएको एकजोर सर्ट–पाइन्ट कतिबेला सुक्ला र लगाऊँला भनी छानामुनि नांगै बसेर त्यही कपडा हेरिरहेका कलिला किशोरलाई देख्यौँ । कपडाको नाममा उनीसँग त्यही एकजोर सर्ट–पाइन्टमात्र थियो । अर्को दृश्यमा चार दिनदेखि पेटभरि खान नपाएकी सुत्केरी आमा र उनका आठ लालाबाला झुपडीभित्र कलेटी परेका ओठ लिएर आहाराको प्रतीक्षा गरिरहेका भेटिए । उनीहरुमध्ये कसैको पूरै र कसैको आधा नांगो आङले ढुंगे युगमा बाँचिरहेको आदिम समाजको झल्को दिन्थ्यो ।
त्यही घरका तीन बालक कपडा नभएर स्कुल आउन छाडेपछि आफूले एकजोर सर्ट–पाइन्ट किनेर दिएको र त्यसपछि उनीहरु त्यही कपडा लगाएर पालैपालो स्कुल आउन थालेको दुर्दान्त कथा पनि शिक्षक बालकृष्णले सुनाए । ती स्कुले बालकहरुले पालो पर्खेर एकजोर साझा कपडा लगाएको कहानी सुन्दा मेरा केही जोर जगेडा कपडाहरु फरक–फरक ठाउँमा मलाई पर्खिइरहेका थिए । हामीले आफैँसँग भएका कपडाबाट एक–एक जोर बाँडे पनि आफ्नो आँखाअगाडिको नांगो आङ ढाक्न पुग्दोरहेछ भन्ने ज्ञान त्यसैबेला प्राप्त भयो ।
हामीले कान्दाको प्राथमिक विद्यालयमा पढाइ भइरहेको कक्षा कोठा देख्यौँ, जहाँ आधासरो विद्यार्थी वस्त्रविहीन थिए । कपडा लगाएका पनि अधिकांशले आधा ज्यानमात्र ढाक्न पाएका थिए । ती बालबालिकाको पछि लागेर घरघरमा जाँदा उनका आमाबाबुको हालत पनि उस्तै थियो । आङमा न्यानो र पेटमा मानो थिएन, तैपनि सन्तोषले बाँचिरहेका थिए उनीहरु ।
कान्दालीहरुको दुःखकष्टका समाचार अखबारमा लेखेर पनि जनजीवन बदल्न सकिन्थ्यो होला, तर मलाई त्यो गाउँको अभाव र अनिकालग्रस्त अनुहार देखाएर आफ्नो रोजीरोटी चलाउनुभन्दा कर्म गरेर गाउँको अनुहार बदल्ने र त्यहाँको सुख–समृद्धिका समाचार सार्वजनिक गर्ने आकांक्षा जाग्यो । त्यसका लागि केही समय खर्चेर पहिले गाउँ बदल्नुपथ्र्यो, अनिमात्र सुखद समाचार लेख्ने समय आउँथ्यो । त्यही आकांक्षाले डो¥याएर नै मलाई कान्दा गाउँ बदलिएको हेर्ने निहुँमा मानव सेवाको कर्तव्यपथमा मोडिने सौभाग्य मिल्यो ।
१२. तपाईंको नेतृत्वमा स्थापित मितेरी फाउन्डेसन नेपालको जन्म कसरी भयो र अहिले यो संस्थाले के काम गरिरहेको छ ?
– कान्दाको पहिलो यात्राबाट फर्किएपछि मलाई त्यो गाउँको अनुहार बदल्ने अभिलाषाले चिमोट्न थाल्यो । भोका पेट र नांगा आङ देखिने तस्बिरहरुको ठाउँमा अघाएका पेट र ढाकिएको आङ देख्ने चाहनाले बेचैन बनायो । कान्दामा खिचिएका सबै तस्बिरहरु लिएर चितवनबाट काठमाडौँ गएँ । मेरा मीत रंगकर्मी रवीन्द्रसिंह बानियाँलाई देखाएँ र कान्दाको कथा पनि सुनाएँ । उहाँले मेरो सोचलाई समर्थनमात्र गर्नुभएन, ‘जनहितका लागि मीत’ भन्ने नारा दिएर ‘मिसन कान्दा’ नामको कल्याणकारी अभियानको सूत्रपात पनि गर्नुभयो ।
२०६७ को साउन महिनामा मीत–मीत मिलेर फेरि कान्दा गयौँ र जनसंख्या विवरण संकलन गरी फर्कियौँ । त्यसबेला हामीलाई कान्दा स्कुलका अर्का शिक्षक सहदेव पाठकको साथ मिल्यो । त्यसपछि मीतज्यूकै परिकल्पनामा हामीले फेसबुकको उपयोग गरी कान्दाका लागि हजारौँ थान लत्ताकपडा र झन्डै डेढ लाख रूपैयाँ नगद संकलन ग¥यौँ । संकलित नगदबाट गाउँभरका ५६ परिवारका लागि खाद्यान्न खरिद ग¥यौँ । त्यस वर्षको दसैँमा कान्दालीहरुलाई लत्ताकपडा र खाद्यान्न वितरण गरियो ।
फेसबुक अभियानबाट संकलित नगद र गाउँलेको जनश्रमदान मिलाएर पहिरोले क्षतिग्रस्त कान्देश्वरी प्राथमिक विद्यालयको भवन मर्मत ग¥यौँ । च्याउ खाएर सिकिस्त भएका बिरामीको उपचार गराउँदा र अन्त्येष्टि गर्दा पीडित परिवारलाई लागेको ऋण पनि तिर्न सक्यौँ । बचेको पैसाबाट लोथर गाविसको कालिटारमा तीनदिने स्वास्थ्य शिविर सञ्चालन ग¥यौँ ।
त्यसैक्रममा वरिष्ठ पत्रकार एवम् लेखक रवीन्द्र मिश्रले आफ्नो पहिलो पुस्तक ‘भूमध्यरेखा’ बाट प्राप्त हुने लेखकस्व रकम कान्दाका लागि चलिरहेको सहयोग मिसनमा योगदान गर्ने घोषणा गर्नुभयो र कान्दाको एउटा तस्बिरसहित त्यो जानकारी आफ्नो पुस्तकमा पनि राख्नुभयो । उहाँको किताबबाट कान्दाका लागि तीन महिनामा २ लाख २८ हजार रूपैयाँ संकलन भएछ । त्यही पैसा व्यक्तिगत रुपमा हात थाप्नुभन्दा पारदर्शिता र जवाफदेहिताको हिसाबले संस्थागत रुपमा स्वीकार्नु उत्तम लाग्यो ।
अन्ततः हामीले २०६७ चैत २५ गते मूलतः रवीन्द्र मिश्रज्यूबाट प्राप्त सहयोग स्वीकार्नकै लागि मितेरी फाउन्डेसन नेपालको स्थापना ग¥यौँ । उहाँबाट प्राप्त सहयोगमा केही रकम थप गरी कान्दाका १० जना बालबालिकालाई आवासीय शिक्षाका लागि पूर्वी चितवनको खैरहनीस्थित अन्त्योदय जनजाति विद्यालयमा भर्ना गरेर अभियानलाई संस्थागत गरेका थियौँ । मिश्रको दोस्रो किताब ‘खान पुगोस् दिन पुगोस्’ मार्फत प्राप्त ५ लाख १८ हजार रूपैयाँ लेखक स्वयंले हामीलाई हस्तान्तरण गर्नुभयो । त्यसबाट हामीले चेपाङ बालबालिकाकै शैक्षिक सहयोगार्थ ‘खान पुगोस् दिन पुगोस्’ अक्षय कोष स्थापना गरेका छौँ । १० लाख रूपैयाँ पु¥याउने लक्ष्य राखिएको यो कोषमा अहिले ७ लाख जम्मा भइसकेको छ ।
गाउँ र सहरबीच मित्रता र सद्भावको आदानप्रदान गर्नु मितेरी फाउन्डेसनको मूल उद्देश्य हो । हामी दुर्गम गाउँ र सुगम सहरका मन मिल्ने मित्रहरुबीच मीत लगाएर साइनो गाँस्ने अभियानलाई पनि प्रोत्साहन गर्ने गर्छौं । संस्थामा पत्रकार साथीहरु, डाक्टर तथा नर्सहरु, कलाकारहरु र सामाजिक सेवामा लागेका व्यक्तित्वहरु संगठित हुनुहुन्छ ।
१३. चितवनको विकट लोथर गाविसको कान्दामा तपाईंको झुकाव बढेपछि अहिलेसम्म त्यहाँ जनचेतना, भौतिक विकास र शिक्षाको क्षेत्रमा के–कस्ता कामहरु भएका छन् ?
–सिंगो गाउँलाई आत्मनिर्भर बनाउन हामीले सुरूदेखि नै त्यहाँको शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा सक्दो सेवा पु¥याउँदै आएका छौँ । लोथर–९ का दुईवटा विद्यालयमा विद्यार्थीहरुका लागि दिउँसोको खाजा व्यवस्था गरिएको छ । गाउँका ३० जना बालबालिकाहरु चितवन र काठमाडाँैका विभिन्न विद्यालयहरुमा आवासीय सुविधाका साथ उत्कृष्ट शिक्षा लिइरहेका छन् ।
जनस्वास्थ्य, कृषि र पशुस्वास्थ्य शिविरहरु सञ्चालन गर्ने गरिएको छ । परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा गाउँमै उपलब्ध गराइएको छ । स्थानीय बासिन्दालाई सिकर्मी, डकर्मी, ड्राइभिङ, मुढा बुनाइलगायतका व्यावसायिक सीपमूलक तालिमहरु दिइएको छ । स्थानीय बासिन्दाहरु उद्यमशील हुँदै गएका छन् भने सार्वजनिक निकायमा पुगेर आफ्नो आवश्यकता राख्न सक्ने पनि भएका छन् । पाँच वर्षअघि मासिक १० रूपैयाँ बचतबाट सुरू भएको कोषमा एक लाखभन्दा बढी बचत जम्मा भएको छ । अब त्यसलाई सहकारीका रुपमा दर्ता गर्ने तयारी भइरहेको छ । गाउँमा जाने बाटो सुधार भएको छ । सरसफाइसम्बन्धी चेतना बढेको छ ।
मेरो व्यक्तिगत झुकावले भन्दा पनि संस्थाका प्रतिबद्ध साथीहरु, अनेकौँ शुभचिन्तक, सहयोगी तथा सत्पात्र व्यक्तित्वहरुको सत्कर्मका कारण नै कान्दा गाउँले काँचुली फेर्दै गएको छ । अहिले त्यहाँको विकासमा हाम्रो सहयोगी संस्था लक्ष्मी प्रतिष्ठान काठमाडौँले समाज रुपान्तरणको उत्कृष्ट नमुना प्रदर्शन गरिरहेको छ । प्रतिष्ठानको अग्रसरता, अनेकौँ सहयोगी व्यक्तित्वहरुको योगदान र स्थानीय बासिन्दाको श्रमदानबाट गाउँमा प्रत्येक परिवारका लागि सुरक्षित घरहरु बनिरहेका छन् । कान्देश्वरी प्राथमिक विद्यालयको १ सय जनाभन्दा बढी विद्यार्थीलाई आवास र खानाको व्यवस्था गर्न लक्ष्मी प्रतिष्ठानले छात्रावास निर्माण गरिरहेको छ । त्यस कार्यमा प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम अहोरात्र खटिइरहनुभएको छ ।
त्यसबाहेक, लक्ष्मी प्रतिष्ठान र मितेरी फाउन्डेसनको सहकार्यमा स्थानीय समुदायका लागि दुई वर्षअघि जुम्लाबाट ल्याएर रोपिएका स्याउका बिरूवाहरु हुर्कंदै गएका छन् । लक्ष्मी प्रतिष्ठानले गत वर्ष पनि थप स्याउका बिरूवा र विभिन्न जातका फलफूलहरु रोपेर घरैपिच्छे फल फलाउने अभियान चलाएको छ । नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा प्रत्येक घरमा सोलार टुकी जडान भएको छ । यस वर्ष केन्द्रीय योजनाबाट कान्दा जाने सडक निर्माण हुँदैछ । विभिन्न सरकारी निकायहरुसँगै कान्दाको विकासमा हेल्प नेपाल नेटवर्क, चिल्ड्रेन अफ द स्ट्रिट, द क्रियटिङ पोसिबिलिटिज, ग्लोबल एक्सन कोअलिसनलगायतका कल्याणकारी संस्थाहरुसँग पनि हामी हातेमालो गरिरहेका छौँ ।
१४. कान्दापछि तपाईंको संस्थाले कुन क्षेत्रको ‘मिसन’ बनाएको छ ?
– कान्दा पुग्न अझै पनि चितवनको सदरमुकाम भरतपुरबाट गाडी र पैदल बाटो भएर दिनभर यात्रा गर्नुपर्छ । त्यहाँको विपन्नता जिल्लाको अपवाद भने होइन । त्यस्ता गाउँहरु चितवनको पहाडी भूभागमा अरु पनि थुप्रै छन् । त्यस कारण, हामीले सुरूमै कान्दामा सेवारम्भ गर्दा स्थानीय बासिन्दाहरुसँग ‘कान्दा गाउँ नमुना बनाऊँ, अर्को गाउँ बनाउन सँगसँगै जाऊँ’ भन्ने आह्वान् गरेका थियौँ । त्यसै मुताविक हामी अब निकट भनिष्यमै कान्दाबाट काउले गाविसका सबै विद्यालयहरुमा विद्यार्थीका लागि सहयोग लिएर जाँदैछौँ । त्यसको थालनी क्रिकेट खेलका नेपाली राष्ट्रिय प्रशिक्षक पुबुदु दशानायके र सिंगो नेपाली क्रिकेट टोलीसँगको सहकार्यमा हुँदैछ । यसबारे अहिलेलाई यतिमात्र ।
१५. समाजसेवामा जुट्न चाहनेलाई के सन्देश दिन चाहनुहुन्छ ?
– मान्छेले जीवनमा पाएको सबैभन्दा निजी सम्पत्ति भनेको आफ्नो शरीर हो । यो पनि अन्त्यमा पृथ्वीलाई फिर्ता दिनुपर्छ । त्यसकारण, आफूलाई प्राप्त शरीर, सम्पत्ति र समय सबै काम चलाउनका लागि पाएको साधन हो भन्ने ठानौँ । जन्मेदेखि हामी आफ्ना लागि भनेर जे–जति गछौँ, त्यो सबै काम मृत्युको तयारीमात्र हो । लोभलालचको पछि दगुरिरहेको मानव र एउटा जटिल भूलभूलैयाको बाटो पछ्याइरहेको पशुको भ्रम उस्तैउस्तै हो । कहाँ न पुगेँजस्तो लाग्छ, तर पुग्ने ठाउँ आखिर आँखैअगाडि टुंगिन्छ । सबैको गन्तव्य एउटै भएपछि हतार नगरे पनि एक दिन अवश्य पुगिन्छ । आफ्नो लागि संकलन गरिएका सबै वैभवहरु जति लोभ गरेर राखे पनि मृत्यु आएर एक दिन खोस्छ खोस्छ । तसर्थ आफूसँग जे छ, त्यसलाई बाँडेर बाँची हेरौँ । लोभविरूद्धको लडाइँमा कहिल्यै नहारौँ ।
¨¨
Discussion about this post