हेम रोकाहा
कोराक । चितवन भन्नसाथ धेरैले महेन्द्र राजमार्गको केन्द्रमा पर्ने मध्यमाञ्चलकै विकसित जिल्लाको रुपमा कल्पना गरेका हुन्छन् । तर, चितवनमा नै केही यस्ता ठाउँहरु छन्, जहाँ विकास र आधुनिकताको स्वादसम्म मानिसहरुले चाख्न पाएका छैनन् ।
विकासको स्वाद चाख्न नपाएको सूचीमा कोराक गाविस पनि पर्छ । यो गाविस भौगोलिक बनावटले त दुर्गम छ नै, त्यसमा पनि जिल्लाको विकास परियोजनामा पनि पछि परेको देखिन्छ । आधुनिक सडक मार्गले भर्खरमात्र छोएको यो क्षेत्रमा विद्युतीय स्रोतको रुपमा सोलारको भर पर्नु परेको कोराक गाविसका सचिव चन्द्रकान्त न्यौपानेले बताए ।
कोराककोे ठकुरी भञ्ज्याङमा एकमात्र उपस्वास्थ्य चौकी छ । कोराकको विकट कान्दा गाउँबाट स्वास्थ्यचौकी जान एक दिनको बाटो हिँड्नु पर्ने बाध्यता छ । स्वास्थ्य चौकीसम्म बिरामीलाई पु¥याउँदै गर्दा बिरामीको बाटैमा ज्यान जाने गरेको स्थानीय तेजबहादुर तामाङले दुःखेसो पोखे ।
कोराकमा खानेपानीको पनि राम्रो व्यवस्था हुन सकेको छैन । खापानीको लागि स्थानीय एकमात्र स्रोत लिप्पी खोलामा निर्भर हुनु परेको कान्दा निवासी एक महिलाले बताइन् । उनी दिनहुँ करिब एक घण्टाको बाटो हिँडेर पानी ल्याउने गरेको जानकारी दिइन् ।
कोराक गाविसभरि जम्मा एक मावि, तीन निमावि तथा १० प्रावि रहे पनि विद्यालयहरुमा विद्यार्थीको आशा गरेजस्तो उपस्थिति नरहेको सचिव न्यौपानेले बताए । गाविसबाट चेपाङ समुदायका निम्ति निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि उल्लेख्य विद्यार्थी पढ्न नै आउँदैनन् ।
यस क्षेत्रमा प्रायः चेपाङ तथा तामाङ जातिको बसोबास रहेको पाइन्छ जो शिक्षाबाट निकै पछाडि परेका छन् । अशिक्षा र गरिबीका कारण अधिकांश स्थानीय बासिन्दा वनजंगलको भर पर्नु परेको र जसले गर्दा तीव्ररुपमा वन विनाश भइरहेको स्थानीय शान्ति तामाङले बताइन् ।
‘पहिले–पहिले नयाँ–नयाँ चराहरुको आवाज सुन्न पाइन्थ्यो, आजभोलि वनविनाशले गर्दा सबै चराहरु बसाइँ सरे’, तामाङले भनिन् । पर्यटकीयस्थलको रुपमा विकास गर्न लागिएको यस क्षेत्रमा विकासका पूर्वाधारहरु पु¥याउन सकिएको छैन ।
विकासले नछोएको कोराकलाई समग्र विकासमा डोहो¥याउन हेफर इन्टरनेशनलले ‘कोराकमा हेफर इन्टरनेशनल’ नामको कार्यक्रम सञ्चालन गरेको छ । हेफरले स्थानीय स्वरोजगार केन्द्र (एसएसके) मार्फत विभिन्न कार्यक्रमहरु ल्याएको कार्यक्रमका संयोजक भरत घिमिरेले जानकारी दिए ।
एसएसकेमार्फत स्थानीय जनताको लागि पशुपालन तालिम, बचत तालिमलगायतका कार्यक्रमहरु छन् । स्थानीयलाई बाख्राका पाठापाठी तथा उन्नतजातका घाँसका बीउ अनुदान दिएको उनको भनाइ छ । यस्तै केही संघ संस्थाहरुको सहयोगमा निर्भर रहेका यहाँका स्थानीय जनता राज्यले ल्याउने विकासको बाटो हेरेर बसिरहेका छन् ।
Discussion about this post