तीन सातादेखि जाजरकोटमा फैलिएको स्वाइन फ्लुले यतिबेला महामारीको रुप लिएको छ । विशेषगरी जाजरकोटका पैंक, अर्छानी, सक्ला, कर्ताङ, नामवाडा, रोकामा, भजकोट, पजारू, टालेगाउँलगायतका गाउँमा दुई हजारभन्दा बढी बिरामी परेको खबर सञ्चारमाध्यममा आइरहेको छ । शनिबारसम्म त्यस रोगका कारण मर्नेहरुको संख्या २२ पुगिसकेको छ । बिरामीहरुको उपचारमा खटिएका चिकित्सकहरुका अनुसार त्यस क्षेत्रमा सरसफाइको अभावले रोग फैलिएको हो । ६ वर्षअघि पनि त्यस क्षेत्रमा हैजा र झाडापखालाले महामारीको रुप लिएको थियो, जहाँ दर्जनौँ व्यक्तिले अकालमा ज्यान गुमाएका थिए । त्यहाँका अधिकांश मानिस रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । उनीहरु घर फर्कंदा विभिन्न रोगसमेत लिएर आउने गरेको बताइन्छ । भारतमा केही महिनाअघिदेखि फैलिएको स्वाइन फ्लु महामारीबाट करिब १५ सय जनाको मृत्यु भइसकेको छ भने १३ हजारभन्दा बढी संक्रमित छन् । सरकारले खुला सिमानाका कारण भारतबाट आवतजावत बढी हुने सीमा नाकामा ‘हेल्थ डेक्स’ स्थापना गरेर निगरानी बढाउने प्रयास गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
नेपालमा स्वाइन फ्लुबारे उच्च सतर्कता अपनाउन सकिएको छैन जसले गर्दा कतिबेला कहाँ स्वाइनको संक्रमण बढ्ने हो, त्यसको केही ठेगान छैन । रूघाखोकी लाग्ने, माशंपेशी दुख्ने, ज्वरो आउने र स्वासप्रश्वासको समस्या हुनासाथ सतर्कता अपनाउनु पर्ने हुन्छ । स्वास्थ्य चेतना नभएका स्थानमा स्वाइन फ्लुले बढी समस्या निम्त्याउने गर्दछ । स्वाइन फ्लुले जाजरकोट महामारीअघि नै एमाले नेता रामनाथ ढकालसहित चार जनाको ज्यान गइसकेको छ । जाजरकोटमा स्वाइन फ्लु महामारीकै रुपमा फैलिएर दिनहुँ मानिस मर्न थालेपछि मात्र सरकारको ध्यान आकृष्ट भयो । त्यहाँ महामारीबाट प्रभावितहरु सुरूमा अज्ञात रोगका नामले मरे । कोही स्वाइन फ्लुका नामले मरे र कतिपय मौसमी फ्लुका नामले मर्दैछन् । तर, सरकार अझै पनि प्राथमिक रोकथाम गर्नमै उद्यत छ । ऊ हरेक दिन लासको संख्या गन्न आतुर भएको छ । तर दुर्भाग्य, उपचारमा खटिएका स्वास्थ्यकर्मीसमेत बिरामी पर्न थाल्दा पनि आवश्यक चिकित्सक र औषधि पठाउन सकेको छैन ।
रोग एकपछि अर्को गाउँ गर्दै तीव्र रुपमा फैलिएका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ । जाजरकोटको ३–४ गाविसमा फैलिएको स्वाइन फ्लु अहिले अरु गाउँमा पनि फैलिने क्रम जारी छ । यसको संक्रमण दैलेखलगायतका जिल्लामा पनि फैलिन्छ कि भन्ने त्रास उत्पन्न भएको छ । केही दिनदेखि बेमौसमी पानी परिरहेको छ । त्यस वर्षाले गर्दा चिसोपना बढाइरहेको छ । यस्तो चिसोमा फूलका किटाणुहरु सक्रिय रहने भएकाले यस्तो समस्या केही समय लम्बिन सक्ने विशेषज्ञहरुले जनाएका छन् । जाजरकोटका कतिपय गाउँका बिरामीहरु अझै पनि स्वास्थ्य केन्द्रसम्म आउन पनि नसक्ने अवस्थामा रहेका छन् । उनीहरुलाई यथाशीघ्र उपचारको व्यवस्था मिलाउनुपर्छ । रोगको अवस्था भयावह भएकाले सरकारले चिकित्सक टोली र पर्याप्त औषधि पठाएर महामारी रोक्नुपर्छ ।
Discussion about this post