–बसन्त पराजुली
भरतपुर । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले लिएको शाखा अधिकृत पदको अन्तर्वार्ता बोर्डको विनियमविपरीत भएकोे भन्दै भरतपुरकी मेनुका कँडेलले पुनरावेदन अदालत हेटौँडामा मुद्दा दायर गरेकी छन् ।
बोर्डद्वारा गठित पदपूर्ति समितिलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा विनियमविपरीत लिइएको अन्तर्वार्ता खारेज गरी पुनः अन्तर्वार्ता लिन माग गरिएको छ । ‘प्राविधिक र प्रशासनतर्फका कर्मचारी नियुक्तिमा एउटै अन्तर्वार्ता समिति गठन गरिनु विनियमावलीविपरीत भयो’, अन्तर्वार्तामा वैकल्पिकमा नाम निकालेकी मेनुकाले दायर गरेकी मुद्दामा भनिएको छ । उनले बोर्डको कर्मचारी नियुक्तिका लागि अन्तर्वार्ता समिति गठन गर्दा छुट्टाछुट्टै सम्बन्धित विशेषज्ञको समिति बनाउनुपर्नेमा एउटै समितिले अन्तर्वार्ता लिएको दाबी गरेकी छन् ।
बोर्डले सातौं तहको इन्जिनियर र छैटौँ तहको शाखा अधिकृतका लागि प्रक्रियाअगाडि बढाएकामा मेनुकाले अन्तर्वार्तामा भने वैकल्पिकको १ नम्बरमा नाम निकालेकी थिइन् । उनले प्रश्न बनाउनेदेखि अन्तर्वार्ता लिनेसम्म एउटै व्यक्ति हुनु पनि गलत भएको दाबी गरेकी छिन् ।
परीक्षामा उत्तीर्ण भई नाम निकालेका सञ्जय बरालले परीक्षा निष्पक्ष भएको दाबी गर्छन् । ‘आफ्नै श्रीमान् अध्यक्ष रहेको खानेपानी बोर्डले गरेको निर्णय गलत भयो भन्नु सरासर गलत कुरा हो’, उनले थपे, ‘अध्यक्षले श्रीमतीलाई आफैँ मुद्दा हाल्न लगाए भन्ने मेरो बुझाइ हो । पहँुचका आधारमा यस्ता गतिविधि भइरहेका छन् ।’
‘परीक्षा समितिमा असल मानिस रहेछन् र मेरो नाम निकाले’, उनले भने । कँडेल भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाकी श्रीमती हुन् । नगरपालिकाका प्रमुख बोर्डको अध्यक्ष हुने व्यवस्थाअनुसार अहिले सापकोटा बोर्डका अध्यक्ष छन् ।
यस सम्बन्धमा प्रतिक्रिया माग्दा सापकोटाले चित्त नबुझेको कुरामा न्यायालय जानु जो कोही नागरिकको नैसर्गिक तथा मौलिक अधिकार भएको बताए । ‘यो अदालतमा पुगेको कुरा हो । अदालतले कुनै निर्णय नगरी हामीले केही बोल्न मिल्दैन’, उनले भने । उनले यस विषयलाई जो कोहीसँगको नाता सम्बन्धमा जोडेर हेरिनु गलत हुने तर्क पनि राखे ।
खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेल पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा गराएर निकालेको नतिजा वैधानिक भएको दाबी गर्छन् ।
‘हामीले बिनापूर्वाग्रह भएर नतिजा निकालेका छौँ’, उनले भने, ‘जो कोही नतिजा आफ्नो पक्षमा भएन भनेर अदालत जान्छन् भने त्यसका बारेमा धेरै टीकाटिप्पणी गर्नु पर्दैन भन्ने लाग्छ ।’ बोर्डले इन्जिनियर र शाखा अधिकृतका लागि गत फागुन ११ गते लिखित र १९ गते अन्तर्वार्ता लिएको थियो । परीक्षामा २८ जनाले आवेदन दिएकामा २२ जनामात्रै लिखित परीक्षामा सहभागी भए । तीन जनाले नाम निकाले ।
यता अदालतले मुद्दाको प्रारम्भिक आदेश दिँदै तत्काल सो पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले वैशाख ९ गते दुबै पक्षलाई हाजिर भएर अदालतमा छलफल गर्न आदेश पनि दिएको छ । अदालतको आदेशका बारेमा भने आफूलाई औपचारिक रुपमा कुनै पनि जानकारी नआएको बोर्डका कार्यकारी निर्देशक पौडेलले जनाए ।
Discussion about this post