मुलुकको मध्यपश्चिम भौगोगिक रुपमा मात्र होइन स्वास्थ्य, शिक्षा, सरकारी सेवालगायतमा पनि विकट नै छ । जाजरकोटलाई दुख्दा राज्यलाई नदुख्ने रोग दशकौँँ पुरानो हो । र, मध्यपश्चिमका जिल्लामा गम्भीर रोग लाग्दासमेत अझैसम्म धामीझाँक्री, फुकफाक र जडीबुटीकै भर पर्नुपर्ने नियति छ । जाजरकोट नेपालको भौगोलिक हिसाबले मात्रै भेरी अञ्चलको एक जिल्लाका रुपमा सूचीकृत भएको छ । राज्यको कुनै पनि सेवासुविधा यस भेगका बासिन्दाले प्राप्त गर्न सकेका छैनन् । जाजरकोटका केही गाविसमा दुई साताअघि फैलिएको अज्ञात रोगबाट १६ जनाले ज्यान गुमाए । दुई हजार जना बिरामी परेर थलिए । तर विडम्बना, गाउँ नै बिरामी पर्दा पनि राज्य बेखबर बन्यो । राज्यले महामारीको प्रकोपबारे समयमै चासो लिएन, उसले मृत्यु हुनेको संख्या गणनामात्रै गरेर बसिरह्यो । दुर्भाग्यवश, एक दर्जन जनताले ज्यान गुमाइसकेपछिमात्रै रोग प्रभावित ठाउँहरुमा डाक्टर तथा हेलिकोप्टरबाट औषधि पु¥याउने व्यवस्था गरियो । राज्यका ठेकेदारहरुलाई रूघा लाग्दासमेत विदेशका महँगा अस्पतालहरुमा राज्यकोषको करोडौँ रकम खर्चेर उपचार गर्ने प्रवृत्ति छ । तर, सर्वसाधारण भने महामारीबाट भकाभक नमर्दासम्म सरकारले सुन्दैन ।
जाजरकोटका युवा जनशक्ति जीवन धान्नका लागि भारत पलायन हुनेक्रम बढ्दो छ । मुलुकको राजनीतिक अस्थिरता र बेरोजगारी समस्याले गर्दा युवाहरु भारतका विभिन्न स्थानमा कष्टपूर्वक मजदुरी गर्र्नुपर्ने बाध्यता छ । जिल्लाको पैंक, अर्छानी, पजारूजस्ता गाउँमा बालबालिका, बूढाबूढी र केही महिलामात्रै रहेको अवस्था छ । रोगले थलिएका बिरामीलाई दुई–तीन घन्टा बोकेर स्वास्थ्य केन्द्रमा पु¥याउने मानिससमेत नहुँदा प्रायः सामान्य रोग पनि अज्ञात नै बन्दै आएको छ । जाजरकोटमा महामारीका रुपमा फैलिएको अज्ञात रोग नयाँ होइन, पाँच वर्षअघि पनि यस्तै महामारी फैलिँदा १५४ जनाले ज्यान गुमाएका थिए । प्रायः रोगको कारण खानेपानी र सरसफाइकै कमीले गर्दा हुन्छ । उसो त, जाजरकोटलाई गत पुसमा मात्रै सरकारी अधिकारीले खुला दिसामुक्त घोषणा गरेका थिए । रोगको संक्रमण फैलिएपछि हतारमै खुला दिसामुक्त घोषणा गरिएको कुरामा प्रस्ट हुन सकिन्छ ।
सरकारी तथा गैरसरकारी निकायले जिल्लामा खानेपानी र वातावरण स्वच्छताको जतिसुकै प्रचार गरे पनि खासमा त्यस्तो नरहेको बिरामीले नै प्रमाणित गरिसकेका छन् । महामारीको प्रकोपपछि प्रभावित क्षेत्रमा पुगेका चिकित्सकहरुले पानीजन्य रोगको संक्रमणले रोग फैलिएको विश्लेषण गरेका छन् । अझै पनि नाला र खोलाखोल्साकै पानीले जीवन धान्नु परेको स्थानीयले सञ्चारमाध्यममा गुनासो गरिरहेका छन् । देखावटी र कागजी रुपमा स्वच्छताको प्रचार गरी करोडौँ रूपैयाँ खर्च भएको देखाइए पनि जाजरकोट परिवर्तित हुन सकेको छैन । जिल्लाका पैंक, अर्छानी, पजारूजस्ता महामारी प्रभावित क्षेत्रमा अझै प्रदूषित पानी पिउनु पर्ने अवस्था छ । जब कि सो क्षेत्रमा पाँच वर्षअघिको महामारीपछि सरकारभन्दा गैरसरकारी संस्थाहरु नै हाबी भए । राज्यलाई जनताका पीडाले दुख्नुपर्छ, अनिमात्र राज्यमा सबै जिल्लाको उपस्थिति रहेको मान्न सकिन्छ । सरकारले समयमै महामारीका रुपमा फैलिएको रोगको पहिचान गरी जाजरकोटबासीलाई बचाउनु जरूरी छ ।
Discussion about this post