कसरा । अन्यत्र प्लास्टिक झोला प्रतिबन्धको लहर चले पनि जैविक महत्वको चितवन राष्ट्रिय निकुञ्जभित्र निर्वाध प्रयोग हुने गरेको छ । जंगल घुम्न जाने पर्यटकहरुले खाना राख्नेदेखि अन्य कामका लागि पनि प्लास्टिकका झोला बोक्ने गरेका छन् ।
‘प्रयोग गर्न नपाइने भनेर बेला बेलामा भन्दै आएको हो तर पूर्ण रुपमा रोक्न भने सकिएको छैन’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने । निकुञ्ज आफैँले भने प्लास्टिकको झोला प्रयोग गर्न छाडेको उनले बताए ।
‘हामीले आफ्नो प्रयोगका लागि प्लास्टिकको झोला लिन छाडेका छौँ । गैंडा गणनाको काममा पनि प्लास्टिकको नभएर अन्य सड्ने गल्ने रेशादार झोलाहरु प्रयोग गरेका छौँ । तर अरुलाई प्रयोग नगर भने पनि रोक्न अझै सकिएको छैन’ प्रमुख संरक्षण अधिकृत कुँवरले भने ।
पर्यटकहरुले लैजाने झोला निकुञ्जमा अन्यत्र फाल्ने नगरेको होटल व्यवसायीहरु बताउँछन् । सौराहामा फोहर व्यवस्थापनका लागि होटल व्यवसायीहरु पनि सक्रिय भएका छन् । पर्यटकले लैजाने झोला प्रयोग गरेपछि फर्काएर होटलमै ल्याउने गरेको व्यवसायीहरु बताउँछन् ।
पर्यटक डुलाउने काममा संलग्न नेचर गाइडहरुका अनुसार अमेरिकन र युरोपियन पर्यटकहरुले आफूले लगेका प्लास्टिकलगायतका फोहरहरु बोकेर होटलमा ल्याउँछन् । तर सबै खालका पर्यटकहरु यस्तो सचेत नहुने गाइडहरुको अनुभव छ ।
‘खास गरेर नेपालका आन्तरिक पर्यटकहरु युरोपियन र अमेरिकनजस्तो फोहर गर्नु हुन्न भन्नेमा सचेत छैनन् । जहाँ पायो त्यहीँ फोहर गर्छन् । खास गरेर एसियनहरुमा यो समस्या छ’ कसराको घडियाल प्रजनन् केन्द्रमा भेटिएका नेचर गाइड चुडामणि महतोले भने ।
चितवन निकुञ्ज विश्वमा दुर्लभ मानिएका वन्यजन्तुहरु एकसिंगे गैंडा, पाटे बाघ, घडियाललगायतकाको मुख्य वासस्थल हो । यहाँ अनेकौं चराहरु, जलचर र वनस्पतिहरु रहेका छन् । जैविक विविधताका दृष्टिले चितवन निकुञ्ज निकै संवेदनशील क्षेत्र हो ।
अन्य सामान्य क्षेत्र र सहर बजारमा प्लास्टिक झोला लैजान निषेध गर्ने अभियान चलेका बेलामा निकुञ्जजस्तो संवेदनशील क्षेत्रमा पनि लैजान रोक्नु पर्ने संरक्षणकर्मीहरुको माग रहेको छ । तर पर्यटकको हातहातमा प्लास्टिक झोला देखिँदा पनि निकुञ्जलगायत अन्य कोही यसप्रति संवेदनशील हुन भने सकेका छैनन् ।
गुट्खा र पान परागका साना प्लास्टिकले पनि निकुञ्ज र त्यस वरपरको मध्यवर्ती सामुदायिक वनलाई नराम्ररी प्रभावित बनाएको देखिन्छ । कुनै पनि खालका फोहरहरु हुन नहुने निकुञ्ज क्षेत्रमा नकुहिने फोहर बढ्दै जानु समस्या र चिन्ताको विषय भएको संरक्षणकर्मीहरु बताउँछन् ।
निकुञ्जमा वर्षमा पौने दुई लाखको हाराहारीमा पर्यटकहरु आउने गर्छन् । देश विदेशबाट आउने पर्यटकहरुलाई निकुञ्जको पर्यावरणमा नकारात्मक असर नपर्ने खालका गतिविधिहरुमा सरिक गराउने पर्नेमा पर्यावरणलाई प्रत्यक्ष हानी गर्ने प्लास्टिक झोला नै प्रयोग गर्न दिइएको छ ।
‘पर्यटकहरुको चाप बढेसँगै उनीहरुका क्रियाकलापले यहाँको पर्यावरणमा नकारात्मक असर नपरोस् भनेर सबै पक्ष संवेदनशील र जागरुक बन्न आवश्यक छ’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कुँवर भन्छन ‘प्लास्टिक झोलालाई कसरी पूर्ण रुपमा निषेध गर्न सकिन्छ । त्यसतर्फ हामीहरु लाग्ने नै छौँ ।’
Discussion about this post