सौराहा । संरक्षणमा जनसहभागिता जनाउन हरेक वर्ष मनाइने वन्यजन्तु सप्ताह सुरू भएको छ । सप्ताहको यस वर्षको नारा ‘हाम्रो भविश्यको लागि वन्यजन्तु’ भन्ने रहेको छ । गैंडा गणना चलिरहेका बेला सुरू भएको सप्ताहले दुर्लभ वन्यजन्तु संरक्षणको लागि खास अर्थ राख्ने छ ।
२० औं वन्यजन्तु सप्ताहको चितवन राष्ट्रिय निकुञ्जको पूर्वीसेक्टरमा सहायक संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले उद्घाटन गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोष, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बर्ड एजुकेशन सोसाइटीलगायतका एक दर्जन संघसंस्थाको सहभागितामा सप्ताह मनाइँदै छ ।
७ दिनसम्म विभिन्न संरक्षणमूलक कार्यक्रमको आयोजना गरी सप्ताह मनाइने सहायक संरक्षण अधिकृत चौधरीले बताए । सप्ताहको पहिलो दिन मंगलबार उद्घाटन तथा राप्ती नदीको किनारा र सौराहामा सरसफाइ गरिएको छ । सप्ताहको दोस्रो दिन वैशाख २ गते बीसहजारी ताल जाने बाटोको सरसफाइ, ३ गते निकुञ्जअन्तर्गतको पुरानो पदमपुर क्षेत्रमा चरा अवलोकन, ४ गते निकुञ्जभित्रको सौराहादेखि कसरासम्मको मार्गमा सरसफाइ गरिनेछ ।
त्यसैगरी वैशाख ५ गते सौराहादेखि लोथरसम्म पानीमा निर्भर चराको अवलोकन, ६ गते बरण्डाभार क्षेत्रमा चरा अवलोकन तथा सप्ताहको अन्तिम दिन सौराहामा राजश्व काउन्टरको उद्घाटन गरिने बर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष बासु बिडारीले जानकारी दिए । निकुञ्जको मुख्यालय कसरामा पनि एक औपचारिक कार्यक्रमको आयोजना गरी वन्यजन्तु सप्ताहको उद्घाटन गरिएको छ ।
Discussion about this post