–केशव अधिकारी
धादिङ । सहरमा त के, गाउँघरबाट पनि फेरी लगाउने चलन लोप हुँदै गएको छ ।
नेपाली लोक बाजा बजाएर चैत र कार्तिक महिनामा दान थाप्दै हिँड्ने सांस्कृतिक पेसा फेरी लगाउने कार्य नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।
जरायोको सिङबाट बनाएको लोकबाजा बजाएर हरेक वर्षको कात्तिक र चैत महिनामा जोगीहरूले आफ्नो भक्तका घरमा रातिको बेला पारेर फेरी लगाउने चलन रहेको छ । अहिले यो चलन यदाकदामात्रै देखिन्छ, अधिकांश ठाउँमा लोप भइसकेको छ ।
कान चिरेका जोगीहरुमध्ये रातमा फेरी बजाउँदै आफ्नो क्षेत्रभित्र पर्ने घर नबिराइ हिँड्ने गर्छन् । पुरानो पुस्ताले निकै प्राथमिकता दिने गरेको यो प्रथालाई नयाँ पुस्ताले भने चासो दिन छाडेको भूमेस्थान गाविसका रामहरि कमर बताउँछन् ।
भक्तका घरलाई जोगीका सन्ततिले भाग लगाएर चैत र कार्तिक महिनामा घरघरमा गई ‘सह’ जगाउने परम्परा रहे पनि अहिले धेरै स्थानमा जोगीहरूले फेरी लगाउन छाडिसकेको कमरले बताए ।
गोरखनाथका भक्तको रूपमा चिनिने जोगीले फिरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जन विश्वास छ । अहिलेका पुस्ताहरू योगी बन्नका लागि कान छेडेर कानफटा लगाउनसमेत रूची नदेखाउनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति लोप हुने चिन्ता पुराना जोगीहरूको छ । फेरी लगाउँदा छेद, भेद, मरिद, मसना, डंकिनी, भूत र पिचासले दुःख नदिओस् भनेर मन्त्रोचारण गर्ने गरेको योगीहरुको भनाइ छ ।
अघिल्लो रात फेरी लगाउने र भालिपल्ट दान लिँदै हिँड्ने योगीलाई भक्तहरूले पनि अन्नबालीमा ‘सह’ बस्ने, घरमा भूतप्रेत तथा पिचासले बास नगर्ने विश्वासमा अन्न दान गर्दछन । केही वर्षअघिसम्म कान चिरा जोगीहरुको गुजारा चलाउने माध्यम नै यही हुने गरेको थियो । नयाँ पुस्ताले पुरानो चलनलाई वास्ता गर्न छाडेपछि परम्परा धान्नका लागिमात्र फिरी लगाउने कार्य हुने गरेको उनीहरुको भनाइ छ ।
Discussion about this post