नेपालमा बलात्कार तथा यौनहिंसाका घटनामा बढोत्तरी भइरहेको छ । यसलाई न्यूनीकरण गर्न सरोकारवाला निकायलाई नै चिन्ताको विषय बनिरहेको छ । पछिल्लो समय बलात्कार तथा यौनहिंसाका घटनाहरु सार्वजनिक हुनेक्रम वृद्धि भएसँगै मानव सभ्यतालाई नै कलंकित बनाउने घटना प्रकाशमा आए । बलात्कारविरूद्ध सिंगो मुलुक नै एकजुट भइरहँदा पनि यस्ता घटनामा कमी आउन सकेको छैन । पछिल्लो समय बलात्कार तथा यौनहिंसासम्बन्धी मुद्दा प्रहरीमा दर्ता हुनेक्रम बढिरहेको छ । अधिकारवादी, प्रहरी तथा नागरिक समाजलाई बढ्दो बलात्कारका घटनाले चिन्तितमात्र बनाएको छैन, चुनौती पनि थपेको छ । तर, दुर्भाग्य १ काभ्रेको पनौती बसपार्कमा रक्षकहरुले नै भक्षकरुपी क्रियाकलाप गरेर सिंगो प्रहरी संगठनलाई नै बदनाम गराएका छन् । सिविन शान्तिगृहका दुई किशोरीमाथि बुधबार राति १० बजे हवल्दार शम्भु राउत अहिर र जवान श्रीराम साहले प्रहरी बिटछेउमै बलात्कार गरेको घटना सञ्चारमाध्यममा आएको छ । प्रहरीले संगठनमा प्रवेश गर्नुअघि नै ‘सत्य सेवा सुरक्षणम्’को मूल मन्त्र जपेका हुन्छन् । सामाजिक सुरक्षा र सत्यको पक्षमा लाग्नुपर्ने प्रहरी नै बलात्कार अभियोगमा पक्राउ पर्नुले सर्वसाधारणले सुरक्षाको प्रत्याभूति कसरी गर्न सक्लान्, यो गम्भीर सवाल हो ।
प्रहरी संगठनलाई आलोचित बनाउने काभ्रेको एउटा घटनामात्रै होइन, यस्ता दर्जनौँ घटना सार्वजनिक भइसकेका छन् । प्रहरी संगठनको दम्भ देखाएर किशोरीहरुलाई जबर्जस्ती करणी गर्नु अत्यन्तै लज्जास्पद र घृणित कार्य हो । प्रहरी संगठनभित्रैबाट यस किसिमका आपराधिक कार्य हुनुले कानुनी राज्यको उपहास गरेको छ । बर्दी लगाएकै भरमा र हातमा डन्डा बोकेकै बलमा नागरिकले असुरक्षित महसुस गर्नुपर्छ भने त्योभन्दा विडम्बना के हुनसक्छ ? समयमै यस्ता आपराधिक मनोवृत्ति बोकेका व्यक्तिहरुलाई ‘सत्य सेवा सुरक्षणम्’को मर्म बुझाउन सकिएन भने सिंगो संगठन बारम्बार बदनाम भइरहन्छ । ‘शम्भु र श्रीराम’जस्ता व्यभिचारीकै कारण प्रहरी संगठनको विश्वसनीयता गुम्न पुग्छ । जब प्रहरीबाटै बालिका, किशोरीहरु असुरक्षित हुन्छन् भने बलात्कारका घटना कसरी न्यूनीकरण हुनसक्छ ? डर, धम्की र त्रासका कारण प्रहरीबाट भइरहने यौनहिंसाका घटनाहरु बिरलैमात्र प्रकाशमा आउँछन् । प्रहरीबाट घटित आपराधिक घटना निष्प्रभावी हुने भयले पीडितहरुले घटना लुकाउने प्रवृत्ति छ । त्यसले त्यस्ता व्यभिचारीहरुको मनोबल बढ्ने गरेको छ ।
बलात्कारका घटना बढ्नुमा अनेक कारण जिम्मेवार छन् ः शान्ति सुरक्षाको भरपर्दो व्यवस्था नहुनु, फितलो कानुन, अपराधीलाई संरक्षण गर्ने राजनीतिक चरित्र अनि विकसित हुँदै गएको आपराधिक मानसिकता । प्रहरीले ड्युटीकै समयमा किशोरीमाथि बलात्कार गर्ने आँट कसरी ग¥यो ? उनीहरुमा आपराधिक मनोविकार कसरी विकसित भयो ? शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको मुलुकमा नागरिकहरु निर्धक्क हिँड्ने साहस गर्नु अपराधीको मनोबल बढाउनुमात्र हो । महिला स्वयम् सचेत नहुँदा पनि बलात्कारका घटना बढिरहेका छन् । यस विषयमा महिलाहरु होसियार हुनैपर्छ । आफ्नै परिवारका सदस्यबाट समेत पूर्ण सुरक्षाको ग्यारेन्टी नभइरहेको नेपालको सन्दर्भमा स्वतन्त्रपूर्वक हिँड्ने जोखिम उठाउनु हुँदैन । प्रभावकारी कानुनी व्यवस्था र त्यसको कार्यान्वयन नभएसम्म यस्ता घटना न्यूनीकरण हुन सक्दैनन् । सामाजिक र नैतिक शिक्षाले मानिसलाई नैतिकवान बनाउँछ । प्रहरी संगठनभित्र पनि नैतिक शिक्षासहित नागरिक सुरक्षाका लागि प्रशिक्षण दिनु जरूरी देखिएको छ ।
Discussion about this post