भरतपुर । स्वाइन फ्लुका बिरामी घटेपछि चितवनको भरतपुर अस्पतालमा स्थापना गरिएको हेल्प डेस्क हटाइएको छ ।
बिरामी घटेर हेल्प डेस्क प्रभावविहीनजस्तै भएपछि हटाइएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । सुरूमा अत्यधिक मात्रामा बिरामी आउने गरेकाले उनीहरूको सहजताका लागि फागुनको अन्तिम साता यहाँ हेल्प डेस्क स्थापना गरिएको थियो ।
तर अहिले बिरामीको सङ्ख्या घटेकाले डेस्क हटाइएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए । चैतको दोस्रो सातादेखिनै हेल्प डेस्कमा सोधपुछका लागि बिरामी आउन छाडेका थिए ।
अहिलेसम्म चितवनमा ४५० को परीक्षणमा १५३ जनामा स्वाइन फ्लु भएको छ । भरतपुर अस्पतालको स्वाइन फ्लु रेस्पोन्स टिमका सदस्य डा भोजराज अधिकारी अहिले जिल्लामा स्वाइन फ्लु अन्य रुघाखोकी जस्तै सामान्य भइसकेको बताउँछन् । उनले सावधानी अपनाउन भने सर्बसाधारणलाई आग्रह गरेका छन् ।
चिकित्सकले मुख्य गरी रुघा लाग्ने र ज्वरो आउने भएमा तीनदेखि पाँच दिनसम्म घरैमा झोलिँदो पदार्थ खाने र ठीक नभएमा तुरुन्त अस्पताल जान सल्लाहसमेत दिएका छन् । भरतपुर अस्पतालले सबै उपचार निःशुल्क हुने भएकाले सर्वसाधारणलाई उपचारका लागि नहिचकिचाउने सबैमा अनुरोधसमेत गरेको छ । रासस
Discussion about this post