अध्यक्षमा न्यौपाने र श्रेष्ठ
भरतपुर । नेपाल परिवार नियोजन संघ (एफपीएएन) चितवनको जिल्ला कार्यसमितिको लागि भोलि शनिबार निर्वाचन हुने पक्का भएको छ । उम्मेदवारबीच सहमतिको कुनै संकेत नभएपछि निर्वाचन हुने पक्का भएको हो । यसपटकको निर्वाचनमा विभिन्न दलका राजनीतिक कार्यकर्ता, अधिवक्ता, पत्रकार, डाक्टरलगायतको उम्मेदवारी परेको छ । चुनावमा झण्डै ५०० प्रतिनिधिको सहभागिता रहने छ ।
परिवार स्वास्थ्य सेवासँग सम्बन्ध राख्ने यस निकायमा दातृ निकायले लाखांै, करोडौंको बजेट दिने भएकाले व्यक्तिगत स्वार्थका लागि पनि पद हत्याउन उम्मेदवारीको होडबाजी चलेको एक कर्मचारीले बताए । परिवार नियोजन संघका प्रबन्ध निर्देशकका अनुसार यस आर्थिक वर्षमा यस कार्यालयको कुल बजेट ७५ लाख रहेको छ ।
नयाँ कार्यसमितिको लागि दुबै अध्यक्षका दाबेदारहरु आ–आफ्नो प्यानल बनाइ भोट माग्न हिँडेका छन् । अध्यक्षमा रामहरी न्यौपाने र डा. राजेन्द्रबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ । अध्यक्ष पदका उम्मेदवार रामहरि न्यौपाने जिल्ला विकास समिति चितवनको सामाजिक विकास अधिकृत भएको भन्दै परिवार नियोजन संघको अध्यक्षमा उठ्न लागेको विरोधमा उजुरी समेत परेको थियो । मन्त्रालयमा उजुरी परेपछि जिल्ला विकास समितिले जवाफ पनि पठाइसकेको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए ।
सरकारी कर्मचारी गैरसरकारी संस्थाको जिल्ला अध्यक्ष वा अन्य त्यस्तै खाले पदाधिकारी हुन पाउने नपाउनेबारे आफूहरु पनि अनभिज्ञ भएकाले स्पष्टीकरण माग्ने निकायसँग आवश्यक निर्देशन पाउँ भनी राय सुझाव सहितको पत्र पठाइएको पाण्डेले बताए ।
पाँच जना महिला सहस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका दाबेदार न्यौपानको प्यानलबाट मनु तमाङ, फूलमाया रानाभाट, डा. शारदा कुँवर, नानीमैया राना र सुजाता बर्तौलाको उम्मेदवारी परेको छ । डा. श्रेष्ठको प्यानलबाट महिला सदस्यका लागि शारदा पौडेल, विनिता पौडेल, कल्पना उप्रेती, संगीता श्रेष्ठ र छायाँदेवी पियाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।
त्यस्तै, ५ जना सदस्यका लागि न्यौपानको प्यानलबाट कृष्णराज न्यौपाने लब्ली, अर्जुनप्रसाद घिमिरे, अनिल ढकाल, रुपनराज घिमिरे, सोमप्रसाद भण्डारी र ईश्वर गिरीको उम्मेदवारी परेको छ । डा. श्रेष्ठको प्यानलबाट पाँच जना सदस्यका लागि भरतप्रसाद दवाडी, प्रेमप्रसाद पाठक, भरत मल्ल, राजेन्द्रकुमार श्रेष्ठ र जगदिशभक्त जोशीको उम्मेदवारी परेको छ । ३ जना युवा सदस्य भने निर्विरोध चयन भइसकेका छन् । जसमा उमामाया थापा, सुस्मिता थापामगर र चेतबहादुर राना रहेका छन् ।
Discussion about this post