–रामकुमार श्रेष्ठ
नवलपरासी । जिल्लामा महिला हिंसाका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
हिंसा सँगसँगै प्रहरीले लागूऔषधसम्बन्धी विद्यालयस्तरमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार समुदायस्तरमा महिला हिंसा र विद्यालयस्तरमा लागूऔषधसम्बन्धी प्रशिक्षण एवम् सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
नवलपरासीमा हरेक वर्ष बलात्कारका घटना बढेका छन् भने पछिल्लो पटक बोक्सी आरोपमा पनि महिला हिंसाका घटना बढेको उनले जानकारी दिए ।
अपराधका घटना घट्नुमा लागूऔषध पनि प्रमुख कारण रहेकाले विद्यालयस्तरमा प्रहरी अधिकृतहरु खटाएर कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको एसपी उपाध्यायले बताए । उनले कतिपय घटनाहरु प्रहरीसम्म नआइपुग्ने गरेको बताए ।
अभियानअन्तर्गत पहिलो चरणमा सरोकारवालाहरुलाई जबर्जस्ती करणी अपराध नियन्त्रणसम्बन्धी कानुनी प्रावधानका बारेमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
पहिलो चरणमा परासी र बर्दघाटमा उक्त अभियान सञ्चालन गरिएको छ । अभियानमा क्लब, आमा समूह र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु छन् । क्रमशः ग्रामीण क्षेत्रमा इलाका र चौकीमार्फत् कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीको तयारी छ ।
प्रहरीका अनुसार गतवर्ष जबर्जस्तीका २८ मुद्दा दर्ता भएका थिए । यसवर्ष ३२ मुद्दा छन् । त्यस्तै बोक्सीको आरोपमा तीनजनाविरूद्ध मुद्दा चलाइएको छ । सीमावर्ती नाका भएका कारण नवलपरासी जिल्लामा लागूऔषध सेवनसँगै ओसारपसार कार्य पनि बढ्दै गएको छ ।
Discussion about this post