भरतपुर । व्यावसायिक कृषिमा बिमा गर्ने नीति बने पनि चितवनमा केरा खेती गरेकाहरु मात्रै यसमा अग्रसर भएका छन् । तीन महिनायता चितवनमा ३३ जनाले कृषि बिमा गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । उनीहरु सबै व्यावसायिक केरा खेती गर्नेहरु हुन् ।
एक कठ्ठाभन्दा धेरैमा व्यावसायिक तरकारी तथा फलफूल खेती गर्नेले बिमा गर्न सक्ने नीति रहेको छ । बिमा गर्दा तिर्नु पर्ने प्रिमियमको ७५ प्रतिशत सरकारले नै बेहोर्छ । किसानहरुले २५ प्रतिशतमात्रै तिरे हुने व्यवस्था छ ।
‘यस्तो व्यवस्था भएको दुई वर्ष भयो । तर पहिलो वर्ष कसैले पनि कृषि बिमा गरेनन् । यो दोस्रो वर्ष ३३ जनाले गरेका छन् । सबै केरा खेतीमा लागेका व्यावसायिक किसानहरु हुन्’ जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले भने ।
जिल्लामा ३३ जना केरा किसानले सय बिघा क्षेत्रफलमा लगाएको केरा खेतीको बिमा गरेको थापाले बताए । एकैजना किसानले ११ बिघामा लगाएको केरा खेतीको बिमा गरेको कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
चितवनमा अघिल्लो आर्थिक वर्षमा ६९० हेक्टरमा केरा खेती भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । केरा चितवनमा सबैभन्दा धेरै उत्पादन हुने फलफूल बाली हो । चार सय किसान यो खेतीमा आवद्ध रहेको अधिकारीहरुले बताएका छन् ।
एक बिघाको केरा खेतीको बिमा गर्दा किसानले चार हजार २० रूपैयाँ तिर्नु पर्ने बागवानी विकास अधिकृत थापाले जानकारी दिए । सरकारले बिमा गर्दाको प्रिमियममा ७५ प्रतिशत बेहोर्ने भएपछि किसानहरुले यतिमात्रै रकम तिर्नु परेको हो ।
बिमा गरेको वर्ष दिनसम्म खेती काबु बाहिरको परिस्थितिका कारण नोक्सान भए क्षतिपूर्ति पाउने बागवानी विकास अधिकृत थापाले बताए । नोक्सान हुँदा एक बिघामा कति दिने भनेर क्षेत्रगतरुपमा नै सरकारले मूल्य निर्धारण गरेको छ ।
‘चितवनमा एक बिघामा केरा खेती गर्दा तीन लाख १२ हजार १२० रूपैयाँ खर्च लाग्ने सरकारी अनुमान छ । काबु बाहिरको अवस्था आएर बिमा गरेको बगानको केरा सम्पूर्णरुपमा नोक्सान भयो भने त्यसैको ९० प्रतिशत राहत पाइन्छ’ बागवानी विकास अधिकृत थापाले भने ।
चितवनमा अघिल्ला वर्षहरुमा चैत वा भदौंमा आएको हावाहुरीले एकै दिन करोडौंको केरा खेती नोक्शान गरेको थियो । यसरी नोक्शान हुँदा राहतका नाममा किसानहरुले साह्रै नै कम रकम पाउने गरेका थिए । त्यसैले केरा खेतीमा लागेकाहरु बिमा गर्न अग्रसर देखिएका हुन् ।
‘बिमा नगरेको बेलामा अघिल्लो वर्ष हावाहुरीले सात आठ करोड रूपैयाँ बराबरको केरा नोक्सान भयो । राहतका लागि भनेर जम्मा पाँच लाख रूपैयाँ आयो । अब कसरी राहत बाँड्ने साह्रै नाजुक अवस्था छ’ बागवानी विकास अधिकृत थापाले भने ।
बिमा गरेपछि यो अवस्थामा सुधार हुने आशा उनले व्यक्त गरे । राहत भएको बालीको न्यायोचित क्षतिपूर्ति पाउन थालेपछि अरु पनि बिमा गर्न स्वभाविक रुपमा आकर्षित हुने थापाले बताए । कृषि बिमा यो वर्ष सुरू भए पनि चितवनमा पशु बिमा अघिल्लो वर्ष नै भएको थियो ।
Discussion about this post