आमजनताको भावनाविपरीत बन्द आह्वान् गरेर एमाओवादीसहित तीस दलीय मोर्चाले जनतालाई सकस दिएका छन् । बन्दकर्ताको राजनीतिक स्वार्थले गरिएको हड्तालले जनतालाई शारीरिक तथा मानसिक सकस उत्पन्न भइरहेको छ । बन्द कसैको पनि हितमा छैन भन्ने कुरा पटकपटक दृष्टिगत गरिसकेका नेताहरुले बन्दको विकल्प रोज्न नसक्नु दुःखको कुरा हो । नेपालमा ‘बन्द सधैँका लागि बन्द’ गर्ने प्रतिबद्धता गर्ने दलका नेताहरु शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा बन्द र हड्ताललाई नै प्रश्रय दिइरहेका छन्, जुन गैरजिम्मेवार प्रवृत्ति हो । जनतालाई सास्ती दिएर गरिएको बन्दले राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने सोच्नु मूर्खतामात्रै हो । मुलुकलाई ठप्प बनाउँदा सर्वसाधारणले भोग्नु परेका दुःख–पीडाको लेखाजोखा नै छैन । जनतालाई त्रसित बनाएर गरिएको बन्दले आह्वान्कर्ताकै राजनीतिक साख घटाउँछ । कम्तीमा पनि जनमतको ख्याल राखेर भए पनि बन्द आह्वान् गरिनु हुँदैन । जनतालाई सास्ती दिएर गरिएको हड्तालले कुनै पनि राजनीतिक उपलब्धि हासिल हुन सक्दैन ।
बन्द, हड्ताल कुनै पनि शान्तिपूर्ण आन्दोलनको अन्तिम रुप मानिन्छ । तर, जनतालाई केन्द्रमा राखेर गरिएको आन्दोलनमात्र अर्थपूर्ण हुन्छ । बन्द, हिंसा र तोडफोडजस्ता क्रियाकलापको बलमा मात्र राजनीतिक दलहरुले आफ्नो भविष्य देख्नु भनेको मानवीय मूल्य र मान्यताप्रति उनीहरुको गुम्दै गएको विश्वास हो । बन्दको उद्देश्य जे भए पनि यसको प्रभाव समाजमा सधैँ नकारात्मक नै पर्ने कुरामा कुनै दुईमत छैन । आफ्नो आवाज बुलन्द पार्न सम्पूर्ण जनताको अधिकार मिच्न खोज्नु भनेको अलोकतान्त्रिक चरित्रमात्र होइन, राजनीतिक कायरता पनि हो । जनताले आ–आफ्ना पेसा गरेर गरिखान पाउने अधिकारलाई कसैद्वारा पनि कुण्ठित गरिनु हुँदैन । बन्द, हड्तालभन्दा अरु पनि विरोधका स्वरुपहरु छन्; घेराउ, नारा–जुलुस, भोक हड्तालजस्ता विधिहरु छन् । जनताका अधिकारलाई कुण्ठित नगरीकन पनि आन्दोलन गर्न सकिन्छ भन्ने उदाहरण थाइल्यान्डका रातो पोशाकधारी बौद्ध भिक्षुहरुको आन्दोलन, हङकङको छाता आन्दोलन आदि हेर्ने हो भने पनि स्पष्ट हुन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक दिनको बन्दबाट औसतमा नेपालको अर्थतन्त्रमा एक अर्ब ८० करोड रूपैयाँ क्षति पुग्छ । सन् २००८ देखि २०१३ सम्मको बन्द, हड्तालको अध्ययन प्रतिवेदनअनुसार पाँच वर्षमा बन्द, हड्तालबाट चालू वर्षको मूल्यमा प्रतिवर्ष २७ अर्ब रूपैयाँको क्षति भएको छ । बन्द, हड्तालले कुल ग्रार्हस्थ उत्पादनमा प्रतिवर्ष १.४ प्रतिशतले क्षति पुगेको छ भने पाँच वर्षमा नेपालको अर्थतन्त्रमा एक खर्ब १७ अर्ब रूपैयाँको क्षति भएको छ । बन्द, हड्तालका कारण नेपालमा हुने आन्तरिक र बाह्य लगानीलाई अनिश्चित बनाएको छ, धेरै लगानीकर्ताले नेपालबाट आफ्नो लगानी फिर्ता लगेका छन् । नेपालमा पछिल्ला वर्षहरुमा निजी क्षेत्रको व्यावसायिक विश्वास कमजोर हुन पुगेको छ । अझै पनि सुरक्षा र लगानीको सुनिश्चितताको अभावले गर्दा नयाँ लगानी विस्तार हुन सकेको छैन । उद्योग, कलकारखाना खुल्न नसक्दा युवाशक्ति विदेश पलायन भइरहेका छन् । बन्दलाई राजनीतिको हतियार बनाउनु कमजोर मानसिकताको उपज हो । त्यसैले, जनतालाई दुःख दिएर होइन, उनीहरुको भावना सम्बोधन गरेरमात्र राजनीतिक उपलब्धि हासिल हुनसक्छ भन्ने कुरा मनन् गर्नु जरूरी छ ।
Discussion about this post