–कल्पना भट्टराई
नवलपरासी ।
घटना—१
०७१ पुस २१ गते ११ वर्षीया बालिका घरनजिकै छिमेकीबाट बलात्कारको शिकार भइन् । बलात्कारको शिकार भएपछि पीडित बालिकाले घटनाबारे आफन्तलाई सुनाइन् । आफन्तले छिमेकी ४५ वर्षीय सत्यनारायण चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । जाहेरीपछि घटनाका आरोपी चौधरीलाई पक्राउ गरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालतमा पेस ग¥यो । अदालतले आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
घटना—२
०७१ माघ २४ गते बोल्न र सुन्न नसक्ने १५ वर्षीया किशोरी इलाका वन कार्यालयका एक कर्मचारीबाट बलात्कृत हुनुप¥यो । बलात्कृत भएपछि किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीका वन कर्मचारी ३१ वर्षीय सञ्जय गुरूङविरूद्ध जाहेरी दिए । जाहेरीपछि प्रहरीले घटनाका आरोपी गुरूङलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । आरोपी गुरूङ अहिले पुर्पक्षका लागि थुनामा छन् ।
माथिका यी दुई घटना त प्रतिनिधि घटनामात्र हुन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका अनुसार जिल्लामा दैनिकजसो बलात्कारको घटना बढ्दै गएका छन् ।
संक्रमणकाल लम्बिएपछि महिलाका लागि परिवार र समाज असुरक्षित बन्दै गएका छन् । पछिल्लो समय घर नै असुरक्षित भएपछि घरमै बलात्कृत हुनेको संख्या पनि बढ्दै गएको छ । प्रहरीको तथ्यांकअनुसार परिवारका सदस्य र नजिकका नातेदारबाट महिलाहरु बढी बलात्कृत भएका छन् । उनीहरुको लागि आफ्नै घर असुरक्षित भएको छ । यसको शिकारमा बढी बालिका र अपाङ्गता भएका महिला परेका छन् ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले तीन महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघनका घटनाको समीक्षा गर्दै देशमा लम्बिएको संक्रमणका कारण समाज अराजकतातर्फ जाँदा उल्लंघनका घटना बढेको तथ्य निकालेको छ । पुस्तक समीक्षा कार्यक्रममा उक्त जानकारी गराइएको हो । जसमा सबैभन्दा बढी घटना बलात्कार र प्रयासका छन् ।
गएको तीन महिनाको अवधिमा ८ वटा बलात्कार र प्रयासका घटना भएको इन्सेकका जिल्ला प्रतिनिधि नारायण पराजुलीले बताए । जसमध्ये ५ वटा घटना बालिकासँग सम्बन्धित छ । पराजुलीले भने ‘बढ्दो सूचना र प्रविधि पनि घटनाको एउटा कारक हो ।’
संस्थाको तथ्यांकअनुसार सन् २०१४ को जनवरीदेखि डिसेम्बरसम्म २२ वटा घटना बलात्कार र प्रयासका रहेका छन् । जसमध्ये सबैभन्दा बढी १६ बालिकासँग सम्बन्धित रहेको छ । बालिका र अपाङ्गता भएका महिलाहरु शारीरिक रुपमा कमजोर हुने भएकाले पनि प्रतिकार गर्न नसक्दा बलात्कारको शिकार हुने गरेको जिल्ला बालकल्याण समितिका रवि गौतमले बताए ।
‘शारीरिक असमक्षताले कतै उजुरी गर्न सक्दैनन्’, उनले भने, घटना घटाएलगतै फरार हुन सजिलो हुन्छ । त्यसैले घटना बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा बलात्कार र प्रयासका घटना ८१ पुगेका छन् ।
आर्थिक वर्ष ०६७÷०६८ देखि ०७१÷०७२ को माघ मसान्तसम्म पाँच वर्षको अवधिमा बलात्कार र प्रयासका घटना ८१ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमबहादुर थापाले बताए । १६ वर्षभन्दा मुनिका बालबालिकाको हकमा मन्जुरी लिई करणी गरेमा पनि जबर्जस्ती करणी गरेको मानिएको छ । मुलुकी ऐन बाह्रौँ संशोधनले पीडितको उमेरअनुसार दोषीलाई सजाय तोकेको छ । जसअनुसार पाँचदेखि १५ वर्षसम्मको सजायको व्यवस्था गरेको छ ।
वर्तमान प्रावधानअनुसार महिलालाई सामूहिक रुपमा जबर्जस्ती करणी गर्ने वा गर्भवती, अशक्त, अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेमा थप पाँच वर्ष कैद सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।
यदी कोही एचआईभी पोजिटिभ भएको थाहा पाउँदापाउँदै जबर्जस्ती करणी गरेमा जबर्जस्ती करणीको अन्य कसुरको सजायमा थप एक वर्ष कैद सजाय हुने व्यवस्था छ । यदि कसैले बालिकामाथि अप्राकृतिक मैथुन गरेमा थप एक वर्ष कैद सजायको व्यवस्था गरेको छ ।
Discussion about this post