भरतपुर । भरतपुर उपमहानगरपालिका वडा नम्बर ४ र ५ का स्थानीय बासिन्दाहरुको भेलाले बाह्रघरे र रामघाट क्षेत्रको सडक सुधार गर्न माग गरेको छ । भेलाले सडक सुधार गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि योजना बनाउन माग गरेको छ ।
भेलाले दुर्गाचोकदेखि रामघाट सडकखण्डमा पूर्वतर्फ ८ मिटरको सरकारी बाटो र त्यसमा पर्ने लंकु खोलामा पुल निर्माण गर्न माग गरेको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सडक र पुल निर्माणको लागि भरतपुर उपमहानगरपालिका र सम्बधित सरकारी निकायसँग अनुरोध गर्ने भेलाले निर्णय गरेको छ ।
यस्तै, भेलाले लंकु खोलाले र नारायणी नदीको भेलले रामघाटदेखि लंकु खोलाको ३ नं. पुलसम्म कटान गर्ने भएकाले सो क्षेत्रमा तटबन्धनको लागि बजेटको माग पनि गरेको छ । प्रस्ताव पुस्तिकामा हस्ताक्षर गरी सम्बन्धीत निकायमा भरतपुर उप–महानगरपालिका, जिल्ला विकास समिति, जल उत्पन प्रकोपको कार्यालय र सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउन अनुरोध गरिएको छ ।
विद्युत् विस्तार व्यवस्थित नभएकोले व्यवस्थित विद्युतीकरणको लागि पनि भेलाले माग गरेको छ । दुर्गाचोकदेखि रामघाट बस्तीखण्डको नारायणी नदीतर्फ रहेको वडा नं. ४ को बस्तीमा बंगुरपालन भएको हुँदा स्वाइन फ्लुको डर रहेकाले त्यसलाई हटाउन पनि स्थानीयले माग गरेका छन् ।
समाजसेवी दिनेशकुमार चुकेको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष भरत पिया, प्रमुख अतिथि स्थानीय समाजसेवी भागिरथ कँडेल रहेका थिए । भेलामा भरतपुर उपमहानगरपालिका वडा नंं ४ र ५ का हरियाली, रामेश्वर (शान्ती) र दुर्गाचोक टोलसुधार समिति र अनन्त मार्ग आमा समूहका पदधिकारी, समाजसेवी, वुद्धिजिवी र स्थानिय वासिन्दाको उपस्थिति थियो ।
Discussion about this post