भरतपुर । नेपाल प्रगतिशील प्राध्यापक संगठन सप्तगण्डकी इकाई समितिले शैक्षिक गुणस्तर अभिबृद्धिको लागि १७ बुँदे माग समावेश गरी क्याम्पसप्रमुलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
प्राध्यापक संगठनका संयोजक गोविन्दप्रसाद पराजुलीले एक हप्ताभित्र माग पूरा नगरे थप चरणबद्ध आन्दोलनको घोषणा गर्ने अल्टिमेटम दिँदै क्याम्पस प्रमुख खेमनारायण सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपाल सरकारले वृद्धि गरेको तलब उपलब्ध गराइनुपर्ने, एमफील र पीएचडीका लागि प्राध्यापकहरुलाई तलवी बिदाको व्यवस्था गराइनुपर्ने, कर्मचारी तथा प्राध्यापकहरुको स्तरोन्नती र क्युएए प्राप्तिको लागि नियमित पहल गर्नुपर्नेलगायतका मागहरु उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख सापकोटाले सञ्चालक समितिको बैठकमा प्राध्यापकहरुको मागलाई राखेर शैक्षिक गुणस्तर वृद्धिको लागि आवश्यक पहल गर्ने आश्वाशन दिए । उनले विकासमा कम्युनिष्टको नाममा संकीर्ण सोच बोक्ने व्यक्तिहरुले गर्दा क्याम्पसको समग्र काम गर्न गाह्रो भएको गुनासो गरे ।
प्राध्यापकहरुले सोही ज्ञापनपत्रलाई क्याम्पसका उपप्रशासक खेमराज बराललाई पनि बुझाएका छन् । ज्ञापनपत्र बुझाउँने कार्यक्रममा प्रगतिशील प्राध्यापक संगठनका सचिव कृष्णप्रसाद ज्ञवाली, प्राध्यापकहरु विश्वराज सुवेदी, रामप्रसाद तिवारी, हरिहर न्यौपाने, मधुसूदन दवाडीलगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post