डा. धनपति कोइराला
रामायण पढेर सकेसम्म रामजस्तै आचरण गर्नुपर्छ, रावणजस्तै होइन भन्ने गरिन्छ । कम्तीमा पनि हिन्दू संस्कारमा जन्मेर हुर्केबढेका मान्छेले आप्mनो संस्कार र संस्कृतिले निर्देश गरेको गन्तव्यमा हिँड्नैपर्ने हो । तर, नकारात्मक कर्म गर्न सजिलो हुने भएकाले आफ्नो मर्यादा कुल्चिएर भए पनि मान्छे प्रायः रावणकै जस्तो कदाचार गर्दछन् । मान्छे बाहिर एकथरी र भित्र अर्कैथरी बन्ने प्रवृत्तिकै कारण राम बन्नेतिरभन्दा रावण बन्ने गन्तव्यतिरै ऊ उन्मुख हुन्छ । रामका सदाचरण उसको गलत गन्तव्य र कर्मका निम्ति साधक नबनी बाधक बन्ने स्थिति देखिनासाथ कि सीताको परित्यागको घटना जोड्छ, या त कृष्णको रासलीलाको प्रसङ्ग जोडेर आफ्नो कुनियतको बचाउ गर्दछ ।
जब मान्छेको नियत नै धमिलो हुन्छ, ऊ सबैमा कालोसिवाय केही देख्दैन । उसका नजरमा चमचमाउँदो सूर्यका किरण र बिजुलीको चमक पनि अन्धकार प्रतीत हुन थाल्दछ । तर, सद्धर्म र सत्कर्मलाई जीवनको लक्ष्य र गन्तव्य बनाउने व्यक्तिका निम्ति भने रामको चरित्र मार्गदर्शक बन्दछ । प्रेम र कर्तव्यले भरिएको जीवनगाथा बन्दछ । रसिलो भाव र अमृतले सिञ्चित अनुकरणीय जीवनपद्धति बन्न पुग्दछ ।
केवल हिन्दू संस्कृतिसँग सम्बन्धित समाजका लागिमात्र नभई विश्व समाजका लागि पनि राम अनुकरणीय बन्दै आएका छन् । उनै राम भगवान् विष्णुका दस अवतारहरुमध्ये मत्स्य, कूर्म, वराह, वामन र पर्शुरामपछिका अवतार मानिन्छन् ।
व्यासकृत श्रीमद् भागवत–अनुसार सनत, सनन्दन, सनातन, सनतकुमार भगवान् विष्णुको दर्शन गर्न वैकुण्ठ पुग्दछन् । त्यहाँ उनीहरुलाई विष्णुका जय र विजय नाम गरेका पार्षद्ले प्रवेश गर्न दिँदैनन् । पटकपटक आग्रह गर्दछन् । जति आग्रह गरे पनि दर्शन गर्न जानबाट रोकेपछि उनीहरुका धैर्यको सीमा रहन्न । क्रोधोन्मत्त बनेका सनतकुमारहरुले दुवैलाई तीन जन्मसम्म आसुरी योनीमा जन्म लिनुपर्ने श्राप दिन्छन् ।
सनतकुमारहरुको चर्को आवाज सुनेपछि विष्णु ढोकामा आइपुग्छन् । यस श्रापबाट चिन्तित बनेका आफ्ना दुवै प्रियदूतलाई आश्वस्त तुल्याउन विष्णुले आफैँ पृथ्वीलोकमा अवतरित भई उद्धार गर्ने बचन दिन्छन् । यसै बचनअनुसार नै भगवान् विष्णुले पहिलोपटक सत्ययुगमा आसुरी योनिमा जन्म लिएका हिरण्याक्षलाई वराह तथा र हिरण्यकशिपूलाई नरसिंह रुप धारण गरी उद्धार गर्दछन् । दोस्रोपटक त्रेतायुगमा रावण र कुम्भकर्णका रुपमा जन्म लिएका जय र विजयलाई राम अवतार लिई उद्धार गर्दछन् । तिनै जय र विजय तेस्रोपटक द्वापरयुगमा कंश र शिशुपालका रुपमा जन्मन्छन् । यिनलाई कृष्ण अवतार लिई वध गरेर श्रापमुक्त तुल्याउँछन् ।
यी तीन अवतारमध्ये राम अवतार समग्र हिन्दू दर्शनको मात्र नभई समग्र दर्शनको एक उच्च आदर्श बन्न पुग्दछ । खासगरी प्रेम, परिवार, समाज, कला, दर्शन, साहित्य, संस्कृति, युद्धकौशल र राजनीतिका क्षेत्रमा उनी आदर्श बन्दछन् ।
वाल्मीकि रामायणअनुसार राम अयोध्या नरेश दशरथका जेष्ठ पुत्र हुन् । उनी दशरथकी जेठी पत्नी कौशल्याका गर्भबाट जन्मन्छन् र वशिष्ठ .तथा विश्वामित्र ऋषिबाट शिक्षादीक्षा ग्रहण गर्दछन् । उनको विवाह जनक राजाकी पुत्री सीतासँग हुन्छ । उनले राज्यसत्तामा पुग्न लागेका बखत सौतेनी आमा कैकेयीका कारण पिताबाट घुमाउरो पाराले वन जाने आदेश पाउँछन् । सीता र लक्ष्मण साथमा लिएर उनी १४ वर्षका लागि वनबास जान्छन् । कन्दमूल फलाहार गरी पञ्चवटी वन (हाल भारतको मध्य प्रदेशस्थित चित्रकुट वन क्षेत्र)मा बस्छन् । एक दिन घुम्दै रावणकी बहिनी शूर्पणखा त्यहीँ पुग्दछे । उसले राम र लक्ष्मणलाई मन पराउँछे । बिहेको प्रस्ताव राख्छे । राम र लक्ष्मण दुवैले एकअर्कोलाई देखाउँछन् । उनीहरुको दोधारे चरित्रबाट आजित बनेकी ऊ उग्र बन्छे । लक्ष्मण रिसाउँछन् र शूर्पणखालाई अपमानित गर्दछन् । यस घटनाबाट रिसाएकी शूर्पणखाले रावणलाई उक्साउँछे । रावण बहिनीको आग्रहमा प्रभावित हुन्छ र सीतालाई अपहरण गर्दछ ।
नाटकीय ढंगमा सीता अपहरणमा परेपछि उनको खोजी गर्दै ऋष्यमुक पर्वतमा आइपुगेका राम र लक्ष्मणको सुग्रीवसँग भेट हुन्छ । दुवैका बीचमा सशर्त मितेरी सम्बन्ध गाँसिन्छ । फलतः रामले बालीको हत्या गरी मित्र सुग्रीवलाई राजा तुल्याउँछन् । सुग्रीवले पनि रामलाई सहयोग गर्दछन् । हनुमानको अतुलनीय सहयोगमा सीताको रहस्य पत्ता लाग्दछ र उनैबाट रावणको नगरी लंकाको दहन हुन्छ । आसुरी शक्तिका रुपमा रहेका मेघनाद, कुम्भकर्ण, खरदूषण, अहिरावण आदि सहित रावणको वध गरी देवता र मानवलाई न्याय प्रदान गर्दछन् । लक्ष्मणले लंकाको राजा हुन प्रस्ताव राख्ता राम स्वर्णमय लंकाभन्दा आपूmलाई जननी र जन्मभूमि समान रुपमा प्यारो लाग्ने दृढता प्रकट गर्दै विभीषणलाई लंकाको राजा बनाई सपरिवार अयोध्या प्रस्थान गर्दछन् । यसपछि राम अयोध्याका राजा बन्दछन् । सीताको अपहरणको विषयलाई लिएर रामको आलोचना हुन्छ । यस आलोचनाबाट बच्न उनले सीतालाई परित्याग गर्दछन् । तर, पुनर्विवाह गर्दैनन् । सीताको अभावमा राजसी विलासिता त्याग गर्दछन् । योगीझैँ आचरण गर्दछन् । अश्वमेध यज्ञ गर्दा पत्नी अनिवार्य रुपमा हुनैपर्ने भए पनि सीताको मूर्ति बनाएर यज्ञ सम्पादन गर्दछन् ।
रामको जीवन चरित्रबाट हामीले जीवन र जगत्बारे ज्ञान र आदर्श सूत्रहरु फेला पार्दछौँ । आदर्श पुत्र, आदर्श भ्राता, आदर्श पति, आदर्श पिता, आदर्श सखा र आदर्श राजाको उपमा बनी उनले आदर्शको नमुना प्रस्तुत गरेका छन् । उनले माता र मातृभूमिप्रति अपार ममतामात्र प्रकट गरेका छैनन्, यिनको स्थान स्वर्ग र वैकुण्ठ लोकभन्दा पनि उच्च रहेको हुन्छ भन्ने भाव व्यक्त गरेर यिनको महिमालाई बढाएका पनि छन् । रामले स्थापना गरेको रामराज्य आज पनि विश्वभरि नै सुन्दर उपमा बनेर रहेको छ । व्यक्तिगत सुख र सन्तुष्टिलाई पर पन्छाएर देश र जनताको कल्याणका निम्ति कार्य गर्नमा तत्पर रहने उनी आदर्श मानवका परिचायक बन्न पुगेका छन् । उनले प्राण जाओस् तर बचन नजाओस् भन्ने सत्यवादी विचारलाई अन्त्यसम्म नै लागू गरेर देश र जनताका निम्ति राजनीति सत्य र छलप्रपञ्चबिना पनि गर्न सकिन्छ भन्ने आदर्श स्थापित गरेका छन् ।
उनले लक्ष्मण र भरतप्रति व्यक्त गरेको भ्रातृप्रेम तथा सीता रावणबाट अपहरण भएपछि देखाएकोे पत्नीप्रेम एउटा उच्चादर्श बनेर रहेको छ । हनुमानप्रति राखेको असीम सदाशयता तथा करूणा एवम् सबै जनतालाई प्रदान गरेको मोक्ष पनि उत्तिकै अनुकरणीय रहेको छ । उनले जटायुजस्ता प्राणीप्रति देखाएको प्रेम तथा शबरीजस्ती गरिब असहायप्रति देखाएको सम्मानभावले गर्दा देवता तथा मानव सदैव उनीप्रति सबै सकारात्मक तथा पूर्ण श्रद्धाको भाव राख्दछन् ।
हो, उनले जनताको आलोचना सुनेर सीतालाई परित्याग गरे र यो नारीवादी दृष्टिबाट न्याय ठहर्दैन पनि । तर, एक उच्च आदर्श राख्ने राजाका निम्ति अर्को विकल्प देखा पर्दैन । उत्तर रामायणअनुसार सीतालाई परित्याग गरेपछि सारा गुरू, माता, भाइ, बन्धुबान्धव र जनताले आग्रह गरे पनि पुनर्विवाह गर्दैनन्, बरू उनकै नाम जपेर सामान्य वस्त्र, एक छाक भोजन र कुशको शैयामा सुत्छन् । अश्वमेध यज्ञमा पनि उनकै प्रतिमा बनाएर यज्ञ सम्पन्न गर्दछन् । लव र कुश छोरा हुन् भन्ने चिनेपछि तिनलाई उच्च सम्मान दिनुका साथै सीतालाई फर्कन आग्रह गर्दछन् । सीताले उनको आग्रहलाई अस्वीकार गरी धर्तीमा समाहित भएपछि चिन्ता, शोक र व्याकुलताको चरमोत्कर्षमा पुग्दछन् । यसरी उनले पत्नीप्रति उच्च प्रेम र सम्मानभाव नै प्रस्तुत गरेको पाउन सकिन्छ । अर्को कुरा, कुनै घटना र सन्दर्भको अर्थ आजको मूल्य र मान्यताका कसीमा उभिएर खोज्नु न्यायसंगत पनि ठहर्दैन ।
जे होस्, उनले मानवको रुपमा जन्मेर आसुरी शक्ति र चिन्तनलाई अन्त्य गरी सत् तथा मानवतावादको स्थापना गरे । यसै खुशीयालीमा चैत्र मासको रामनवमी पर्व बडा धूमधामका साथ मनाउने चलन हिन्दू समाजमा रहीआएको हो । वस्तुतः उनले राखेको यो अनुकरणीय आदर्श मानव सभ्यताका निम्ति सदा पथप्रदर्शक बनिरहेको छ र बनिरहने छ ।
Discussion about this post