एच. के. श्रेष्ठ
नेपालका कम्युनिस्ट दलमा विश्व कम्युनिस्ट आन्दोलनका टुटफूट र असफलताको रोग संक्रमित छ । न त कम्युनिस्ट राज्य, न त कम्युनिस्ट पार्टीहरु नै संसारका कुनै पनि मुलुकमा कम्युनिस्टका आधारभूत सिद्धान्तअनुसार जीवन्त पाइन्छन् । कम्युनिस्ट प्रभावित अन्तर्राष्ट्रलगायत नेपालमा पनि कम्युनिस्ट नामका बहुरुपी पार्टीहरु देखिनुले यस पुष्ट्याइँमा आधार थपेको छ ।
माक्र्सवादको उदय भएको झन्डै पौने दुई सय वर्ष पुग्न लाग्दा पनि सर्वव्यापी वैज्ञानिक नियमले आलोकित भनिने कम्युनिस्ट शासन र पार्टीहरु खपाउ र टिकाउ प्रायः केही देखिँदैनन् । संख्यात्मक होहल्लाबाहेक गुणात्मक स्थायित्वको खडेरी छ । कम्युनिस्टमा अठारौँ शताब्दीको तीव्रतामा रहेको सहरीकरण र औद्योगिकीकरणसँगै पुँजीपति वर्ग, न्यून र सर्वहारा वर्गको अत्यधिक जन्मपश्चात् सशक्त रुपमा देखा परेको कम्युनिस्ट पार्टीहरुले खासै फड्को मार्न नसक्नु, गुजुल्टिनु, पलायन र असफल हुनुका कारणहरु के–के छन् भन्ने खोजीको विषय भएको छ । मुलभूत रुपमा देहायका कारणहरुलाई जिम्मेवार मान्न सकिन्छ ः
क) माक्र्सवादी दर्शनमा विद्यमान त्रुटिहरुको खोजी नगरी यसलाई “सर्वव्यापी वैज्ञानिक नियम” मानिन्छ । त्यस नियमअनुसार चल्ने र चलाइने भनेर बलपूर्वक वा विभिन्न ढंगले स्थापित राज्यहरु, दलहरु र समूहहरु असफल भएर पनि त्यसलाई सर्वव्यापी वैज्ञानिक नियममा आधारितै छ भनेर नै मानिरहनु र त्यसको छानबिन, समीक्षा, मूल्यांकन र रुपान्तरण गर्न पटक्कै नचाहनु वा नमान्नु ।
ख) अर्काेतिर, असफल भएर पछाडि हटेर पनि वा त्यसका आधारभूत कुराहरुलाई छाडिसकेर पनि त्यसको मनोग्राम वा साइनबोर्डलाई भने झुन्ड्याई रहने गर्नु र पुँजीवाद एवं कर्पाेरेट विश्व व्यवस्थाका आधारभूत नियमअनुसार राज्यले पार्टीलाई सञ्चालन गरिरहनु ।
ग) अर्काे कारण, माक्र्सवाद अभ्युदय हुँदाखेरिको समय र परिस्थिति अर्थात् त्यस बेलाको विज्ञान प्रविधि, श्रम विभाजन, मानवीय ज्ञान र समझको स्तर एवं सामाजिक सम्बन्धको स्थिति र आजको समय र परिस्थिति, विज्ञान प्रविधि, श्रम विभाजन एवं सामाजिक सम्बन्धहरुको स्थितिमाझको फरकलाई केलाएर अपडेट हुन नचाहनु र सधैँ पुरानै “सर्वव्यापी वैज्ञानिक नियम” भनिएकै आधारमा आजको समय र परिस्थितिको सन्दर्भमा पनि अटल भएर राज्य, दल र समूहहरुलाई प्रशिक्षित, परिचालित र व्यवस्थापन गर्न राजी हुने परम्पराले गर्दा पनि उपरोक्त प्रकारको गुट, फूटग्रस्तता र असफलताको शिकार हुनु परेको छ । ‘निश्चयवाद’ अर्थात् एकपटकको स्थिति र समयमा एउटा समूह विशेषले निश्चय गरेको सिद्धान्त र मान्यतालाई सबै काल र परिस्थितिमा सर्वव्यापी वैज्ञानिक नियम भनेर पालना गर्न र गराउन मरिहत्ते गर्नु ।
घ) चौँथो कुरा, कम्युनिस्टहरुले गल्ती र उपलब्धिहरुलाई व्यक्तिको थाप्लोमा हालेर त्यसको खोजी गर्ने, जस दिने वा आलोचना र प्रहार गर्ने गर्दै आए । यसले गर्दा खास समयको सिस्टममा स्थापित नियमहरु रहिरहे र व्यक्तिहरु कसैलाई देवतासरह बनाउने गरियो भने कसैलाई राक्षस, संशोधनवादी आदि आदि आरोप लगाएर आपसमै फुट्ने, चिरा पर्ने, कमजोर हुने र असफल हुने काम हुँदै गयो । त्यसरी नै कुनैकुनै व्यक्तिलाई राजा पुजेजस्तै व्यक्तिको अत्यधिक प्रशंसा गर्दै व्यक्तिपूजाको चाकरी र प्रंशसाको आधारमा चरम व्यक्तिवादी डफ्फाहरु उभ्याउने र जनताको चेतनाको स्तरलाई यथार्थताको पक्षमा होइन कि व्यक्तिको कृत्रिम बिम्ब तयार गरी त्यसकै अन्धभक्त हुने परिस्थिति तयार गरियो ।
ङ) पाँचौँ कुरा, गलत र सहीमाझ रेखांकन गर्ने जीवन्त विधि तय गर्न नसक्नु, नजान्नु वा गलत विधि अख्तियार गर्नु पनि एउटा ठूलो कारण हो, जसले गर्दा विश्व कम्युनिस्ट आन्दोलन एवम् नेपालको कम्युनिस्ट आन्दोलन तहसनहस हुँदै विश्व कर्पाेरेट व्यवस्थाकै अंशियारका रुपमा फ्युजन हुँदै गरेको देखिन्छ । किनभने, सबै प्रकारका गुट, गठबन्धन र समूहहरुलाई विश्व कर्पोरेट व्यवस्थाले आफ्नो नाफा र बजारको नियमानुसार कहाँ, कसलाई, कसरी प्रयोग गर्ने र फाइदा उठाउने फर्मुलाअनुसार उचाल्ने, पछार्ने, मच्चाउने, थच्चाउने गर्दै आएको छ ।
च) कम्युनिस्ट परम्परामा सामाजिक विज्ञानको ज्ञान नहुनु हो, किनभने माक्र्सवाद आफैँमा एउटा मोडल या परिकल्पनामा आधारित थियो जसलाई परीक्षण गर्न र व्यवहारमा जाँच्न सकिन्छ, अर्थात् एकथरी सामाजिक इकाइको विचार थियो, तर यो कुनै प्रयोगपछि पुष्टि गरिएको विज्ञान थिएन । तर, पनि यसलाई “वैज्ञानिक साम्यवाद” भन्ने गरियो र साथसाथै यसका मूलभूत आधारहरुलाई “सर्वव्यापी वैज्ञानिक नियम” भनेर ठोकुवा गर्दै बलपूर्वक लाद्ने गरियो र यहाँसम्म कि बल प्रयोग र हिंसापूर्वक राज्यसत्ता प्राप्त गर्ने विषयलाई नै वैज्ञानिक कार्यशैलीका रुपमा मान्यता दिइयो । त्यही गर्ने प्रकृयामा नै राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने एकपक्षीय सूत्र बनाएर जाने काम भयो । फलतः उपलब्धिहरु भने बालुवाका महलजस्तै भएर संसारभरका सर्वहाराहरु एकै ठाउँमा आउन कहिल्यै सकेनन् । आज १६५ वर्षपछि पनि संसारका सर्वहाराहरु सयौँ विचार शाखामा विभाजित छन् र बाँकी टुकडीहरु पनि विभाजन र फूटकै दिशामा दौडिरहेका देखिन्छन् ।
छ) माक्र्सवादको राज्य र क्रान्तिसम्बन्धी ऐतिहासिक धारणामा माक्र्सवादले राज्ययन्त्रलाई वर्गको उत्पत्तिसँगै उत्पत्ति भएको, अर्थ व्यवस्थामा हाबी भएको सामाजिक दमन यन्त्रका रुपमा परिभाषित ग¥यो र त्यस यन्त्रलाई चकनाचुर पारेर सामाजिक क्रान्ति सम्पन्न गर्दै राज्यसत्ता हात पार्ने कुरालाई केन्द्रीय कार्य बनाउँदै आयो । राजनीतिक कार्यदिशा तयार ग¥यो तर इतिहास विकासक्रमलाई बिनापूर्वाग्रह सहज ढंगले हेर्दा राज्यको जन्म सामाजिक मामलाहरुलाई व्यवस्थित गर्नका लागि सामाजिक सत्ताको जन्म भएको थियो र सम्बन्धित सामाजिक व्यवस्था र श्रम विभाजनलाई संगठित गर्न एवं अनुशासनमा राख्न यसको जन्म वर्गहरुको उदयभन्दा पहिले नै भएको थियो । यसले हर ऐतिहासिक चरणमा आफ्नो समझ र ज्ञानको विशिष्ट स्तरको विकासको चरणअनुसार आम रुपले सामाजिक हित गर्ने प्रयत्न गर्देै आयो भने खास रुपले शासक गु्रपको हितलाई प्रतिनिधित्व गर्दै आएको थियो । तर, माक्र्सवादी ऐतिहासिक भौतिकवादले आफ्नो वर्ग, राज्य र क्रान्तिसम्बन्धी मान्यताहरुलाई बुझ्ने र परिभाषित गर्नेक्रममै एकांगी बन्यो ।
ज) माक्र्सवादको पुँजीसम्बन्धी धारणा र अतिरिक्त मूल्यको सिद्धान्त पुनर्विचारणीय छ । किनभने, उत्पादनका क्रममा अतिरिक्त मूल्य (पुँजी या धन) श्रमका साथसाथै प्राविधिक कारणले पैदा हुन्छ, मानवीय शारीरिक श्रम नै यसको एकमात्र मूल कारक त¤व हुन
सक्दैन । यो कुरा त वाष्प मेसिनरी औद्योगिक ऐतिहासिक चरणको कुरामात्र पनि हुन सक्दैन । तर, आज उच्च प्रविधिको प्रयोगले शारीरिक श्रमलाई पछाडि धकेलिदिएको छ र आधुनिक प्रविधिले हजारै गुणा बढी उत्पादन गर्न र पुँजी जम्मा गर्न सक्ने भएको छ । किनकि, आजको उत्पादन प्रकृयाले मूलतः वाष्पचालित यान्त्रिक मेसिनरी र शारीरिक श्रमको प्रधानताको स्थितिबाट छलाङ मारेर आंशिक एटोमेसनयुक्त उत्पादन प्रकृयामा प्रवेश गरिसकेको छ र जसमा काम गर्ने वर्गहरुको स्वरुप तथा विशेषतामा समेत परिवर्तन भएको छ । आजका अपरेटर, इन्जिनियर, वैज्ञानिक र विविध क्षेत्रका विशेषज्ञहरुले हिजोका शारीरिक श्रम गर्ने थुप्रैथुप्रै सर्वहारा तथा मजदुरहरुको स्थान लिन पुगेका छन् । माक्र्सवादद्वारा परिभाषित सर्वहाराको नै पुँजी उत्पादनमा आजको स्थान न्यून छ ।
झ) अर्काे कुरा, पुँजीसम्बन्धी धारणामा माक्र्सवादीहरु एकतर्फी रहेका छन् । उनीहरुले पुँजीपतिहरुसँग जस्तै राज्यसँग वा सर्वहारा वर्गसँग एवं पार्टी नेताहरुसँग धेरै मुद्रा, धन, पैसा वा उत्पादित वस्तु र साधन हुनु नै विकास हो भन्ने मान्यता बनाउने त्रुटिपूर्ण सोच राख्छन् । किनभने, जीवनको र सामाजिक विकासका लागि मानिससँग पर्याप्त प्राकृतिक सम्पदा अर्थात् शुद्ध जल, आवास, उर्वर माटो, जलवायु, वनसम्पदा, हानिरहित प्राविधिक सम्पदाका साथै सामाजिक न्यायको क्षमता, सन्तुलित व्यवस्थापन क्षमता, मानवीय सम्पदा अर्थात् उत्कृष्ट शारीरिक र मानसिक क्षमता, बौद्धिकता, विवेकशीलता एवं प्रतीक र समाजको स्याहार, संरक्षण र समृद्ध गर्ने ज्ञान नै मानिसको सबैभन्दा ठूलो पुँजी हो । यसबाट मात्रै उसको जैविक अस्तित्वको रक्षा र निरन्तर विकास र शान्ति सम्भव हुन्छ । अतः मानव र वातावरणको विनाश, थिचोमिचो, बल प्रयोग, छलकपट र भय पैदा गरेर जम्मा गरेको मुद्रा वा पैसाको थुप्रोलाई नै असली पुँजी भनेर परिभाषित गर्नु जीवनसंगत हुँदैन । किनभने धन, पैसा वा मुद्राले सट्टीपट्टी वा विनिमयको कार्यलाई सहज र सरलमात्र बनाउन सक्दछ । तर मुद्रा, नोट वा पैसा चपाएर कसैले पनि प्यास र भोक मेट्न सक्दैन र नोटका बिछ्यौना बिछ्याएर निद्रा पूरा गर्न पनि सक्दैन । अर्थात् जीवनका सबै मूल्यहरु, खुशीहरु, न्यायहरु, सन्तुष्टिहरु, खोजहरु, सृजनाहरु, निर्भयतापूर्ण स्थितिहरु, सौन्दर्यहरु एवं सबै जैविक आपूर्तिहरु मुद्रा वा पैसाले पूरा गर्न सक्दैन । बरू, त्यसरी थुपार्ने गरेको पैसा र नाफाले आज जलवायु परिवर्तन गरी जैविक र सामाजिक संकट जन्माएको छ । अतः मानवजातिको सबैभन्दा मूल्यवान पुँजी भनेकै प्राकृतिक र मानवीय सम्पदा हुन्छ र मुद्रारुपी पुँजी नै सर्वाेच्च ठान्नु र परिभाषित गर्नु तर्कसंगत हुँदैन । पुँजीपतिले त स्वचालित मेसिनहरुबाट पनि धेरै पेैसा जम्मा गर्न सक्दछ, जहाँ मजदुरको श्रम नगन्य हून्छ ।
ञ) माक्र्सवाद–लेनिनवादको अन्तरविरोध, टक्कर, युद्ध र परिवर्तनलाई प्रधानता दिने यस दर्शनले अन्तरएकता, मिलन र रुपान्तरणको प्रकृयालाई कहिल्यै मह¤व दिएन । सामाजिक परिवर्तनका लागि युद्ध, ताकतको प्रयोग, बल प्रयोगलाई निर्णायक ठान्ने यो धारणाले आजको विश्वमा लडिने युद्धहरुमा सन् १९४५ को परमाणु युद्धमात्र होइन, दर्जनौँ पृथ्वी धूलो पार्न सक्ने र पृथ्वीमा जीवहरुको अस्तित्व समाप्त पार्न सक्ने परमाणु बमहरुको थुप्रो परमाणु शक्तिराष्ट्रहरुसँग थुपारिएको कुरा बुझ्न सक्नुपर्दछ । जीवनका सबै पक्षहरुको बर्बादी, विनाश र सत्यानास गर्न र जीवनको अस्तित्व समाप्त गर्न किन लडाइँ गर्ने ? यसबाट त जीवनकै हार हुन्छ ।
Discussion about this post