घरेलु कामदारका रुपमा विभिन्न समयमा कुवेत पुगेका नेपाली महिलाले मानसिक, शारीरिक यातना तथा यौन दुव्र्यवहारजस्ता समस्या भोग्नु परेका खबरहरु सञ्चारमाध्यममा दिनहुँजसो आइरहेका छन् । कुवेतमा राम्रो कमाइ हुने प्रलोभन देखाएर दलालहरु मानव बेचबिखनमा सक्रिय भइरहेका छन् । गरिबीले गाँजेको नेपाली समाजमा रोजगारका लागि हजारौँ नेपाली महिला कुवेतमा काम गरिरहेका छन् । घरेलु कामदारका रुपमा कुवेत गएका महिला साउदीमा बेचिएका र कुवेतमा पनि वर्षौंदेखि निकृष्ट किसिमका काम गर्न बाध्य भइरहेका
छन् । सरकारले गत वैशाखदेखि घरेलु क्षेत्रमा कामदार पठाउन रोक लगाए पनि एजेन्सीमार्फत भारतको दिल्ली हुँदै कुवेत पठाउने क्रम चलिरहेको छ । कुवेतमा चरम शोषण बढेपछि इन्डोनेसिया, इथियोपिया र बंगलादेशजस्ता मुलुकले घरेलु कामदार पठाउन बन्द गरिसकेका छन् । घरेलु महिला कामदारलाई कुनै पनि कानुनले सम्बोधन गर्न नसक्ने र कुवेतकै ‘काफिला व्यवस्था’अन्तर्गत रहनु पर्ने कारण उनीहरुको हित सुरक्षित हुन सकिरहेको छैन । जबसम्म नेपाल र कुवेतबीच श्रम सम्झौता हुँदैन, तबसम्म राज्यले सुरक्षा गर्न सक्दैन । राज्यले कुवेतमा काम गर्ने नेपालीको अवस्थाबारे गम्भीरतापूर्वक चासो नदेखाउँदा घरेलु महिलाले नारकीय जीवन बिताउन बाध्य भएका छन् ।
सरकारले व्यवसायका नाममा भइरहेको बढ्दो मानव तस्करीबारे बेलैमा सतर्क नहुँदा हजारौँ नेपाली महिला हरेक दिन मरीमरी बाँचिरहेका छन् । कुवेतको अध्यागमन निकायका अनुसार घरेलु कामदारको आपूर्ति गर्न करिब सात सय एजेन्सी दर्ता छन् । तीमध्ये दुई सयको हाराहारीमा कुवेतस्थित नेपाली दूतावासमा सूचीकृत छन् । ती एजेन्सीले गाउँगाउँबाट घरेलु कामदार महिला खोजेर कुवेतीको घरघरमा पु¥याउने काम गर्दछन् । नेपाली कामदार कुवेत पठाउने काम नेपाली दलालले नै गर्दै आएका छन् । ती दलालहरु सरकारले लाइसेन्स दिएको एजेन्सीबाटै सञ्चालित छन् । एक कुवेतीको घरमा घरेलु कामदारका रुपमा बेचिएका नेपाली पटकपटक बेचिन्छन् । एजेन्सीले रोजगारदाता र कामदारबीच सम्झौतामा हस्ताक्षर गराएपछि कुवेती सरकारको प्रणालीअनुसार त्यो बलियो करारपत्र बन्छ । जसको बलमा टेकेर कुवेतीले जतिसुकै मानसिक, शारीरिक यातना तथा यौन दुव्र्यवहार गरे पनि नेपाली कामदारलाई उद्धार गर्न समस्या हुने गरेको छ । कुवेतले स्पोन्सरलाई विशेषाधिकार दिएका कारण उसको अनुमतिबिना दूतावासले चाहेर पनि कामदारको उद्धार गर्न सकिरहेको छैन ।
कुवेतमा करिब ६१ हजार नेपाली कामदार रहेको कुवेती निकायको तथ्यांक छ, जसमध्ये २७ हजार पाँच सय घरेलु कामदार छन् । त्यसमध्ये २४ हजार महिलामात्रै
छन् । तर, वैदेशिक रोजगार विभागसँग यकिन तथ्यांक छैन । पीडित महिला कुवेतीको पञ्जाबाट फुत्किएर दूतावास नआएसम्म उनीहरुको समस्या बाहिर आउन सकेको
छैन । कामदारको सुरक्षा विषयमा राज्यले कुवेत सरकारसँग बलियो सम्झौता गर्न नसक्दा यो समस्याले विकराल रुप लिने संकेत देखिएको छ । कुवेतमा घरेलु कामदार महिलाका लागि असुरक्षित रहेको जानकारी हुँदाहुँदै पनि दलालको दुष्चक्रमा परेर नेपालीहरु विभिन्न मुलुकबाट रोजगारीमा गइरहेका छन् । सधैँ दुःख र यातना पाएका, वेदनाले भरिएका र सपनाहरु भत्किएका पीडादायी सन्देश खबरका रुपमा आइरहेका छन् । वर्षौंदेखि कुवेतीको घरमा काम गरेर तलब नपाएका, अलपत्र अवस्थामा परेर घर फर्किन नसकेका नेपालीको हृदयविदारक व्यथा सुन्दा जोकोहीको आँखा रसाउँछ । दूतावासले घरबाट भागेर आएका केही नेपालीको उद्धार गर्दै आइरहे पनि नेपाली कामदारको समस्यामा कमी आएको छैन । सरकारले कुवेतसँग श्रम सम्झौता गरी आफ्ना नागरिकप्रति सुरक्षाको जिम्मेवारी लिनु आवश्यक देखिएको छ ।
Discussion about this post