नेपालको राजनीतिमा गणेशमान सिंहजस्ता राजनेताको सधैँ खडेरी पर्ने गरेको छ । नेपाली जनता र प्रजातन्त्रका लागि गणेशमानले गरेको त्याग, निष्ठा र समर्पणबारे जति चर्चा गरे पनि त्यो अधुरो हुनसक्छ । उनलाई सर्वमान्य नेता, लौहपुरूष र फादर अफ डेमोक्रेसीजस्ता उपाधिबाट त्यसै सम्मान गरिएको होइन । नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डरका रुपमा उनको नाम स्वर्णिम अक्षरमा अंकित छ । राणाविरोधी आन्दोलनमा सक्रिय रहेका सिंहले ०४६ सालको जनआन्दोलन सफल भएपश्चात् प्रस्तावित प्रधानमन्त्री पदसमेत त्याग गरेका थिए । २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानले कांग्रेसलाई छहारीमात्र प्रदान गरेनन्, राणाशासनदेखि निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्रको पुनर्बहाली गरेर उनले मुलुककै लागि ठूलो गुन लगाएका छन् ।
साहसिक, निडर र इमानका प्रतिमूर्ति उनलाई तत्कालीन पञ्चले बीपीसँगै मृत्युदण्डको माग गरेका थिए । तर, उनको ओजस्वी व्यक्तित्वले सधैँ शासकहरु पराजित बनिरहे । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरू गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेताको छवि बनाएरै मृत्युवरण गरे । राणाविरोधी आन्दोलनमा पक्राउ परेर जेलमा रहेका गणेशमानले विसं २००१ साल असार ७ गते भद्रगोल जेलको पर्खाल नाघेर भागेका थिए । काठमाडौँ, धादिङ, गोरखा हुँदै उनी रुपन्देहीबाट भारत छिरेका थिए । सो मार्गमा यसअघि कांग्रेसले पदयात्रा सञ्चालन गरिसकेको छ । मुलुकमा राजनीतिक संक्रमण बढिरहेका बेला गणेशमानको योगदानको स्मरण गर्दै गाउँगाउँमा लोकतान्त्रिक जागरण गर्नु मह¤वपूर्ण कार्य हो ।
तत्कालीन राणा सरकारले गणेशमानलाई सर्वस्वहरणसहित आजीवन कारावासको दण्ड दिएको थियो । उनीसँगै जेल परेका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई राणाशासकले उसैबेला मृत्युदण्ड दिएको थियो । जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिनसम्म कैद गर्न भने सकेन । जेलबाट भागेपछि उनी राणाविरोधी अभियान चलाउँदै जाँदा कोलकातामा बीपी कोइरालासँग भेट भएको
थियो । विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते (सन् १९४७ जनवरी २५ मा) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए, जुन पार्टी सुवर्णशमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अप्रिल)मा नेपाली कांग्रेस बन्यो । क्रान्तिको तयारीका लागि भूमिगत रुपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा उनी पक्राउ परेका थिए । उनलाई वीरगन्ज हुँदै भीमफेदीबाट काठमाडौँ लगिएको थियो । सोही ऐतिहासिक मार्गमा कांग्रेसले गणेशमान सिंहको शान्तियात्रा सुरू गरेर स्मरणयोग्य काम गरेको छ । कांग्रेस स्वयम् पनि गणेशमान मार्गमा हिँड्नु जरूरी देखिएको छ ।
Discussion about this post